Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 780

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

By
Himalayan Tribune
-
June 8, 2024
0

काठमाडौँ: झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ्गमा सो सवस्टेशन निर्माण भएको हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ ।

यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङ्गमा नै दुई सय २० र एक सय ३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुनेछ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

हेटौँडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा सबस्टेसनबाट स्थानीयरुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौँडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “नेपालका मध्य क्षेत्रका नदी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौँडा–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौँडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत् प्रवाहका लागि सहजता प्रदान गर्नेछ ।” हेटौँडा सबस्टेसनलाई आवश्यकताअनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सबस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गर्नुभयो ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीनवटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् । हेटौँडा सबस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ ठेक्का सम्झौता गएिको थियो । सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको दुई सय २०, एक सय ३२ र ११ केभी हेटाँैडा सवस्टेसन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो । सो सबस्टेसनको अनुमानित लागत रु तीन अर्ब रहेको छ ।

विश्वव्यापी फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो । कोरोना महामारीका कारणले सबस्टेसन जडान हुने विभिन्न उपकरणहरु र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आई नपुगेको तथा अन्य कारणले आयोजनाको निर्माणमा केही ढिलाइ भएको थियो ।

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’

By
Himalayan Tribune
-
June 8, 2024
0
नवलपरासी (बर्दघाट सुस्तापूर्व): बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दका छन् । यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् ।
पूर्व–पश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार–४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताउनुभयो । “मगर समुदायको कलासंस्कृतिसँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुबाटै बनेका खानाका परिकार कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वादका लागि मात्रै नभएर देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न आउनेका लागि यो घरबास उत्कृष्ट गन्तव्य बन्दै गएको छ”, उहाँले भन्नुभयो । स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिकरुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् । चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको छ ।
दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जनकारी दिनुभयो । “स्थानीय उत्पादनबाट बनेका परिकारको स्वाद र मगर समुदायको मौलिक संस्कृति अवलोकन गर्न पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले दैनिकरूपमा एक दर्जनदेखि ५०/६० जनासम्म पर्यटक यहाँ आउने गरेका छन् ।” छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासी, रुपन्देहीसहित देशका विभिन्न भागबाट आउने पर्यटकले स्थानीय रैथाने खाना, मगर कलासंस्कृति मात्रै नभएर एक हजार नौ सय ३६ मिटर अग्लो देवचुली डाँडाको पदयात्रा, वरचुली डाँडा, उत्तरतर्फ धौलागिरि, माछापुच्छ्रे« र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौवादीको फलाम खानीको डाँडासमेतको दृश्य अवलोकन अवसर पाउने गरेका छन् । “घरबास आएका पर्यटकबाट हुने आम्दानीको १० प्रतिशत समूहमा राख्ने गरिएको छ”, उहाँले भन्नुभयो, “समूहमा रहेको रकम घरबासको प्रवद्र्धन तथा सामाजिक काममा प्रयोग हुँदै आएको छ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु, मगर, गुरुङ, दराई, बोटे जातिको घरबास सञ्चालनमा रहेका छन् ।

तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

By
Himalayan Tribune
-
June 8, 2024
0

दमौली (तनहुँ) : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१/ ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो । एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिनुभयो ।

स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायीक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री दाहाल भोलि नयाँदिल्ली जाँदै, मोदीसँग भेटवार्ता हुने

By
Himalayan Tribune
-
June 8, 2024
0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले राससलाई बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ । ” प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । उहाँ यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी हुनुभएको थियो । गत बुधबार प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो । प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ ।

भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” भन्नुभएको थियो । सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ । एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा ढिलाइ

By
Himalayan Tribune
-
June 8, 2024
0

दमौली (तनहुँ): निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा उक्त सात जना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्णरुपमा नहटाएको जनाइएको छ । सोका कारण सडक निर्माणमा अवरोध भइरहेको जानकारी हुन आएको हुँदा सडक मापदण्डभित्र पर्ने संरचना यथाशीघ्र हटाइ सडक निर्माणमा सहजीकरण गरिदिन आग्रह उहाँले गर्नुभएको छ ।

साथै सडक मापदण्डभित्र पर्ने संरचना नहटाइएको पाइएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो । सडक विस्तारमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउनेमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ । उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ ।

उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो । यसैगरी पूर्वी खण्डअन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन । सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ ।

पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनःथप गरिएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र सात दशमलव पाँच किमी दुई लेनमा कालोपत्र सकिएको छ ।

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

By
Himalayan Tribune
-
June 8, 2024
0

जुम्ला: हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ । आगामी असार १० गते सञ्चालन हुने १६औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो । यहाँका स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्यतथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।

नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति ल्याउने गाउँ कार्यपालिकाबाट निर्णय भएको छ । स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी १६औँ गाउँसभाबाट स्वीकृत हुनेगरी सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।

सञ्चार नीति तयार गर्नका लागि तीन सदस्य समिति गाउँपालिको तोकेको छ । समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहनुभएको छ । सञ्चार नीति गाउँसभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ ।

सञ्चार नीति पारित भई कार्यान्वयन आए यहाँका विशेषगरी स्थानीय सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । सञ्चारनीतिलाई प्रथामिकतामा राखेर गाउँसभाबाट पारित भएमा जिल्लाका स्थानीय सञ्चारमाध्यमको विकासका लागि निकै टेवा पुग्ने रेडियो खुला आकाश जुम्लाका स्टेशन प्रबन्धक भीम कंसिगरले जानकारी दिनुभयो ।

बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

By
Himalayan Tribune
-
June 8, 2024
0

जानकी (बाँके): बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवं उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।

उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा इन्द्रनील घोषले पाठेघरको मुख नियमितरूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताउनुभयो । पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा घोषले बताउनुभयो । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउनसके क्यान्सरको जोखिम टर्ने उहाँले बताउनुभयो । गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिनुभयो । कान्ति आरोग्य अस्पतालका डा रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गर्नुभयो ।

शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि रु एक लाख र लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक रु पाँच हजार दिने गरिएको छ । स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ ।

शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी विसीले जानकारी दिनुभयो । चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नं ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमबमोजिम वडा नं २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नं २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको छ । तीमध्ये एक जनामा पोजिटिभ देखिएको बताइएको छ ।

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

By
Himalayan Tribune
-
June 8, 2024
0

महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ ।

विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका निकायले पनि विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । टीकापुरस्थित क्याम्पस परिसरमा तीन सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको उहाँको भनाइ छ । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ । विश्वविद्यालयले वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्नेमा जोड दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताउनुभयो । “केन्द्रस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने भएकाले केन्द्रीयतहबाटै पहल हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा आएका छन् ।” विसं २०६३ देखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताउनुभयो ।

उहाँले पछिल्लो समय गृह मन्त्रालयबाट सार्वजनिक जग्गासम्बधी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेस गरेको उहाँले जानकारी दिनुभयो । “गृहको सूचनापछि हामीले पनि प्रशासनमा कागजात पेस गरे पनि सुनुवाइ भएको छैन । गृहको सूचनाका आधारमा महेन्द्रनगरलगायत सहरमा अतिक्रमण भएका जमिन खाली भइरहेको छन्”, क्याम्पस प्रमुख रावलले भन्नुभयो । उहाँका अनुसार क्याम्पस परिसरको जग्गामा करिब १५ सय परिवारले टहरा बनाएर बसेका छन् । “हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छाँै, यसमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक परिक्षण गर्न ठाउँ अभाव भइरहेको छ”, क्याम्पस प्रमुख रावलले भन्नुभयो, “विद्यार्थीको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या छ ।” उहाँले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमासमेत उल्लेख भएको बताउनुभयो । यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन।

एमालेसँग एकीकरणको सम्भावना छैन: खनाल

By
Himalayan Tribune
-
June 8, 2024
0

बारा । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग एकीकरणको कुनै सम्भावना नरहेको बताउनुभएको छ। सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा खनालले यस्तो बताउनुबहेको हो।

खनालले भन्नुभयो, “अहिले पार्टीले कसैसँग एकीकरण गर्दैन, बजारमा आएका कुराहरू बेकारको कुरा हो, अहिले पार्टी महाधिवेशनको तयारी जुटेको र महाधिवेशनले नयाँ कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ।”

नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने पनि बताउनुभयो। उहाँले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने टिप्पणी गर्नुभयो।

नेकपा (एकीकृत समाजवादी) को यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।

 

विदेशी मुद्राको आजको विनिमय दर

By
Himalayan Tribune
-
June 8, 2024
0

काठमाडौँ । आज जेठ २६ गते शनिबार, नेपाल राष्ट्र बैंकले तोकेअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरो एकको खरिद दर १४४.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.०८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 144.99 145.64
GBP  (UK Pound Sterling) 1 170.31 171.08
CHF  (Swiss Franc) 1 149.59 150.27
AUD  (Australian Dollar) 1 88.68 89.08
CAD  (Canadian Dollar) 1 97.28 97.72
SGD  (Singapore Dollar) 1 98.97 99.41
JPY  (Japanese Yen) 10 8.56 8.60
CNY  (Chinese Yuan) 1 18.38 18.46
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.50 36.67
THB  (Thai Baht) 1 3.65 3.66
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.37 28.50
KRW  (South Korean Won) 100 9.73 9.78
SEK  (Swedish Kroner) 1 12.82 12.88
DKK  (Danish Kroner) 1 19.43 19.52
HKD  (Hong Kong Dollar) 1 17.05 17.12
KWD  (Kuwaity Dinar) 1 434.57 436.53
BHD  (Bahrain Dinar) 1 353.10 354.69
1...779780781...1,301Page 780 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune