काठमाडौं । एक समय नेपालको औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रतीक बनेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगलाई पुनर्जीवित गर्न आवश्यक पूर्वतयारी सुरु भइसकेको जनाएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्र सुवेदीका अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। नेपाली सेनाले पनि छुट्टै प्राविधिक अध्ययन सकेर उद्योग परिसरको सरसफाइ, उपकरण परीक्षण तथा मेसिन सञ्चालनयोग्य बनाउने काम अघि बढाएको छ।
यसका लागि अर्थ मन्त्रालयले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। हाल उद्योग परिसरको सरसफाइ, झाडी हटाउने, पुराना मेसिन मर्मत गर्ने तथा परीक्षण उत्पादनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता सुवेदीका अनुसार पहिलो चरणमा हाल उपलब्ध मेसिनकै प्रयोगबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरकारी निकायका लागि आवश्यक कपडा उत्पादन गर्ने लक्ष्य राखिएको छ। परीक्षण उत्पादन सफल भएपछि मात्रै नयाँ प्रविधि, आधुनिक मेसिन खरिद र दीर्घकालीन सञ्चालन मोडलबारे निर्णय गरिनेछ।
सरकारले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। उद्योग मन्त्रालयको कार्यदलले हालै उद्योगमन्त्री गौरीकुमारी यादवसमक्ष उद्योग पुनः सञ्चालनसम्बन्धी विस्तृत प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा परीक्षण उत्पादनदेखि पूर्ण क्षमतामा सञ्चालनसम्मको कार्ययोजना समेटिएको छ।
मन्त्रालयले बुटवल धागो कारखाना र बर्दियास्थित कपास विकास समितिको पुनः सञ्चालन तथा क्षमता विस्तारबारे पनि अध्ययन गरिरहेको जनाएको छ। कपास उत्पादन विस्तारका लागि कृषि मन्त्रालयसँग आवश्यक समन्वय गरिने बताइएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको लगानीमा वि.सं. २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। स्वदेशी कपडाको प्रमुख उत्पादकका रूपमा परिचित यो उद्योगले लामो समयसम्म नेपाली बजारको माग पूरा गरेको थियो।
तर राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र आर्थिक समस्याका कारण उद्योग वि.सं. २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता पुनः सञ्चालनका प्रयास भए पनि सफल हुन सकेका थिएनन्।
यसपटक भने सरकारको सक्रिय पहल, नेपाली सेनाको प्राविधिक संलग्नता र आवश्यक बजेट व्यवस्थापनसँगै उद्योग पुनः सञ्चालन हुने अपेक्षा बढेको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहिलो चरणमा सरकारी निकायका बर्दी तथा विद्यालय पोशाक उत्पादन गर्ने सरकारको योजना रहेको छ।
उद्योग पुनः सञ्चालन हुन सके स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा नेपालको औद्योगिक क्षेत्र पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


