माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपाने झापा आन्दोलनदेखिकै एमालेका पुराना नेता हुन् । दोस्रो पुस्ताका नेताले माधव नेपालको साथ छाडे पनि न्यौपानेले चाहिँ अन्तिमसम्म साथ छाडेनन् र एकीकृत समाजवादी पार्टीमा आवद्ध भए ।
माधव नेपाल नेतृत्वको पार्टीको भविष्य खासै राम्रो नहुने एमालेका नेताहरुले आरोप लगाइरहँदा एमालेका पुराना नेता न्यौपानेको विश्लेषणचाहिँ के छ ? तत्कालीन माले बनाउँदा सीमित व्यक्तिहरु मिलेर भूमिका खेलेका न्यौपानेसँग रातोपाटीले एकीकृत समाजवादी पार्टीको औचित्य र आगामी कार्यनीतिबारे जिज्ञासा राखेको छ ।
न्यौपाने बाराको प्रतिनिधित्व गर्दै तीनपटक सांसद भए । एकपटक मन्त्री भए । १६ बर्ष जिफन्टको अध्यक्ष भए । एमाले नेता विष्णु रिमालसमेत जिफन्टमा एक समय न्यौपानेका कार्यकर्ता थिए ।
पार्टीमा यति पुरानो भूमिका भैकन पनि नेता न्यौपाने पार्टी बाहिर खासै चर्चामा नआएका नेता हुन् । पार्टीभित्र जति चर्चा र परिचय छ, प्रायः सबैले उनलाई बाराका एमाले नेता भनेर चिन्छन् । तर, न्यौपानेको ‘सेक्रेट’ के हो भने उनी केपी ओलीकै समकालीन झापाली हुन् ।
नेपालमा कम्युनिस्ट पार्टीको साख जोगाउन र मुलुकलाई समाजवादको दिशामा अघि बढाउन केपी ओली असफल भएकाले नै नयाँ पार्टी गठन गर्नुपरेको न्यौपानेको तर्क छ । तर, एमाले र एकीकृत समाजवादीका बारेमा चर्चा गर्नुपूर्व न्यौपानेको ‘सेक्रेट’ बाटै अन्तरवार्ताको थालनी गरौं–
तपाई सुरुमा कसरी कम्युनिस्ट हुनुभयो ?
पहाडबाट म ०२४ सालमा झापा झरेँ । त्यसबेला १५÷१६ बर्षको थिएँ । झापामा दिनहुँजसो जुलुस हुन्थ्यो । त्यो जुलुसमा म पनि जान थालें । त्यसक्रमा कम्युनिस्टले पो देश र जनताको हित गर्नेरहेछन् भनेर म कन्भिन्स भएँ ।
तपाई झापाको मान्छे, पछि बारा जिल्लालाई नै आफ्नो राजनीतिक कर्मथलो बनाउनुभयो । झापा विद्रोहपछि केपी ओली पनि रौतहट आएर त्यहीँबाट पक्राउ पर्नुभएको थियो । त्यसबेला झापाबाट यसरी बारा–पर्सातिर आउनुको कारणचाहिँ के थियो ?
संगठन विस्तारकै क्रममा यसरी स्थान परिवर्तन भएको हो । झापा विद्रोहका बेला मोहनचन्द्र अधिकारी र म एकै ठाउँ थियौं । झापामा जब धर्मप्रसाद ढकाललाई उनीहरुले मारेपछि सीपी मैनालीहरु पारि छिरेछन् । धर्म ढकाललाई मारेपछि पार्टीमा दुईलाइन संघर्ष भयो । व्यक्ति मार्ने कुरा क्रान्ति होइन भन्ने र त्यही नै क्रान्ति हो भन्ने ।
त्यसबेला चीनले नौ बुँदे सुझाव पनि पठाइसकेको थियो । व्यक्ति हत्या हो भन्नेमा म, मोहनचन्द्रहरु भयौं । यो मुद्दापछि झापामा बसेर राष्ट्रिय पार्टी बन्दैन भनेर मलाई मोहनचन्द्रले नारायणी अञ्चलको सम्पर्क दिनुभयो । मोहनचन्द्रका बुवा पहिला भन्सारमा काम गर्नुहुँदोरहेछ । नारायणीमा उहाँका अरु नातापाता पनि रहेछन् ।
बारामा तपाईले कसरी काम गर्नुभयो ? केपी ओली कसरी आइपुग्नुभयो ?
त्यसपछि म बारामा आएर १६ महिना हलो जोतेर बसें । थारु गाउँमा हलो जोतेर बिस्तारै संगठन विस्तार गरेँ । भारतको आसामबाट विस्थापित भएर आएको भनेर आफूलाई चिनाएँ ।
तीन महिनापछि केपी ओली आउनुभयो । उहाँसँग वीरगञ्जमा घनेन्द्र बस्नेतको डेरामा भेट भएको हो । घनेन्द्र बस्नेत त्यसबेला भूमिसुधारमा काम गर्नुहुन्थ्यो ।
त्यसैक्रमा संगठन गर्दै अघि बढ्दा मोहनचन्द्रसँग पछि फेरि मेरो कुरा मिलेन । उहाँ उल्टिसक्नुभएछ । खेत रोप्नुभएछ दुई महिना । तर, खेत रोपेको खाना मात्रै दिएछन्, ज्याला दिनएनछन् । पैसा नदिएपछि जमिन्दारलाई काट्नैपर्छ भनेर भन्न थाल्नुभयो । यसमा हाम्रो झगडा नै भयो । त्यसपछि कृष्णप्रसाद भण्डारीलाई माधव नेपालले सम्पर्क गराइदिनुभएछ र उहाँ रौतहट पुग्नुभयो, त्यहीँ समातिनुभयो ।
एमालेमा यति धेरै दुःख गर्नुभएको पुरानो नेता, अहिले छुट्टिएर माधव नेपालसँगै नयाँ पार्टी गठन गर्नुभएको छ, कस्तो महशुस भैरहेको छ ?
नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाइराख्न नयाँ पार्टी आवश्यक भयो । त्यो महशुस गरेर नै नेकपा एकीकृत समाजवादी गठन भएको हो । तर, अब हामीसँग चुनौतिहरु र अवसर पनि थपिएका छन् । चुनौती र अवसर दुवैलाई सही ढंगले उपयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।
नेकपा एकीकृत समाजवादी कस्तोखालको पार्टी हो ? यो किन आवश्यक भयो ?
नेकपा माले र एमाले हुँदै हामीले लामो समय राजनीति गर्यौं । पछिल्लो समय हाम्रै पार्टीको सरकार थियो । २०७४ मा चुनाव भयो, २०७५ नेकपा एमाले र माओवादी मिलेर नेकपा बनायौं । झण्डै दुई तिहाइको सरकार बन्यो । तर, त्यो सरकार जनभावना र घोषणापत्र अनुसार चलेन । नेकपाको घोषणापत्रमा स्याउ छरियो ।
त्यसबेला जनताले साँच्चैका स्याउ नै हुन् कि भन्ने ठानेका थिए । तर, केपी शर्मा ओलीको नेतृत्वको सरकार जसरी अघि जानुपथ्र्यो, अध्यक्ष समेत भएकाले जसरी पार्टी अगाडि बढाउनुपथ्र्यो त्यो पटक्कै बढेन अघि जान सकेन । मार्क्सवादका मूल्यमान्यता मात्रै होइन, राज्यले पालना गर्नुपर्ने केही पनि पालना भएन ।
राज्य, जनता र सरकार के हो ? राष्ट्र के हो भन्ने कुरा सवै बिर्सियो । यो अवस्था आएपछि अब केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टी पनि अघि बढ्न सक्दैन र राष्ट्रको विकास निर्माण पनि हुन सक्दैन भन्ने निष्कर्षमा हामी पुग्यौं । कम्युनिस्ट पार्टीको साख जोगाउन पनि हामी अलग हुनुपर्छ भन्ने बुझेर नै हामी अलग भएका हौं ।
नेकपा (एकीकृत समाजवादी) ले कम्युनिस्ट पार्टीको साख जोगउला त ? यसले लिने अबको बाटो कस्तो हुन्छ ?
