काठमाडौं । अमेरिका र इरानबीच हालै भएको १४ बुँदे युद्धविराम तथा समझदारी कार्यान्वयनको चरणमै विवादमा परेको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले अमेरिकाले सम्झौताका प्रारम्भिक प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अजिजीले सम्झौताको पहिलो सर्त कार्यान्वयनमा असफल हुनु अमेरिकासँग इरानी जनताको विश्वास जित्ने पर्याप्त इच्छाशक्ति नभएको संकेत भएको बताएका छन्। उनले वर्तमान अवस्था सुधार नभए अमेरिकाले यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्।
अजिजीले इरान आफ्नो अडानमा दृढ रहेको उल्लेख गर्दै सम्झौताका बाचा उल्लङ्घन भए त्यसको जवाफ ‘स्मार्ट’ र उपयुक्त ढङ्गले दिइने बताएका छन्। उनले कुनै पनि परिस्थितिको सामना गर्न इरान तयार रहेको दाबी गरेका छन्।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको चेतावनीप्रति कडा प्रतिक्रिया जनाएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिका कुनै दबाबमा परेर वार्तामा नआएको र इरान नै सम्झौताका लागि बाध्य भएको दाबी गरेका छन्।
उनले इरानलाई कुनै अतिरिक्त आर्थिक सहयोग नदिइने अडान दोहोर्याउँदै सम्झौताका आर्थिक पक्षबारे स्पष्ट सन्देश दिएका छन्।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित भएपछि दुवै देशबीच तय भएको प्रत्यक्ष वार्ताको अर्को चरण पनि अनिश्चित बनेको छ। ह्वाइट हाउसले उपराष्ट्रपति भान्स वार्ताका लागि स्विट्जरल्यान्ड नजाने जानकारी दिएको छ।
यसअघि भएको समझदारीअनुसार इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको थियो। बदलामा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ठूलो आर्थिक सहयोगको ढाँचा तयार गर्ने सहमति भएको बताइएको थियो। साथै, अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने कदम चालिसकेको छ।
तर आर्थिक प्रतिबद्धता र अन्य सर्तहरूको कार्यान्वयनलाई लिएर देखिएको मतभेदले दुई देशबीचको नयाँ समझदारी दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।


