Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 767

कसले सुन्ला चुरेका कुरा ?

By
Himalayan Tribune
-
June 16, 2024
0

काठमाडौँ: मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बस्नुभएको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उहाँहरुमा । अब कसले सुन्छ ? भन्ने पनि उहाँहरुको गुनासो छ । चुरेबासीको ‘चुरे बचाऊ : पानी दिलाउ’ सरकार भन्दै थालिएको आन्दोलन सरकारका आँखाले देख्नै नसकेको गुनासोसहित नारा जुलुसमा हुनुहन्छ उहाँहरु ।

यता आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको नेतृत्वको टोली १०औँ चुरे दिवस मनाउन सिराहा जिल्ला जाँदै छ । मधेश प्रदेशका आठै जिल्लाका चुरे बासिन्दा भने राजधानीमै चुरे बचाउको गुहार माग्दै छन् । रित्तो भाँडा अगाडि राखेर चुरेवासीहरु भन्दैछन्, “पानी खै ? हामीलाई पानी देउ सरकार ।”

चर्को घामको कुनै प्रवाह नगरी माइतीघरसम्म धर्नामा आउन उहाँहरुलाई बाँकी २५ दिन लाग्यो । चुरेबासीहरु चुरे बचाऊ: पानी दिलाऊ सरकार भन्दै चुरेका कुरा राजधानीमा रहेको सरकारलाई सुनाउन घरबाट निस्केको भने ५० दिन पुगिसक्यो । अझै माग सुनुवाइ नभएको उहाँहरुको भनाइ छ । चुरे दिवसले उहाँहरुमा उत्साह पनि देखिएन । “५० दिन भइसक्यो, चुरे बचाऊ: पानी देउ सरकार भन्दै हामी आन्दोलनमा छौँ”, चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादव भन्नुहुन्छ, “हामी त सरकारलाई झक्झकाउन सरकारको गेट नजिकै आएका थियौँ, तर सरकारले हाम्रो आन्दोलन नदेखे झैँ गरेको छ ।”

चुरेको अत्यधिक दोहनका कारण खानेपानीको मुल सुक्ने, सतहमुनिको पानी सुक्ने, पहिरो तथा भू–क्षयको त्रास बढिरहेको यादव सुनाउनुहुन्छ । “चुरेका कुरा कोहीले नसुनेर हामी नै चुरेका कुरा सुनाउन राजधानी आएका थियौँ,” उहाँ भन्नुहुन्छ “हाम्रा कुरा सुन्न आजसम्म न सरकारको प्रतिनिधि आए न त राजनीतिक दलका प्रतिनिधि नै । हाम्रो त भोट मात्रै काम लाग्ने रहेछ ।” यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलनरत रहने बताउनुभयो । “जबसम्म चुरेका अवैध उत्खनन् रोकिँदैन तबसम्म चुरे दिवसको मनाएर के गर्ने ? हामीमा उत्साह नै छैन,” उहाँ भन्नुहुन्छ ।

उहाँलाई मात्रै होइन, चुरे दिवसको उत्साह छैन, माइतीघर मण्डलामै आन्दोलनरत सुनिता यादवलाई पनि । “यो चुरे दिवस पोहोरपरार पनि मनाएकै हो क्यारे, तर के उपलब्धि भयो खै ?” उहाँ भन्नुहुन्छ, “चुरे विनाशले चापाकल, पोखरी सुक्दा पानीका लागि टाढा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यताले आजित भएर नै हामी घाम र गर्मीको प्रवाह नगरी माइतीघरमा धर्नामा बस्न बाध्य छौँ तर कसैले हाम्रो कुरै सुन्दैन ।” उहाँले चुरे दोहन र वन विनासका कारण पानीको स्रोत सुक्दै गएको चुरेवासीहरु पानीको सङ्कटबाट गुज्रिनुपरेको भन्दै चुरे संरक्षण र खानेपानीको उपलब्धताका माग गर्दै धर्ना दिइएको जानकारी दिनुभयो ।

चुरे क्षेत्र संरक्षणको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले पनि चुरेको बढ्दो विनासका कारण खानेपानी सुक्ने तथा प्राकृतिक विपद्को जोखिम बढिरहेको बताउनुभयो । “खानेपानीको स्रोत बचाउन र जमिनमुनिको पानी संरक्षणका लागि पाखरीहरु निर्माण गर्ने योजना बनाएका छौँ,” उहाँ भन्नुहुन्छ, “पहिरो तथा भू—क्षय नियन्त्रण गर्नका लागि चुरेमा बाँस रोप्न आवश्यक लगानीका लागि वैदेशिक दाताहरुसँग अनुरोध गरिरहेका छौँ ।”

