Sunday, April 12, 2026
Homeसामाचारअर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छः राष्ट्रपति पौडेल

अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छः राष्ट्रपति पौडेल

भक्तपुर: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली अर्थतन्त्रमा सुधार ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति प्राप्त गर्ने आवश्यकतामा जोड दिएका छन्।

नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताको तीव्र विकास आकांक्षालाई पुरा गर्न साझा दायित्वको महत्वलाई रेखांकित गरे।

राष्ट्रपति पौडेलले भने, “पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रका आधारस्तम्भ हुन्। यी क्षेत्रका समस्याहरू समाधान गर्दै उपयुक्त नीति, कानूनी व्यवस्था र अवसर सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगार सृजन, लगानीयोग्य वातावरण निर्माण, उत्पादन लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन र औद्योगिकरणलाई प्रोत्साहन गर्नु अत्यन्त आवश्यक छ। न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति प्राप्त गर्दै अर्थतन्त्रमा सुधार ल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसाथ तीव्र विकासको आकांक्षा पुरा गर्न सबैले मिलेर काम गर्नुपर्छ।”

सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरलाई आर्थिक विकासमा परिणत गर्न पूर्वाधार र कौशल वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले नेपाल र विश्वका पर्यटन बजारमा यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य र संस्कृति प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई समृद्धि र आयआर्जनको आधार बनाउन सकिने ठूलो सम्भावना रहेको बताए।

उनले भने, “पर्यटकीय उपजको व्यवसायीकरण गरी यसको लाभको समान्य वितरण सुनिश्चित गर्न आवश्यक छ। पर्यटकीय वस्तुहरूको विकास, बजारीकरण र सहज पहुँचका लागि व्यवस्था गर्दै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पर्छ।”

राष्ट्रपति पौडेलले नगरकोटको प्राकृतिक सौन्दर्य, सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि यस क्षेत्रको महत्त्वको उच्च मूल्याङ्कन गरे। साथै, यस क्षेत्रका ऐतिहासिक र सांस्कृतिक स्थलहरूलाई जोडेर नगरकोटलाई पर्यटकीय गन्तव्यको रूपमा थप प्रवर्द्धन गर्न स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीहरू, संघ र प्रदेशका सरकारहरूको सहकार्य महत्वपूर्ण रहेको बताए।

राष्ट्रपति पौडेलले नगरकोटको निकटवर्ती विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर, महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार जस्ता स्थलहरूलाई पर्यटनको दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले नगरकोट क्षेत्रलाई बढी सुविधा सम्पन्न र आधुनिक बनाउन सडक स्तरोन्नतिका लागि ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गरे।

राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे कि नगरकोट भ्रमण वर्षले पर्यटन क्षेत्रलाई विकास गर्दै मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ।

नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति पौडेलले शान्ति, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सबैलाई प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा र पर्यटकीय महत्त्वको चर्चा गर्दै भ्रमण वर्षले धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी र चन्द्रागिरिसम्म पर्यटन क्षेत्रको विकास गर्ने बताए। महाभूकम्प र कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार आएको उल्लेख गर्दै उनले सरकारले आर्थिक वृद्धि र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल र सूर्यास्त, स्काई पर्यटन र जलपर्यटनको विकास गर्ने योजनाबारे जानकारी दिए। बागमती प्रदेशका पर्यटन मन्त्री विमल ठकुरीले भ्रमण वर्षलाई पर्यटनको विकासको लागि कोशेढुङ्गा सावित हुने बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटको भ्रमण वर्षले देशभरका आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे र नगरकोटलाई सरकारद्वारा पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने कुरा उठाए।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रूपमा आयोजित भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका