Sunday, November 8, 2026
Homeसामाचारअदानचुली (हुम्ला)मा वर्षाको अभावले सयौँ हेक्टर खेतबारी सुख्खा, किसान चिन्तित

अदानचुली (हुम्ला)मा वर्षाको अभावले सयौँ हेक्टर खेतबारी सुख्खा, किसान चिन्तित

अदानचुली, २९ असार: साउन लाग्नै लाग्दा पनि हुम्लाको अदानचुली गाउँपालिकाका सयौँ हेक्टर खेतबारी अझै सुख्खा छन्। धान र कोदोको बीउ तयार भए पनि पानीको अभावले किसानहरूलाई छटपटाइमा पारिरहेको छ। वर्षाको भरमा धान रोप्ने परम्परागत किसानहरू यस वर्ष निराश छन्।

अदानचुलीका किसानहरू भन्छन्, “धान र कोदो रोप्न बीउ तयार छ, उम्लिसकेको छ, तर खेतबारीमा पानी छैन। नहरको मुहान नै छैन। हामी आकासे पानीको भरोसामा छौं।”

असार महिनामा वर्षा नपर्नु र वैकल्पिक सिँचाइ प्रणालीको अभावले समस्या झन् गहिरिएको उनीहरूको गुनासो छ। अधिकांश ठाउँमा सिँचाइका नहरहरू छन् भने, गत वैशाखमा आएको बाढीले ती क्षतिग्रस्त भएका छन्। खोलाको पानीले खेत रोप्न बनाइएका कुलोहरूमा पानी नपुगेर झार मात्र उम्रिएको अवस्था छ। त्यस्ता योजनाहरू प्रायः व्यक्तिगत छन् र व्यापक सिँचाइ योजना छैन।

गाउँपालिकामा संघ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गर्छन्, तर बजेट अधिकांश व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डजस्ता संरचनामा खर्च भइरहेको छ। खेतबारीमा पानी पुर्याउने कुनै ठोस योजना वा कार्यक्रम देखिएको छैन। खोलाको तटबन्धन भए पनि स्थानीयहरूले आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबार गर्ने काम प्राथमिकता दिएका छन्।

स्थानीय किसान ललित बुढाले भने, “धान, कोदो लगायत बालीनाली रोप्न नपाएर बीउ सुक्न लागिसक्यो। किसानलाई योभन्दा ठूलो यातना के हुन सक्छ र? खेतमा पानी छैन र कसैको ध्यान जान्नँ।”

गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भन्दै बजेट सार्वजनिक गरेको छ। सोलार पम्प, डिपबोरिङ, कुलो निर्माण र मर्मतजस्ता योजनाहरू अझै फाइलमा अड्किएका छन्।

बुढाले थपे, “खेत सुक्छ, किसानको आवाज सुनिँदैन। बीउ वितरण ठीकसँग नभएको र अव्यवस्थित सिँचाइ प्रणाली नै मुख्य समस्या हो।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका