Friday, April 17, 2026
Homeराजनीतिअब नागरिकले आफ्नै सरकारको अनुभूति गर्नेछन्’ : डोलप्रसाद अर्याल

अब नागरिकले आफ्नै सरकारको अनुभूति गर्नेछन्’ : डोलप्रसाद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले अब नागरिकले देशमा आफ्नो लागि सरकार छ भन्ने वास्तविक अनुभूति गर्न पाउने बताएका छन्।

काठमाडौँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जु न्यौपाने (दर्शना) लाई बधाई दिँदै उनले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने ठूलो जिम्मेवारी रास्वपाको काँधमा आएको उल्लेख गरे।

देशभर भइरहेको प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा देखिएको उत्साहजनक लहरले जनताको परिवर्तनप्रतिको चाहना स्पष्ट पारेको अर्यालको भनाइ छ। “हामी सबै मिलेर यो देशमा समृद्धि ल्याउनुछ र सुशासन कायम गर्नुछ,” उनले भने, “जनतालाई विकास र सेवा प्रवाहको अनुभूति गराउने जिम्मेवारी अब रास्वपामा आउँदैछ।”

अर्यालले वर्षौँदेखि व्याप्त भ्रष्टाचारको जालो तोडेर नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता पनि जनाए।

निर्वाचनमा रास्वपालाई विश्वास गरेर मतदान गर्ने देशभरका मतदाताप्रति आभार प्रकट गर्दै उनले प्राप्त जनमतको कदर गर्दै अघि बढ्ने बताए। काठमाडौँ–१ मा रञ्जु न्यौपानेको जितले रास्वपाको विजय यात्रा सुरु भएको र यसले आगामी दिनमा देशको राजनीतिक दिशा परिवर्तन गर्ने उनको दाबी छ। साथै उनले जनताको साथ र सहयोगका लागि सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका