Sunday, May 10, 2026
Home Blog Page 91

पश्चिमी वायुको आंशिक प्रभाव : पहाड–हिमालमा बादल, तराईमा तुँवालो

0

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण तराईका केही स्थानमा तुँवालो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली देखिएको छ। बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। हिमाली भू–भागमा सामान्य बदली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा तोकिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तथा ओमानी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको बैंकले जनाएको छ।

धादिङमा यात्रुवाहक बस त्रिशूलीमा खस्यो : १७ जनाको मृत्यु, २४ जना घाइते

0

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङ जिल्लामा दुर्घटनामा परेको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १७ जनाको शव नदीबाट निकालिएको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको जनाइएको छ।

उद्धार कार्य जारी रहेको छ।

इरानी विश्वविद्यालय विद्यार्थीको सरकारविरुद्ध विरोध, झडप र अमेरिकी दबाब

0

काठमाडौं । इरानका विश्वविद्यालयका विद्यार्थीहरूले सरकारले गरेको दमनको विरोधमा प्रदर्शन गरेका छन्। गत महिनादेखि अधिकारीहरूले हिंसात्मक कदम चाल्न थालेपछि यो पहिलो ठूलो स्तरको विरोध हो।

शनिबार राजधानी तेहरानको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको क्याम्पसमा विद्यार्थीहरूले मार्च गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए। बीबीसीले प्रमाणित भिडियो समेत सार्वजनिक गरेको छ। प्रदर्शनकारी र सरकार समर्थकबीच केही झडप पनि भएको रिपोर्ट छ।

तेहरानका अन्य विश्वविद्यालयमा धर्ना र शहरको उत्तरपूर्वी भागमा र्‍याली भएको थियो। विद्यार्थीहरूले जनवरीमा भएको सामूहिक विरोध प्रदर्शनमा मारिएका हजारौंको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य उपस्थिति बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमित सैन्य कारबाही गर्ने विचार गरिरहेको बताएका छन्। अमेरिका र उसका युरोपेली सहयोगीहरू इरानको आणविक हतियार विकासको सम्भावनामा शंका राखिरहेका छन्, जुन इरानले अस्वीकार गर्दै आएको छ।

यसैबीच, अमेरिकी र इरानी अधिकारीहरूले मंगलबार स्विट्जरल्याण्डमा वार्ता गर्दै इरानको आणविक कार्यक्रम सीमित गर्ने प्रयासमा प्रगति भएको बताएका छन्।

कार पार्कमा पत्नी हत्याप्रकरण: पूर्वपति थिसारा वेरेगललाई आजीवन कारावास

0

काठमाडौं । बेलायतको कार्डिफस्थित अदालतले आफ्नी पत्नीलाई कार पार्कमा घातक रूपमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३७ वर्षीय थिसारा वेरेगललाई आजीवन कारावासको सजाय सुनाएको छ।

सन् २०२५ अगस्ट २१ मा ३२ वर्षीया दोन निरोधा कलपनी रिभरसाइडको साउथ मोर्गन प्लेसमा घटनास्थलमै मृत फेला परेकी थिइन्। वेरेगलले सुरुमा हत्या अस्वीकार गरे पनि जनवरीमा न्यूपोर्ट क्राउन कोर्टमा दोष स्वीकार गरेका थिए। कार्डिफ क्राउन कोर्टका न्यायाधीश ड्यानियल विलियम्सले भने, “उनको निर्दयी स्वार्थले निरोधाको जीवन छोट्यायो।”

अदालतलाई दिइएको जानकारी अनुसार दम्पती महिनौँदेखि अलग बसिरहेका थिए। घटनाको बिहान वेरेगलले कार पार्कमा पुगेर १५ सेन्टिमिटरको भान्साको छुराले अनुहार, घाँटी, छाती, हात र खुट्टामा घातक चोट पुर्‍याएका थिए। निरोधा घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन्।

प्रत्यक्षदर्शीहरूले वेरेगलाई आफ्नो फोर्ड फिएस्टा कारमा तीव्र गतिमा भागिरहेको देखेका थिए। पक्राउको बेला कारभित्र रगतले भिजेका ग्लोभ र खोलिएको छुरा भेटिएको थियो। अनुसन्धान अनुसार हत्या योजनाबद्ध र पूर्वनियोजित थियो।

निरोधा र वेरेगल सन् २०१७ मा श्रीलङ्कामा विवाह गरेका थिए र सन् २०२२ मा कार्डिफ आएका थिए। वैवाहिक समस्या बढेपछि निरोधाले सहकर्मीसँग सम्बन्ध गाँसेकी थिइन्।

दक्षिण वेल्स प्रहरीले निरोधालाई परिवार र साथीहरूले अत्यन्त माया गर्ने व्यक्ति भनेको र उनको जीवन ईर्ष्यालु र कायरपूर्वसाथीले समाप्त गरेको उल्लेख गरेको छ।

स्प्रिङ फेस्टिभलमा ‘एयर ट्याक्सी’को माग बढ्दो, साङघाइ–शेङ्सी उडान लोकप्रिय

0

काठमाडौं । चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) यात्राको चाप बढेसँगै छोटो दूरीका ‘एयर ट्याक्सी’ सेवाप्रति आकर्षण उल्लेख्य रूपमा बढेको छ। विशेषगरी साङघाइ र आसपासका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत हुने उडानहरू लोकप्रिय बन्दै गएका छन्।

सडक र फेरीमार्फत घण्टौं लाग्ने यात्रा अब करिब ३० मिनेटमै पूरा हुन थालेपछि यात्रुहरूले समय बचतका लागि हवाई विकल्प रोज्न थालेका हुन्। साङघाइबाट शेङ्सी टापुसम्मको उडानमा पुडोङ, लिङ्गाङ र डोङहाइ पुल हुँदै खुला समुद्रको दृश्य अवलोकन गर्न सकिने बताइएको छ।

साङघाइ न्यूस्काइ हेलिकोप्टरका क्याप्टेन स्यु जियानजुनका अनुसार छोटो र सहज उडानसँगै शहरको स्काइलाइन र समुद्री दृश्यले यात्रालाई विशेष बनाउने गरेको छ। यात्रुहरूका लागि आकर्षण केवल दृश्य मात्र नभई समयको बचत पनि हो। बस र फेरीबाट लामो समय लाग्ने यात्रा हवाईमार्गबाट बिहान गएर दिउँसो फर्किन सकिने गरी छोटिएको यात्रुहरूले बताएका छन्।

कम्पनीका उडान विभाग प्रमुख ली सिनका अनुसार स्प्रिङ फेस्टिभल ट्राभल रशका क्रममा बुकिङ सामान्य समयको तुलनामा करिब डेढ गुणा बढेको छ। यात्रुहरूले मिनी–प्रोग्राममार्फत अग्रिम बुकिङ गर्न सक्ने सुविधा उपलब्ध रहेको उनले जानकारी दिए।

यो सेवा याङ्त्से नदी डेल्टा क्षेत्रमा विकसित हुँदै गएको व्यापक यातायात प्रणालीको हिस्सा बन्दै गएको छ। चीनले प्रवर्द्धन गरिरहेको ‘लो–अल्टिच्युड इकोनोमी’ अवधारणाअन्तर्गत हेलिकोप्टर र साना हवाई साधनमार्फत छोटो दूरीका नियमित मार्ग विस्तार भइरहेका छन्, जसले क्षेत्रीय आवागमनलाई छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार चीनको न्यून उचाइको हवाई अर्थतन्त्र सन् २०३५ सम्म पाँच गुणाभन्दा बढी विस्तार हुने प्रक्षेपण गरिएको छ। हाल करिब ९३ अर्ब अमेरिकी डलर बराबरको बजार सन् २०३५ सम्म ४८३ अर्ब डलर पुग्ने अनुमान छ। यस वृद्धि यात्रु ढुवानीसँगै आपत्कालीन उद्धार, पर्यटन, व्यापारिक उडान तथा स्मार्ट सहर अवधारणासँग पनि जोडिएको बताइएको छ।

यद्यपि हवाई सुरक्षा, उडान मार्ग व्यवस्थापन र मूल्य निर्धारणजस्ता विषयमा नीतिगत बहस जारी रहे पनि स्प्रिङ फेस्टिभलजस्तो भीडभाडको समयमा छोटो दूरीको हवाई सेवा प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको छ।

अफगान सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमण, सर्वसाधारणको हताहतीको दाबी

0

काठमाडौं । पाकिस्तानी सेनाले आइतबार बिहान अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ। अल जजीराका अनुसार सेनाले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सात शिविर तथा लुक्ने स्थानलाई लक्षित गरेको दाबी गरेको छ।

पाकिस्तानी सरकारले हालै भएका आत्मघाती हमलापछि उक्त कारबाही प्रतिशोधात्मक भएको बताएको छ। सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो गुप्तचर सूचनाका आधारमा गरिएको अपरेसन भएको उल्लेख छ। पाकिस्तानको भनाइअनुसार ती आक्रमणहरू अफगान भूमिबाट सञ्चालन भइरहेको नेटवर्कद्वारा योजनाबद्ध गरिएको बलियो प्रमाण आफूहरूसँग रहेको छ।

यता अफगान मिडिया आउटलेट टोलो न्यूजका अनुसार आक्रमण नान्गारहार प्रान्तको एक घरमा परेको थियो, जहाँ एकै परिवारका २३ जना सदस्य भग्नावशेषमुनि पुरिएको जनाइएको छ। हालसम्म चार जनालाई मात्र उद्धार गरिएको र आक्रमण हुँदा परिवार सुतिरहेको अवस्थामा रहेको उल्लेख गरिएको छ।

अमेरिकास्थित मानव अधिकार संस्था इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपि, घटनाबारे आधिकारिक तथ्यांक भने अझै सार्वजनिक गरिएको छैन।

लिची बारी जग्गा घुस प्रकरणमा रञ्जिता श्रेष्ठसँग ५ लाख धरौटी माग

0

काठमाडौँ । पोखराको लिची बारी जग्गा घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस डिलसम्बन्धी अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थियो।

उक्त प्रकरणमा घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको जनाइएको छ।

१२ वर्षपछि चितवन–३ मा कांग्रेस र एमाले आफ्नै चुनाव चिह्नमा

0

चितवन । चितवन क्षेत्र नं. ३ मा यसपटक नेपाली कांग्रेसनेकपा (एमाले)का मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्। विगतका निर्वाचनमा तालमेल र गठबन्धनका कारण दुवै दलले आफ्नो चुनाव चिह्न प्रयोग गर्न पाएका थिएनन्।

कांग्रेसले विसं २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र विसं २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का डा. भोजराज अधिकारीलाई सघाएको थियो। त्यसैले ती निर्वाचनमा मतपत्रमा कांग्रेसको ‘रुख’ चिह्न थिएन।

त्यस्तै एमालेले विसं २०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विसं २०७९ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो। २०७९ मा एमालेले आफ्ना मतदातालाई ‘माछा’ चिह्नमा मतदान गर्न निर्देशन दिएको थियो।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति सुशील कोइराला निर्वाचित भएका थिए। पछि उनी प्रधानमन्त्री बने। क्षेत्र पुनःसंरचनापछि यो क्षेत्र नं. ३ मा समेटिएको हो।

विसं २०७४ मा एमाले र माओवादीबीच एकता भई नेकपा बनेपछि सो दलबाट उम्मेदवार बनेका प्रचण्ड निर्वाचित भएका थिए। उनले राप्रपाका विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेका थिए।

विसं २०७९ को निर्वाचनमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए। उनले ३५ हजार ५५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार भोजराज अधिकारीले २५ हजार ८२२ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८४२ मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट शंकरराज थपलिया उम्मेदवार छन्। माओवादी केन्द्रबाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राप्रपाबाट दीपक थापामगर उम्मेदवार बनेका छन्। यस क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

चितवन–३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यहाँ १ लाख ५५ हजार ३०९ मतदाता रहेका छन्, जसमध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक जना तेस्रोलिङ्गी मतदाता छन्। ६३ मतदान स्थलका १७४ केन्द्रबाट मतदान हुने व्यवस्था गरिएको छ।

मुगुमा हेलिकप्टरमार्फत मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

0

मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री आइतबार बिहान मुगु आइपुगेको छ। निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री ढुवानी गरेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४० हजार समानुपातिकतर्फ र ३९ हजार प्रत्यक्षतर्फका मतपत्रसहित सुई, धागो, स्वस्तिक छाप, स्टाम्प्याडलगायत ११ प्रकारका आवश्यक सामग्री जिल्लामा पुर्‍याइएको छ।

एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन्। जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र तोकिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमलप्रसाद उपाध्यायका अनुसार १४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम सञ्चालन गरिनेछ। १५ गतेदेखि मतदान केन्द्रमा लैजाने सामग्री प्याकेजिङ गरिने र भूगोलका आधारमा १७ गतेदेखि मतदान अधिकृतसहितको टोली आ–आफ्ना स्थलतर्फ प्रस्थान गर्ने तयारी छ।

निर्वाचन सम्पन्न गराउन ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, २१० सहायक कर्मचारी, १७९ स्वयंसेवक र ७० सहयोगीसहित कुल ५९९ कर्मचारी परिचालन गरिने छन्। सुरक्षाका लागि निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १,५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।