विराटनगर : भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको बाथरुममा प्रयोग हुने सामान सशस्त्र प्रहरीले बुधबार बिहान विराटनगरबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले ५ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने सामान बरामद गरेको हो। बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । उनका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा सामान बरामद गरिएको हो । बरामद गरिएको सामान कसको र कसले तस्करी गरेर ल्याएको हो भन्ने खुल्न बाँकी रहेको पौडेलले बताए ।
‘रातभर तस्करी गरेर ल्याएको सामान सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर गन्तव्यसम्म पुर्याउन नसकेपछि एक ठाउँमा थोपरेर राखिएको हुनसक्छ,’ उनले भने, ‘तस्करीमा संलग्नहरुको पनि पहिचान खुल्न सकिरहेको छैन ।’
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले तस्करी एवं अवैध धन्दा नियन्त्रणमा लिनका लागि नेपाल–भारत सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेका छन् । निगरानी बढाएर कडाइ गर्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधी रोक्न निर्देशन दिएर गिरीले टोली खटाएका हुन् ।


