काठमाडौँ: नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाका विभिन्न सहरहरूमा साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रमको तयारी भएको छ।
‘फ्लाइ नेपा’को आयोजनामा प्रस्तुत गरिने यी कार्यक्रमहरूलाई ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’, र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा छुट्टाछुट्टै रूपमा सञ्चालन गरिनेछ। कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्था फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले भने, “हामीले मनोरञ्जनको सम्पूर्ण खुराक तयार गरेका छौँ। यसपटक हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेर कार्यक्रमलाई अझ भव्य बनाउने तयारी गरिरहेका छौँ।”
कार्यक्रम आगामी फेब्रुअरीदेखि अप्रिलसम्म अमेरिकाका विभिन्न सहरहरूमा आयोजना हुनेछ।
‘अब नाच्छ अमेरिका २’ मा गायक बद्री पङ्गेनी र प्रताप दास तथा गायिका कला लम्साल र एलिना चौहानको प्रस्तुति रहनेछ। ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलको काव्यिक प्रस्तुति हुनेछ भने ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, र सुजीता श्रेष्ठजस्ता कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।
गायक प्रताप दासले आफू लगायत अन्य कलाकारहरूले प्रस्तुति तयारीमा जुटिरहेको जानकारी दिँदै भने, “हामी दर्शकहरूको मनोरञ्जनका लागि अमेरिकाको परिवेश अनुसार प्रस्तुति दिनेछौँ। यो साङ्गीतिक यात्रा सबैका लागि रमाइलो र स्मरणीय हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”
आयोजकका अनुसार कार्यक्रम अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, र क्यालिफोर्नियालगायत सहरहरूमा आयोजना हुनेछ। यसअघि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।