काठमाडौँ — विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गराइनेजस्ता आधुनिक दासत्वका स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो।
संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।
राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर झन्डै पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्। तीमध्ये धेरै महिला तथा बालबालिकालाई बलपूर्वक श्रममा बाध्य पारिएको छ।
गरीबी, जातीय विभेद, सामाजिक बहिष्कार र संरचनागत असमानताका कारण केही समुदाय अझै पनि शोषणको उच्च जोखिममा रहेका छन्। प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न प्रकारका आर्थिक शोषणमा परिरहेको पाइएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले दासत्व र आधुनिक शोषण अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायबीच समन्वित सहकार्य आवश्यक रहेको जनाउँदै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षा मा जोड दिएको छ।


