Sunday, November 8, 2026
Homeसामाचारअविरल वर्षाले निर्माणाधीन सडक भासियो,तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन

अविरल वर्षाले निर्माणाधीन सडक भासियो,तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन

दमौली (तनहुँ), १ असोज – आइतबारदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने मोटरमार्ग भासिएको छ। हेल्थपोष्ट नजिक निर्माणाधीन उक्त सडक भासिएको हो।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडक भासिएपछि नगरपालिकाले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिएको छ। बानियाँ निर्माण सेवाले जिम्मा लिएको उक्त काममा गुणस्तर कायम राख्न कम्पनीका प्रतिनिधि श्यामानन्द गुप्तालगायतलाई विशेष निर्देशन दिइएको उनले बताए।

उक्त सडक खण्डमा हालसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ। सडक स्तरोन्नति २०८० साल चैत २५ गतेदेखि सुरु भएको हो। नेपाल सरकारको अनुदान र विश्व बैंकको सहयोगमा सञ्चालित सहरी शासन तथा पूर्वाधार परियोजना (NUJIP) अन्तर्गत ७.१ किलोमिटर दूरी कालोपत्र गर्न बानियाँ निर्माण सेवासँग २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो।

नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार दुलेगौडाबाट सुरु हुने कालोपत्रले वडा नम्बर ८, ९ र १२ लाई जोड्नेछ। अस्फाल्ट प्रविधिबाट हुने कालोपत्रमा १० मिटर चौडाइ रहनेछ। जसमा ५.५ मिटर सडक, दुवैपट्टि १–१ मिटर नाला र थप संरचना निर्माण हुनेछ। दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुलचोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ।

दुलेगौडा–लामागाउँ मोटरमार्ग १४ किलोमिटर लामो छ। सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्य भएर स्थानीय बासिन्दालाई आवतजावतमा सास्ती हुँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका