हलिउड नायिका एन्जेलिना जोलीले इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । नायिकाले इन्स्टामा डेब्यू गरेर अफगानिस्तानकी एक किशोरीको पत्रलाई आफ्नो पहिलो पोस्टको रुपमा सेयर गरेकी छिन् । उनले अफगानिस्तानी किशोरीले पठाएको पत्रलाई सेयर गरेर शक्तिशाली सन्देश दिएकी छिन् । उनको यो पोस्टलाई २४ घण्टामा लाखौंले हेरे र लाइक गरेका छन् ।
अफगानिस्तानकी युवतकिो पत्र साझा गरेर एन्जेलिना जोलीले लेखिन्, ‘यो त्यो पत्र हो जुन मलाई अफगानिस्तानकी किशोरीले पठाएकी थिइन् । हालको समयमा अफगानिस्तानका मानिसहरु सोसल मिडियामा मानिसहरुसँग सम्पर्क गर्न र खुलेर बोल्न सक्दैनन् । त्यसैले म इन्स्टाग्राममा आएँ ताकि उनीहरुको कहानी देखाउन सकूँ र संसारभरीका ती मानिसहरुको आवाज बन्न सकूँ जो यतिबेला मानवताका लागि लडिरहेका छन् ।’
एन्जेलिनाले आफ्नो पोस्टमा अफगानिस्तानको स्थितिमाथि आफ्नो दुःख व्यक्त गर्दै यो लडाईंमा साथ दिन अपिल गरेकी छिन् । उनी भन्छिन्, ‘९÷११ भन्दा दुई हप्ता अघि म अफगानिस्तानको सीमामा थिएँ जहाँ मैले अफगानी शरणार्थीलाई भेटेँ जो तालिबान छोडेर भागेका थिए । यो २० वर्ष अघिको कुरा हो । डर र अनिश्चितताका कारण आफ्नो घरबाट अफगानी दौडिरहेको देखेर मेरो मुटु काँप्छ । यति समय र पैसा बर्बाद भएको देख्नु, रक्तपात भएको देख्नु, थुप्रैको ज्यान गएको देख्नु, एक असफलता हो जुन बुझ्न असम्भव छ ।’
‘दशकौंदेखि अफगानीलाई शरणार्थीको रुपमा हेर्नु, जो संसारका सबैभन्दा क्षमतावान् मानिसहरुमध्ये एक हुन्, उनीहरुलाई बोझ ठान्नु, यसले पनि दुःख दिन्छ ।’
‘यो उद्देश्यका लागि जो मानिसहरु कमिटेड छन्, म उनीहरुलाई पिठ्यूँ देखाउँदिन । म उनीहरुको मद्दतका लागि बाटो खोज्नेछु र मलाई आशा छ तपाईंहरुले पनि मलाई यसमा साथ दिनुहुनेछ ।’


