Tuesday, May 20, 2025
Homeसामाचारअमेरिकामा लेखक पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक

अमेरिकामा लेखक पशुपति घिमिरेका दुई पुस्तक सार्वजनिक

काठमाडौं — लेखक तथा पत्रकार पशुपति घिमिरेद्वारा लिखित दुई पुस्तक ‘Wandering Words’ र ‘Three Dimensions of Buddhism’ अमेरिकाको भर्जिनियामा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

रिचमन्ड, भर्जिनियामा सम्पन्न उक्त कार्यक्रम अमेरिकी सिनेटर स्कायलर टी. भ्यान भाल्केनबर्गको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा लेखक घिमिरेसँगै नेपाली समुदायका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रूकेश पोख्रेल, न्यूयाक क्षेत्रका प्रतिनिधि घनेन्द्र लामिछाने र समाजसेवी रोशन घिमिरेको समेत उपस्थिति थियो।

‘Wandering Words’ लेखक घिमिरेका १८ वटा यात्रा निबन्धहरूको संग्रह हो, जसले पाठकलाई एशिया, युरोप र उत्तर अमेरिकाका १० देशहरूको सांस्कृतिक र बौद्धिक यात्रामा लैजान्छ। भूगोलसँगै इतिहास, परम्परा, धर्म, भाषा, कला, साहित्य र सभ्यताको सजीव मिश्रण प्रस्तुत गर्ने यस कृतिमा देवकोटा र घिमिरेदेखि शेक्सपियर, सुकरात र सोफोक्लिससम्मका सन्दर्भहरू समावेश छन्।

साथै सार्वजनिक गरिएको अर्को कृति ‘Three Dimensions of Buddhism’ लेखकको अघिल्लो नेपाली पुस्तक ‘बुद्धवादका तीन आयाम’ को अंग्रेजी संस्करण हो। यस पुस्तकमा बौद्ध धर्मका सिद्धान्त, दर्शन, इतिहास, ध्यान विधि, बौद्ध विश्वविद्यालयहरू तथा सम्प्रदायहरूको गहिरो विश्लेषण समेटिएको छ।

पुस्तकमा चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, समथ र विपश्यना ध्यानका विविध पाटाहरू, महायान र वज्रयान बौद्ध दर्शनका जटिल आयामहरू तथा पाली त्रिपिटक र महायान साहित्यको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ। साथै, बौद्ध इतिहासअन्तर्गत विभिन्न बौद्ध सम्मेलनहरू र एसियाली मुलुकहरूमा धर्म प्रसारसम्बन्धी महत्वपूर्ण विवरणहरू समावेश छन्।

कार्यक्रममा प्रमुख अतिथि सिनेटर भाल्केनबर्गले यस्ता विचारोत्तेजक कृतिहरू लेखेकामा लेखक घिमिरेलाई धन्यवाद ज्ञापन गर्दै नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गरे। उनले रिचमन्डस्थित नेपाली समुदायलाई भर्जिनिया राज्य सरकारको तर्फबाट कदरपत्रसमेत प्रदान गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका