काठमाडौं । सरकारले अबदेखि बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकट, स्मार्ट कार्ड, नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, लालपुर्जा लगायत सरकारसँग सम्बन्धित सबै स्टिकर तथा कागजपत्र नेपालकै सुरक्षा मुद्रण केन्द्रमा छापिने जानकारी दिएका छन्।
अठारौं पुस्तकालय दिवस–२०८२ को मूल समारोहमा बोल्दै मन्त्री गुरुङले अघिल्ला वर्षसम्म विदेशमा छापिँदै आएका हुलाक टिकट अबदेखि नेपालमै छापिने व्यवस्था मिलाइएको बताए। उनका अनुसार यस वर्ष कर्मचारी व्यवस्थापनमा समस्या आएपछि भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामग्री केन्द्रमार्फत छपाइ गरिएको छ।
‘एक साताभित्र कर्मचारी व्यवस्थापन पूरा हुन्छ, त्यसपछि सबै कागजपत्र सुरक्षा मुद्रण केन्द्रमै छापिन्छ,’ मन्त्री गुरुङले स्पष्ट पारे।
उनले बैंक नोट छपाइका लागि विशेष मेसिन आवश्यक हुने भएकाले त्यसका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए। साथै, हरेक मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित निकायले सुरक्षा मुद्रण ऐनअनुसार सूचना तथा सञ्चार मन्त्रालयलाई पूर्वजानकारी गराई मात्र कागजपत्र छपाइको प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए।