जोगाउँछ । संविधानले जे कुरा व्यवस्था गरेको छ, जुन भावना समेटेको छ, त्यसलाई आत्मसात गरेर समाजलाई रुपान्तरण गर्छ । २०६३ साल बैशाख ११ गते देशभरका जनता जसरी राजतन्त्रको अन्त्य र गणतन्त्रका लागि उर्लिए, त्यो किन थियो भन्दा समाजवादका लागि ।
मुखले भन्दैमा र गीत गाउँदैमा समाजवाद आउँछ र ?
आउँदैन । समाजवाद लागु गर्न सबभन्दा पहिला दलाल पुँजीवादमाथि नियन्त्रण गर्नुपर्छ । दलाल पुँजीपति वर्गले नेपालमा कमाउने र विदेशमा सम्पति राख्ने गरिरहेका छन् । खोज्दै जानुभयो भने ठूला–ठूला पुँजीपति वर्गले यहाँ कमाएर अरु देशमा गएर उद्योग कलकारखाना, व्यवसाय खोलेका छन्, यहाँ लगानी गर्दैन्न् । तर, हाम्रो मुलुक २० औं बर्षदेखि जस्ताको त्यस्तै छ ।
दोस्रो– कालो धनको राष्ट्रियकरण गर्नुपर्छ । जोसुकै सरकार आओस्, जबसम्म कालो धन राष्ट्रियकरण गरिँदैन, यो मुलुकमा समाजवादको कल्पना नगरे हुन्छ ।
तेस्रो–मध्यम पुँजीपति वर्गलाई कमजोर बनाउने र धनाढ्यहरुलाई स्थपित गर्ने विश्व बैंकको जुन योजना छ, जी–सेभेन भनेर जे गरिँदैछ, यो मध्यम वर्गको पुँजी कब्जा गर्ने नीति हो । साना र मझौला बैंकहरुलाई ठूला बैंकमा मर्जर गरिदिने । किनभने, साना मझौला र मध्यम वर्गले ऋण नै लिन नसकोस् भनेर यसो गरिँदैछ ।
पुँजीको मालिक उद्योपतिलाई होइन, बैंकलाई बनाउने, पुँजीलाई एकीकृत गर्ने र मध्यम वर्गलाई गरीव वर्गमा झारेर कम्पनीतन्त्र, धनाढ्यतन्त्र र निरंकुशतन्त्र चाहेको हो जी–सेभेनले । तीनवटा तन्त्र खडा गर्न चाहान्छ जी–सेभेन । धनाढ्य जो छ, उसलाई आफ्नो वरिपरि गोलबद्ध गरेर खडा गर्ने, लगानी गरेर त्यसलाई चुनाव जिताउने र त्यसलैलाई प्रजातन्त्र र बहुदलका नाममा निरंकुश बनाउनेतिर अबको दुनियाँ जाँदैछ ।
यसले गर्दा हामी कम्युनिस्ट र समाजवाद भनेर अघि जान्छौं भने सबैभन्दा पहिला नागरिकलाई सचेत पार्नुपर्छ । आफ्नो राष्ट्रियता, मध्यम पुँजीपति वर्गको संरक्षण, श्रमिकहरुको उत्थान र संरक्षण अनिवार्य छ । त्यो भनेको उत्पादनमा बृद्धि, व्यापारमा विस्तार, आयातमा कटौति र जनताको जीवनस्तर उन्नत वा सम्मृद्ध बनाउने हो ।
अमेरिका वा चीन जानुस्, यी चारवटा काम गरेर उनीहरु संसारमा हाईहाई भएका छन् । तर, आज हामी भारतबाट साढे आठ खर्बको आयात गर्छौं । २५ अर्बको त तरकारी र फलफूल मात्रै आउँछ । ४० अर्बको चामल, १७ अर्बको खानेतेल मात्रै आउँछ भने चार अर्बको माछामासु ल्याउँछौ ।
यसरी बाह्य निर्भर हुनुपरेको अवस्था छ । यस्तो अवस्थामा उत्पादनमा बृद्धि गरेर आयात कटौती गर्ने सरकार चाहिन्छ नेपाल बनाउन । मुलुकलाई आत्मनिर्भर बनाउन त्यही किसिमको योजना र कार्यान्वन चाहिन्छ ।
तर, तपाईहरुले फरक पार्टी बनाउनेवित्तिकै यस्तो आमुल परिवर्तन सम्भव छ र ? जबकि तपाईहरुको पार्टीको विचार र सिद्धान्त नै अलमल छ भन्छन् विरोधीहरु ?
