Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 771

विश्वकप क्रिकेटः बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

By
Himalayan Tribune
-
June 14, 2024
0

काठमाडौँ आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।

बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए । यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

By
Himalayan Tribune
-
June 14, 2024
0

फुङ्लिङ (ताप्लेजुङ): जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

By
Himalayan Tribune
-
June 14, 2024
0

दमौली (तनहुँ): तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो ।

व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलाई जोड्नेछ ।

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

By
Himalayan Tribune
-
June 14, 2024
0
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको विशेष बुलेटिनमा जनाइएको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, ) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

खोटाङको बाक्सिलामा हरेक शनिबार श्रमदान

By
Himalayan Tribune
-
June 13, 2024
0

खोटाङ: केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका स्थानीयबासी आफ्नो गाउँको सडक आफै मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न स्थानीयबासीले प्रत्येक हप्ताको शनिबार श्रमदान अभियान सुरु गरेका हुन् ।

गत चैतको अन्तिम शनिबारदेखि सुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयबासी स्वतःस्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियानअन्तर्गत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन हुने गरेको छ । श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब चार सय स्थानीयबासी सहभागी भइसकेको श्रमदान अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिनुभयो । “गाउँटोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ ।

सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान÷ल्याउन र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “गाउँको सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा सुरु गरिएको यो अभियान निरन्तर चलिरहेको छ ।” श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरिरहेका छन् । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीका सिलसिलामा विभिन्न ठाउँमा पुगेका स्थानीयबासीले रु एक लाख १२ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिनुभयो । सङ्कलित सहयोग रकम श्रमदान अभियानमा सहभागीका लागि खाजा शीर्षकमा खर्च गर्ने गरिएको छ । बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुइँ ढलानबाट सुरु गरिएको श्रमदान अभियानअन्तर्गत एक सय ३४ मिटर सडक सोलिङ गरिएको छ ।

दशकते-रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा १० मिटर सोलिङ गरिएको संयोजक राईले बताउनुभयो । ‘आफ्नो गाउँ, आफँै बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी बताउनुभयो । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने काम आफैँ गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना काम राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई सफाइ

By
Himalayan Tribune
-
June 13, 2024
0

काठमाडौँ: भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आज उक्त उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाइ दिने निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा रु २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो । सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो ।

उपभोक्तालाई मौरीसहितको घार वितरण

By
Himalayan Tribune
-
June 13, 2024
0

खोटाङ: डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रम अन्तरगत जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक किसान समूहमा आवद्ध १७ घर स्थानीय उपभोक्तालाई डिभिजन वन कार्यालयले एक/एक घार मौरीसहितको तथा चार/चार वटा खाली घार उपलब्ध गराएको हो । जालपाका स्थानीय उपभोक्तालाई मौरी पालनसम्बनधी पाँच दिने तालिमसमेत दिएर मौरीसहितको एक÷एकवटा तथा खाली चार/चार वटा घार निःशुल्क उपलब्ध गराइएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । “मौरी पालनका लागि विषादिरहित ठाउँ आवश्यक पर्छ । जालपा अर्गानिक भिलेज हो ।

नगरपालिकाले पनि जालपालाई मौरी पालनका लागि पकेट क्षेत्र घोषणा गरेको रहेछ”, उहाँले भन्नुभयो, “जालपा अर्गानिक भिलेज भएकाले मौरीपालन व्यवसाय प्रभावकारी हुने हाम्रो ठहर छ । ” यसमा उपभोक्ताले पनि इच्छाशक्ति देखाएका छन् ।”जालपाका स्थानीय उपभोक्ताका लागि झापाको बिर्तामोडबाट प्रति घार सेरेना जातको मौरीसहितको रु दश हजारका दरले खरिद तथा ढुवानी गरेर बुधबार वितरण गरिएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ । खाली घार प्रतिगोटा रु पाँच हजार १०० का दरले खरिद गरेर १७ घर स्थानीय उपभोक्तालाई चार÷चार घारका दरले निःशुल्क उपलब्ध गराइएको जनाइएको छ ।

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले निःशुल्क उपलब्ध गराएको मौरीसहितको घार तथा तालिमले आफूहरु उत्साहित भएको मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादन किसान समूहका सचिव बमबहादुर राईले बताउनुभएको छ । “हामीले यसअघिदेखि नै व्यावसायिक मौरीपालन गरिरहेका थियौँ । डिभिजन वन कार्यालयले हाम्रो व्यवसायलाई सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “जालपामा विषादी प्रयोग गर्न पाइँदैन । यसले हामी मौरीपालक किसानलाई सहयोग पुगेको छ ।” डिसिआरएलसँगको सहकार्यमा यसवर्ष वनमा आधारित उद्यम प्रवद्र्धन कार्यक्रमअन्तरगत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिने डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

तीन वटै शीर्षकका योजनाका लागि प्रति योजना रु पाँच लाख ६३ हजारका दरले उपभोक्तालाई बजेट उपलब्ध गराइने डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ । डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यसवर्ष जिल्लाका विभिन्न दशवटा सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरिरहेको छ । जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिने रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुने डिभिजन प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

आगलागीपीडितलाई राहत उपलब्ध गराउन माग

By
Himalayan Tribune
-
June 13, 2024
0

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेसका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको सुरुमा उहाँले आगजनी प्रभावितलाई राहत उपलब्ध गराउन गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न, यथेष्ट बजेटको प्रबन्ध गर्न माग गर्दै सुरक्षाकर्मीले स्रोत तथा साधनको अभावमा पनि उद्धार तथा राहतमा परिचालित भएकामा धन्यवाद दिनुभयो । सांसद भट्टराईले विपद्को पूर्वतयारी जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुरुप हुन नसकेको भन्दै तत्काल प्रभावकारी प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

उहाँले जलवायु कोषको रकम प्राप्तिका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीबिना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गर्नुभयो । उहाँले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गर्नुभयो ।

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

By
Himalayan Tribune
-
June 13, 2024
0

वीरगञ्ज (पर्सा): अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताउनुभयो ।

महानगरका विद्यालयलाई बिहान १०ः३० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिएको थियो तर उक्त समयमा कक्षा सञ्चालन गर्दा पनि कक्षामा विद्यार्थी मुर्छित भएपछि थप तीन दिन गर्मी बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गतेको बैठकले जेठ १६ गतेदेखि १८ गतेसम्म गर्मीबिदा दिएको थियो । महानगरमा ९२ वटा सामुदासियक र एक सय ३८ निजी विद्यालय सञ्चालित छन् ।

यहाँ सामुदायिकतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ । बुधबार वीरगञ्जको अधिकतम तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको थियोभने अहिले यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले गत मङ्गलबार विशेष बुलेटिन निकालेर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको थियो ।

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

By
Himalayan Tribune
-
June 13, 2024
0

गण्डकी: गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, आषधिजन्य प्रयोगका निम्ति गाँजा, अकबरे खुर्सानी, टिमुर उत्पादनलाई प्रोत्साहन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रमअनुसार तुलनात्मक लाभ र उच्च मूल्य हुने अलैँची, तुलसीपत्र, अदुवा, बेसार, चिया, कफी, मह, छाला, पस्मिनाजस्ता निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण प्रवद्र्धन कार्यक्रमलाई विस्तार गरिने छ । कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहुसरोकारवालासँग समन्वय गरिने छ । यसैगरी, औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिने छ ।

उच्च पहाडी क्षेत्रमा स्याउ, ओखर र खुर्पानीलगायत अन्य सम्भावनायुक्त शीतोष्ण फलफूल बालीको बगैँचा स्थापना तथा विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आँप, लिची र केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न नयाँ बगैँचा स्थापना र पुराना बगैँचाको सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले किवी, एभोकाडो, सिउँडी फल (ड्रागन फ्रुट), मेकाडेमिया नट जस्ता फलफूलको सम्भाव्यताको आधारमा क्षेत्र विस्तार गरिने योजना प्रदेश सरकारले तर्जुमा गरेको छ ।

कृषकको आयआर्जन र जीविकोपार्जनमा सुधार ल्याउन गण्डकी प्रदेशका ३४ वटा स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन गरिने तथा माटो परीक्षण तथा मलको गुणस्तर नियमनसम्बन्धी कार्यक्रमलाई सघन तुल्याउन ‘मोबाइल माटो अस्पताल’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

1...770771772...1,302Page 771 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune