काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा केसीले ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू तथा संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन्। उक्त निर्वाचनमार्फत प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेस का नेता केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
ज्येष्ठ सदस्य केसीले भोलि चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।