हामीसँग नीति, विचार र सिद्धान्त सबै छ । नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको जनताको बहुदलीय जनवाद, अहिले पनि हाम्रो सिद्धान्त त्यही हो । जनताको बहुदलीय जनवाद भनेको दलाल पूँजीपति वर्गको जनवाद भनेको होइन ।
जनताको बहुदलीय जनवादले जनताको समृद्धिका लागि अघि मैले माथि भनेका चारवटा कुरालाई समेट्छ । हाम्रो देशमा तीन प्रकारका संरचना र सरकार छन् । स्थानीय निकायलाई आत्मनिर्भर होऊ, आफ्नो तहमा जे उत्पादन हुन्छ, फलफूल, जडिबुटी, सागपात उत्पादन गर, त्यसका लागि हामी बजेट दिन्छाैं, जसले ५ बर्षमा आत्मनिर्भर हुनसक्छ, त्यसको बजेट बढोत्तरी हुन्छ, जसले सक्दैन, त्यसको कटौती हुन्छ । यो घोषणा गर्नसक्नुपर्छ । मैले यो कुरा केपी ओली प्रधानमन्त्री हुँदा लेखेर नै दिएको थिएँ, तर कार्यान्वयन गरेनन् ।
नयाँ पार्टी खोलेपछि क्रान्तिकारी र राष्ट्रवादी देखाउने होडवाजी चल्ने गर्छन् । जब चर्का कुरा गरेर पार्टीहरु सत्तामा पुग्छन् अनि उहीँ पुँजीपति वर्गकै सेवामा लागेका धेरै उदाहरण छन् । तपाईंहरुको पार्टी पनि त्यस्तै नहोला र भिन्न होला भन्ने के आधार छ ?
मुख्य कुरा सिद्धान्त हो । मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई मानेर गएपछि र सोही सिद्धान्तलाई कार्यान्वयन गरेपछि परिवर्तन सम्भव छ । त्यसका लागि हामी प्रतिवद्ध हुनुपर्छ, हुन्छौं । आज पहाडका ७० प्रतिशत खेतवारी बाँझै छन् । ४५ लाख मान्छे विदेशमा छन् ।
राज्यले जनता र राष्ट्रप्रतिको दायित्व बिर्संदा देश आत्मनिर्भर हुन सक्दैन । क्युवाको उदाहरण हेर्नुभयो भने अहिले त्यहाँ ५ लाख हलगोरु छन् । त्यहाँ ट्रयाक्टर विस्थापित भयो । सन् १९८० वाट ट्रयाक्टर विस्थापित गर्न थालेको हो क्युवाले । ट्रयाक्टरले घाँस खाँदैन र गोबर दिँदैन भन्ने नारा नै ल्यायो । त्यसकारण सम्पूर्ण अर्गानिक र उत्पादन बढाउने हो भने त्यसबाट पाठ सिक्नुपर्छ । मार्क्सवादी भएर मात्रै पनि हुँदैन, आफ्नो देशको विषेशतामा नेपाली पनि हुनुपर्यो, स्वावलम्बी पनि हुनुपर्यो ।
मुलुकलाई समाजवादमा पुर्याउने नेकपा एकीकृत समाजवादी पार्टीको रोडम्याप चाँही के हो ?
पहिलो कुरा त हामी हाम्रो पार्टीको सुदृढीकरण गर्छौं । पार्टी कमिटीलाई तल्लो तहसम्म पुर्याएर ती पार्टी कमिटीमार्फत जनतामा जानकारी गराउँछौं । किनभने, भर्खर पार्टी गठन गरेका छौं । हिजो हामी जोसँग छुट्टियौं त्यसैसँग लडाइ गर्नुपर्नेछ । उसले पनि मार्र्सवादी लेनिनवादी हामी पो पक्का हौं भन्छ ।
मार्क्र्सवादले भविश्यमा हुने भुलबाट बच्न विगतका भुलबाट सिक भन्छ । त्यसकारण हाम्रो पहिलो समीक्षा केपी ओली नेतृत्वको सरकार बनेयता भएका कमिकमजोरीहरु के–के हुन् ? किन दुईतिहाई भएको सरकार टिक्न सकेन ? किन दुई–दुई पटक संसद भंग भयो ? यत्रो ठूलो पार्टी किन लथालिङ भयो ? नेता किन निरंकुश भए ? यी कुराको विश्लेषण गरेर हामी सच्चाउने प्रयत्न र अठोट गर्छौ ।
कसरी सच्चाउनुहुन्छ ?
व्यवहार परिवर्तन गरेर सच्याउँछौं । विगतमा कस्ता–कस्ता प्रवृत्ति देखिए ? त्यो प्रवृत्तिले के–के नोक्सान भयो ? गल्ती गरेका छौं भने हामीले पनि आत्मालोचना गर्नुपर्यो । तलैसम्म गल्ती दोहोरिनुहुँदैन भनेर बुझाउन प्रशिक्षित गर्न सक्नुपर्यो । सुदृढीकरण, शुद्धीकरण र विगतको भुलको समीक्षा सँगसँगै गर्दै लैजान्छांै । हिजो केपी ओलीले कुन–कुन कुरामा अशुद्ध बनाए ? त्यसलाई सफा गर्नु अनिवार्य छ ।
तपाईले अघि दलाल पुँजीपति वर्गको कुरा पनि गर्नुभयो । पार्टीलाई क्रान्तिकारी बनाउँछौं भन्दै गर्दा तपाईहरुको सहकार्य त हाम्रो देशमा दलाल पुजीँपति वर्गकै संरक्षण गर्ने भनेर चिनिएको काँग्रेससँग सहकार्य भइरहेको छ, अनि कसरी समाजवादको लक्ष्य पूरा गर्नुहुन्छ त ?
दलाल पुँजीपति वर्गको बढी नजिक रहेको पार्टी काँग्रेस हो भनेर हामीले भन्दै आएका हौं । तर, त्यस पार्टीमा दलाल पुँजीपति वर्गमात्रै छैन, मध्यमवर्ग पनि छ । तर, अहिले यसअघिको हाम्रै नेकपा एमाले काँग्रेसभन्दा बढी दलाल पँुजीपति वर्गको घेरामा पर्यो । यतिसम्म कि २५२ जनालाई बोलाएर नेकपा एमालेमा प्रवेश गराइयो । त्यहाँ कुन वर्गका थिए भन्दा दलाल पुजिँपति बर्गको सबभन्दा ठूलो हिस्सा थिए । शेरबहादुर देउवा छोडेर किन ओलीतिर गए त उनीहरु ?
तपाईहरु सरकारमा जान खुट्टा उचालेर बस्नुभएको छ, कहिलेसम्म र कसको नेतृत्वमा सामेल हुँदैहुनुहुन्छ त ?
हामी जतिसक्दो छिटो सरकारमा जान्छौं । अबको ५ दिनभित्र सरकारले पूर्णता पाउँछ । हाम्रोबाट ५ जना फूलमन्त्री पठाउने सहमति भएको छ । तर, कसको नेतृत्वमा भन्ने कुरा छलफलकै विषय छ ।
सरकारमा कस्ता मान्छे पठाउँदै हुनुहुन्छ ?
सरकारमा जाने भनेका जननिर्वाचित प्रतिनिधि नै हो । तर, सरकारमा जानेहरुलाई निरन्तर प्रशिक्षण दिने र विगतमा भएका नराम्रा कुराले जसरी कम्युनिस्टको बद्नाम भएको छ, त्यो हुनुहुँदैन भनेर सचेत गराउँछौं ।
कुन कुन मन्त्रलाय लिने सहमति भएको छ ?
त्यसबारे अहिलेसम्म सहमति भैसकेको छैन । छलफलकै क्रममा छ ।
उपसभामुख पनि नेकपा एकीकृत समाजवादीले मागेको हो ?
त्यो मलाई थाहा छैन ।रातोपाटीबाट


