Sunday, November 8, 2026
Homeसामाचारअलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

काठमाडौँ, २२ असोज — पशुपति क्षेत्रस्थित गौरीघाट र गुह्येश्वरी मन्दिर जोड्ने पुल करिब एक वर्षपछि पुनःनिर्माण सम्पन्न भएको छ। आधुनिक सामग्री प्रयोग गरी पुल बनाउन खोजिएको कारण पुरातत्व विभागले काम रोकिदिएपछि पुल अलपत्र परेको थियो। राष्ट्रिय समाचार समिति (रासस)मा यस सम्बन्धी समाचार प्रकाशित भएपछि पुल पुनःनिर्माणको कार्य पुनःसुरु भएको हो।

राससले गत साउन दोस्रो साता पुल निर्माण रोकिँदा भक्तजनलाई परेको समस्या सम्बन्धी समाचार तस्बिरसहित प्रकाशित गरेको थियो। त्यसपछि काठमाडौँ महानगरपालिकाले पुरानै स्वरूप र सामग्री प्रयोग गरी पुल बनाउन सहमति जनाएको थियो।

महानगरपालिकाले ठेक्का सम्झौताअनुसार पुल पुनःनिर्माण सुरु गरे पनि विश्व सम्पदा क्षेत्रमा लागू मापदण्डविपरीत आधुनिक सामग्री प्रयोग गर्न खोजिएपछि पुरातत्व विभागले निर्माण कार्य रोकेको थियो। विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार पुरानै डिजाइन र सामग्री प्रयोग गर्ने सहमति भएपछि पुनःनिर्माणलाई अनुमति दिइएको हो।

काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष तथा सम्पदा–पर्यटन समितिका संयोजक आशामान सँगतका अनुसार पुल निर्माणमा विभागको निर्देशनअनुसारकै सामग्री प्रयोग गरिएको छ।

पुल बन्द हुँदा पशुपति क्षेत्र आउने भक्तजनलाई ठूलो असुविधा भएको थियो। मोटरसाइकल, ट्याक्सी र साना सवारी साधन आवतजावत गर्न सक्दैनथे, जसले गर्दा भक्तजनहरू गुह्येश्वरी मन्दिर पुग्न घुम्न बाध्य भएका थिए। पैदल यात्रुहरू समेत पुल नहुँदा असहज अवस्थामा परेका थिए।

गुह्येश्वरीमा धार्मिक अभियान सञ्चालन गर्दै आउनुभएका धर्मराज बरालका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रभित्र पुल नहुँदा पर्यटकहरू समेत प्रभावित भएका थिए। स्थानीयहरूले भने पुरानो पुल भत्काउँदा निकालिएका ऐतिहासिक इँटाको उचित संरक्षण नभई चोरी भएको आरोप लगाएका छन्।

स्थानीय र गौरी आध्यात्मिक मासिक पत्रिकाका सम्पादक अर्जुन लामिछानेका अनुसार प्रारम्भिक निर्माणका बेला श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेरका नाम लेखिएका इँटा भेटिएका थिए, तर ती हाल हराएका छन्। उहाँले ती ऐतिहासिक इँटा कहाँ हराए भन्नेबारे सरोकारवाला निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका