काठमाडौं। इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी हुन राजधानी तेहरानमा सर्वसाधारणको उल्लेखनीय भीड जुट्न थालेको छ।
बीबीसी फारसी सेवाका अनुसार, तेहरानस्थित मोसल्ला मस्जिदमा सहभागीको संख्या लगातार बढेपछि इरानी प्रशासनले कार्यक्रमस्थलका उत्तरी प्रवेशद्वारसमेत खुला गरेको छ।
इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना गरिने छ दिनसम्म चल्ने शोक तथा अन्त्येष्टि कार्यक्रममा १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुन सक्ने अनुमान गरेका छन्।
यसैबीच, इराकी सञ्चारमाध्यमहरूका अनुसार खामेनीको अन्त्येष्टिप्रति सम्मान व्यक्त गर्दै राजधानी बगदाद बुधबार बन्द रहने व्यवस्था गरिएको छ।
खामेनीको अन्त्येष्टि कार्यक्रम बिहीबार उनको गृहनगर मशहदमा सम्पन्न हुनेछ, जहाँ राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ।


