Saturday, September 19, 2026
Homeखेलकुदस्कटल्यान्डलाई हराउँदै मोरक्को शीर्ष स्थानमा, अन्तिम १६ नजिक

स्कटल्यान्डलाई हराउँदै मोरक्को शीर्ष स्थानमा, अन्तिम १६ नजिक

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

अमेरिकाको बोस्टनमा शनिबार बिहान सम्पन्न खेलमा मोरक्कोले सुरुवातमै गरेको गोलको अग्रतालाई अन्तिमसम्म कायम राख्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

खेलको दोस्रो मिनेटमै ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। खेलको सुरुवाती चरणमै भएको यही गोल निर्णायक सावित भयो।

गोल खाएपछि स्कटल्यान्डले बराबरी फर्काउने प्रयास गर्दै केही राम्रो अवसर सिर्जना गरे पनि मोरक्कोको सुदृढ रक्षापंक्ति र गोलरक्षकलाई चुनौती दिन सकेन। दोस्रो हाफमा थप आक्रामक बने पनि स्कटल्यान्ड गोल गर्न असफल रह्यो।

यस जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेल्दै एक अंक बटुलेको थियो।

यता स्कटल्यान्डले दुई खेलबाट एक जित र एक हारसहित तीन अंक जोडेको छ। समूहमा एक खेल खेलेको ब्राजिल एक अंकसहित तेस्रो स्थानमा छ भने हाइटी अंकविहीन रहँदै पुछारमा छ।

अब ब्राजिल र हाइटीबीच हुने खेलको नतिजाले समूह ‘सी’ को अन्तिम १६ प्रवेशको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका