देउखुरी (दाङ), ८ भदौ। पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रमसहित अटवारी पर्व मनाइरहेका छन्। हिन्दूहरूको तीजजस्तै महत्त्वपूर्ण मानिने यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घसौभाग्यका लागि व्रत बस्ने परम्परा छ।
घोराही उपमहानगरपालिका–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारी पर्वमा शुक्रबार राति दर खाएर व्रत बसिन्छ। साँझपख रोटी, दही, फलफूललगायत परिकार अग्नि देवतालाई चढाएर ‘अग्रासन’ छुट्याइन्छ, जुन दिदीबहिनीका लागि राखिन्छ। भोलिपल्ट भात–तरकारी पकाएर चढाइसकेपछि मात्र खाने चलन छ।
सुरज चौधरीका अनुसार यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाइन्छ। दाजुभाइहरूले दिदीबहिनीलाई फलफूल, रोटी र अन्य परिकार घरमा पु¥याउँछन्। यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार महाभारतका भीमले दाङका थारूराजा दङ्गीशरणको पक्षमा शत्रुविरुद्ध लडेर विजय प्राप्त गरेपछि विजयोत्सवका रूपमा अटवारी पर्व मनाउने प्रचलन शुरु भएको मानिन्छ। भीमजस्तै बलशाली हुने कामना गर्दै थारू पुरुषहरूले यस दिन पानीसमेत नखाई व्रत बस्ने परम्परा छ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा थारू समुदायको बाक्लो बसोबास भएकाले उक्त जिल्लामा सार्वजनिक बिदा दिइएको हो।


