अर्घाखाँची, १३ असोज । अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी आज बिहान सन्धिखर्क–ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकमध्ये गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन् ।
घटनामा घाइते भएका २४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई अर्घाखाँची अस्पतालमा उपचार भइरहेको र एक जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।