समितिका अध्यक्ष डा. किरण पौडेलका अनुसार चुरे आसपासका ३० हजार घर प्राकृतिक विपत्तीको उच्च जोखिममा रहेका छन् । “समितिले गरेको अध्यायनअनुसार हालसम्म चुरे क्षेत्रका ३० हजार घर विशेषगरी पहिरोको उच्च जोखिममा रहेका छन्,” उहाँले भन्नुभयो, “ती घरहरु अन्यत्र स्तानान्तरण गर्न नसके ठूलो धनजनको क्षति हुने सम्भावना छ, वस्ती स्तान्तरणका लागि बजेट र अन्तरसरकारी निकायहरुबीचको समन्वय आवश्यक पर्छ ।

बजेट कम हुँदा गुरुयोजना कार्यन्वयनमा समस्या

समितिका अध्यक्ष पौडेलका अनुसार आवश्यकता अनुसारको बजेट विनियोजन नहुँदा चुरे क्षेत्रको २० वर्षे गुरुयोजना कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ । चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाले तोकेको कार्यक्रम र त्यसमा लाग्ने लागतको विपरीत हरेक वर्ष विनियोजन हुने बजेटले गुरुयोजना कार्यान्वयनमा चुनौती देखिएको उहाँको भनाइ छ । चुरेको गुरुयोजनाले तोकेको कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी अभाव, जनशक्तिको अभाव, तल्लो तहसम्म संरचनागत विकास नहुँदा गुरुयोजना कार्यान्वयनमा चुनौती थपिदै गएको थप चुनौती उत्पन्न भएको पौडेलले जानकारी दिनुभयो ।

गुरुयोजनाले बर्सेनि नौ अर्बभन्दा बढी लागत आवश्यक पर्नेमा वार्षिक एक अर्ब हाराहारीमा मात्रै बजेट विनियोजन हुँदा समस्या थपिएको उहाँको भनाइ छ । पौडेलका अनुसार चुरेको गुरुयोजना स्वीकृत भएको पहिलो पाँच वर्षको अवधिलाई मूल्याङ्कन गर्दा अनुमानित लागत भन्दा झन्डै आठ गुणा नै कम बजेट विनियोजन भएको देखिन्छ । “गुरुयोजनाको २० वर्षको अवधिमा २०७२ सालको मूल्यमा रु. दुई खर्ब ४९ अर्ब ७० करोड एक लाख ९६ हजार लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

गुरुयोजना तर्जुमा गरेको (२०७२) पहिलो पाँच वर्षको लागि अनुमानित लागतमध्ये पहिलो वर्ष रु. नौ अर्ब ८७ करोड , दोस्रो वर्ष रु. १८ अर्ब २४ करोड, तेस्रो वर्ष रु. २१ अर्ब २० करोड, चौथो वर्ष रु. १८ अर्ब ४८ करोड र पाँचौं वर्ष रु १३ अर्ब पाँच करोड ३६ लाख ९६ हजार लगानी आवश्यक पर्ने अनुमान छ । तर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा चुरे क्षेत्रका लागि एक अर्ब पाँच करोड रुपैयाँ बजेट रहेको छ । चुरेमा अव्यवथित तरिकाले निर्माण हुने भौतिक पूर्वाधार, चुरेको अत्याधिक दोहन, समन्वयको अभाव, राजनीतिक दलको कम चासो, अप्रयाप्त बजेटलगायतका चुरे क्षेत्रको संरक्षणका मुख्य चुनौतीहरु रहेका छन् ।

के हो चुरे ?

समितिका अनुसार हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तरतिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारतबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराई आउनुअघिको अन्तिम पर्वतीय क्षेत्र नै चुरे हो । चुरेलाई चुरिया वा शिवालिक पर्वत पनि भनिन्छ । खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको चुरे क्षेत्रको भू–भाग नेपालको पुर्व–पश्चिम फैलिएको छ । पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भू–भाग ओगटेको छ । नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३७ जिल्लाका भू–भागलाई छोएको छ ।

भूगोलविद्हरूको अध्ययनअनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा गेग्रान थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो । उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराईतिर बग्छन् । त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुङ्गा, गिटी, बालुवा र कङ्कडले बनेको भावरको समथर भू–भाग छ । यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ । नेपालको चुरे क्षेत्रले जम्मा जङ्गलको ७३ प्रतिशत भू–भाग ओगटेको छ ।

करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो र कमजोर पहाड श्रृङ्खलाला नै चुरे हो । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरेलाई लिइन्छ । सबैभन्दा कान्छो पहाडको रुपमा परिचित चुरेको भू–बनावट निकै कमजोर छ । पछिल्लो समय चुरे दोहनका कारण त्यस क्षेत्रमा हुने आर्थिक सामाजिक, भौगालिक, प्राकृतिक तथा मानवीय क्षतिको विषयमा सरोकारवालाहरु गम्भीर बनेका छन् ।

विज्ञका अनुसार चुरेको विनाश थालिएको ६० वर्ष भयो । विसं २०११ सालको विनाशकारी बाढीपहिरोपछि पहाडका मानिस चुरे आसपासमा झरेर वसोवास गर्न थालेको र त्यसपछि चुरे क्षेत्रको वन विनाश हुन थालेको समितिको भनाइ छ । २०१३ सालमा अमेरिकी सहयोग नियोगको सहयोगमा नेपालमा औलो उन्मूलन अभियान सुरु भयो । त्यसपछि पहाडबाट तराई झर्ने क्रम तीव्र भयो । त्यसको प्रत्यक्ष असर चुरे पर्वत शृङ्खलामा पर्न गएको देखिन्छ । विसं २०१८ पछि राजा महेन्द्रले नेपाली कांग्रेसले सुरु गरेको प्रजातन्त्र पुनर्बहाली आन्दोलन कमजोर पार्न पहाडका भूतपूर्व सैनिकलाई तराईको वनजङ्गल फँडानी गरी पूर्वका उदयपुर, झापा, मोरङ र सुनसरीका ‘झोरा’ मा बसोबास गराउन थालेका थिए । वीरेन्द्र राजा भएपछि मात्र यो क्रम रोकिएको हो ।

चुरे विनाशका कारण चुरे क्षेत्रको अस्तित्व नै समाप्त हुने खतारा बढ्न थालेपछि नेपाल सरकार, अन्य सरोकोरवाला निकायहरु ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने नाराका साथ चुरे संरक्षणमा लागि परेका छन् । कमजोर र निकै संवेदनशील भौगिलिक क्षेत्रमा रुपमा चिनिने चुरे क्षेत्रको विनासले त्यस क्षेत्रको प्राकृतिक विनास बढ्दै गइरहेको भन्दै सरोकारवाला निकायहरुले संरक्षणका लागि दबाब दिदै आइरहेका छन् ।

सरकारले ल्यायो चुरे संरक्षण कार्यक्रम 

चुरे क्षेत्रमा भइरहेको वातावरणीय विनास र त्यस क्षेत्रमा परेको नकरात्मक असरलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भू–संरक्षण मन्त्रालयको मातहतमा आर्थिक वर्ष २०६७/६८ देखि नै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भयो । यस कार्यक्रमलाई अझै प्रथामिकता दिदै थप प्रभावकारिता बनाउन वातावरण संरक्षण क्षेत्र घोषणा गर्दै २०७२ असार २ गतेदेखि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन भएको हो । समिति गठनसँगै चुरे संरक्षणको कार्यक्रमको प्रभावकारिता तथा प्रचारप्रसार बढ्न थालेको छ । सर्वसाधारणहरु पनि चुरे संरक्षण गर्नुपर्छ भन्ने मानसिकता विकास गर्न थालेका छन् ।

चुरे संरक्षणलाई प्रभावकारी बनाउँदै चुरेलाई पुरानै अवस्थामा फर्काउनका लागि चुरेको संरक्षणका भावी र दिगो योजना सहित सरकारले चुरे क्षेत्रको २० वर्षे गुरुयोजना समेत तयार गरिएको हो । देशको ५१ प्रतिशत जनसङ्ख्या रहेको चुरे क्षेत्रको दिगो विकास तथा संरक्षणका कार्यक्रम चुरे संरक्षणका लागि अपरिहार्य रहेको बताउहुहुन्छ, चुरेविद् विनाद भट्ट । चुरेको गुरुयोजनाले तोकेअनुसारको लक्ष्य प्राप्ति नभएको भन्दै उहाँले चुरे क्षेत्रको संरक्षणमा सबै तहको समन्वयकारी भूमिका आवश्यक रहेको समेत उहाँले औँल्याउनुभयो ।

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’

By
Himalayan Tribune
-
June 16, 2024
0

अत्तरिया (कैलाली): सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख छ । स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने अभियानका लागि रु दुई करोड बजेट विनियोजन गरिएको मन्त्री पालले बताउनुभयो । प्रदेशभित्रका १० हजार किशोरकिशोरीलाई यौनजन्य हिंसा र बालविवाहविरुद्ध अभिमुखीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

विशेष संरक्षणको आवश्यकता भएका हिंसा तथा जोखिममा परेका बालबालिकाका लागि ‘प्रदेश बाल कोष’ स्थापना गरिने उहाँको भनाइ छ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र दुव्र्यवहार अन्त्यका लागि संरक्षणात्मक र निरोधात्मक उपाय अवलम्बन गरिने बजेटमा उल्लेख गरिएको छ । लैङ्गिक हिंसा निवारण लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि सुरक्षा निकायसँगको साझेदारीमा सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महिलालाई उद्यम र रोजगारीतर्फ प्रोत्साहन गर्न ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पालले बजेट भाषणमार्फत बताउनुभएको छ ।

दलित अधिकार दशक घोषणा विसं २०८१ देखि विसं २०९० सम्मलाई दलित अधिकार दशक घोषणा गरी दलितहरुको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने बजेटमा उल्लेख छ । ‘दलित विकास समिति’ गठन गरी दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकीकरण गर्न ‘टीकाराम पार्की दलित विकास सशक्तीकरण कार्यक्रम’ सञ्चालन गरिने तथा सो कार्यक्रम सञ्चालनका लागि प्रदेशका नौवटै सामाजिक विकास कार्यालयमा आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री पालले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजारको बजेट ल्याएको छ । सरकारले बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ ।

कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र

By
Himalayan Tribune
-
June 16, 2024
0

कर्णाली: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ ।

कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालुतर्फ ४९ दशमलव ३८ र पुँजीगततर्फ २९ दशमलव ८७ प्रतिशत गरी समग्रमा ३७ दशमलव ९३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । चालु आवका लागि प्रदेश सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बराबरको बजेट विनियोजन गरेको थियो ।

चालुतर्फ रु नौ अर्ब २० लाख २४ हजार (२६ दशमलव ९७ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार (५८ दशमलव ६५ प्रतिशत) बजेट विनियोजन गरिएको थियो । त्यस्तै, चालु आवको जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४ दशमलव १० प्रतिशत आन्तरिक राजस्व स¬ङ्कलन भएको बजेटमा उल्लेख छ ।

प्रदेश स्थापनादेखि आव २०७९/८० सम्मको आन्तरिक राजस्व रु दुई अर्ब २४ करोड १३ लाख ६३ हजार छ जुन कुल राजस्व लक्ष्यको ९४ दशमलव आठ प्रतिशत हो । चालु आवमा जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत भए पनि असार मसान्तसम्म विनियोजित बजेटमा रु २४ अर्ब ४१ करोड ८५ लाख अर्थात् ७३ दशमलव १५ प्रतिशत खर्च हुने अनुमान प्रदेश सरकारले गरेको छ ।

आर्थिकमन्त्री केसीका अनुसार कर्णाली प्रदेशको विगत छ वर्षको कुल बजेट रु एक खर्च ६६ अर्ब ५६ करोडमा चालुतर्फ ३७ दशमलव ४६ र पुँजीगततर्फ ६२ दशमलव ५४ प्रतिशत विनियोजन भएको पाइन्छ । विनियोजित बजेटमा चालुतर्फ ६२ दशमलव ७१ र पुँजीगततर्फ ५५ दशमलव ०१ प्रतिशत गरी समग्रमा ५७ दशमलव ९० प्रतिशत बजेट खर्च भएकोछ । उहाँले भन्नुभयो, “यसरी बजेट कम खर्च हुनुमा कर्णालीको भूगोल, जनशक्ति अभाव त छँदैछ । पछिल्लो समयमा ठूला परियोजना विकास गर्ने तर ढाँचा र आवश्यक तयारी नगर्नुले पनि बजेट कम खर्च हुने गरेको छ ।”

सङ्घीय सरकारबाट आव २०७५/७६ देखि २०७९/८० सम्म सुरु बजेटमा सशर्त, समपूरक र विशेष अनुदानमा कुल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सम्बन्धित आर्थिक वर्षभित्र खर्च हुन नसकी जम्मा रु सात अर्ब ७८ करोड (२७ दशमलव ३२ प्रतिशत) सङ्घीय सरकारकै कोषमा फिर्ता भएको थियो ।

केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने

By
Himalayan Tribune
-
June 16, 2024
0
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ । तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरेको थियो । केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा कलस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने छ ।
बैठकले केन्द्रीय तहका नेताको व्यवस्थापनमा आएको समस्या समाधान गर्न उनीहरुलाई स्वतः प्रतिनिधि छनोट गर्न लागिएको विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । एक सय २५ जना कार्यकर्ता बराबर एकजना प्रतिनिधि छनोट गरिने छभने दलित, युवा, महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । नयाँ नेतृत्व चयन गर्ने पार्टीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म हुँदैछ ।

दूध मात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

By
Himalayan Tribune
-
June 16, 2024
0

गलकोट (बागलुङ): जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूध मात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् ।

विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।

बसाइँसराइले उजाड बन्दै गएको टाकुरीगाउँ र जैमिनी नगरपालिका–१ को टुनिबोटलगायत क्षेत्रका एक सय २० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका उनीहरू घाँस पनि बेच्न थालेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रूपमा विकास गरेको छ । सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध बेच्दै आएको छ ।

कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चारवटा सङ्कलन केन्द्र रहेका राससलाई बताउनुभयो । उहाँले सहकारीमा आबद्ध किसानलाई घाँसखेतीका निम्ति अभिप्रेरित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २५ शेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध सङ्कलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन् ।”

सहकारीमार्फत किसानले वार्षिक रूपमा दूधमा अनुदानमात्रै रु पाँच लाख बुझ्दै आएका छन् । चालु आवमा सहकारीमार्फत एक लाख ८२ हजार लिटर दूध बिक्री भइसकेको छ भने किसानले दूधमार्फत रु एक करोड १८ लाख ३० हजारभन्दा बढी र भित्र्याएका छन् । सहकारीले किसानको दूध सङ्कलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ । सहकारीले प्रतिलिटर रु ६५ मा सङ्कलन गरेर रु ७५ मा बेच्दै आएको छ । बागलुङ बजारमा प्रतिलिटर दूधको मूल्य रु एक सय २० कायम भएको छ । ढुवानी र प्रशोधन खर्च जोडेर सहकारीले दूध बेच्ने गरेको छ ।

बाँदर आतङ्कबाट पीडित यहाँका किसानले अन्नबाली लगाउन छाडेर घाँस लगाउन थालेपछि घाँस पजि बेच्न थालेका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताउनुभयो । “सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसानले यस वर्ष ४० क्विन्टल घाँस बेचेका छन् । हाल भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिरोपनी घाँसमा रु तीन हजरका दरले अनुदान दिँदै आएको छ भने दूधमा प्रतिलिटर दुई रुपैया ५० पैसा अनुदान दिँदै आएको छ”, दुग्ध किसान शर्माले भन्नुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँसखेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिएकाले किसान उत्साहित भएका केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दूधमा अनुदान पाउन संस्थागत अथवा व्यक्तिगत दैनिक दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुनुपर्ने नियम बनाइएको उहाँले जानकारी दिनुभयो । टुनीबोट, तल्लो टुनिबोट, टाकुरी र कुश्मिसेरालगायत स्थानबाट किसानले दूध सहकारीमार्फत दूध बेच्दै आएका छन् ।

कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

By
Himalayan Tribune
-
June 16, 2024
0

काँक्रेविहार (सुर्खेत): कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ रु १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार, चालुतर्फ रु सात अर्ब ५७ करोड ५५ लाख वित्तीय व्यवस्थापनतर्फ रु २५ करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा रु चार अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

प्रस्तुत बजेट चालु आवको भन्दा रु दुई अर्बले कम हो । चालु आवका लागि रु ३३ अर्बको बजेट पेस भएको थियो । अर्थमन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताउनुभयो । साथै बजेट सात उद्देश्य, सात प्राथमिकता र सात रणनीतिक क्षेत्र निर्धारण गरी ल्याइएको उहाँले बताउनुभयो । प्रदेशको गरिबी घटाउन बजेटले ध्यान दिइएको उहाँले बताउनुभयो । बजेट भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइएको छ ।

केही पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । विगतदेखि नै सञ्चालनमा रहेको मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि रु एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । ‘गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी’ कार्यक्रमबाट १६ हजार बेरोजगारलाई आंशिक रोजगारी प्रदान गर्ने लक्ष्य छ । चालु आवको तुलनामा कृषि मन्त्रालयलाइ कम बजेट विनियोजना भएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि रु एक अर्ब ८६ करोड विनियोजन गरिएको छ ।

उद्यमशीलतासम्बन्धी कार्यक्रम विगतभन्दा केही सुधार गरेर भएका छन्भने दलित आयआर्जन कार्यक्रमका लागि रु पाँच करोड विनियोजन भएको छ । बजेटमा निजी क्षेत्रसँगको सहकार्यमा वीरेन्द्रनगरका उत्तरी क्षेत्रलाई ‘हिलस्टेशन’का रूपमा विकास गरी ‘हाइकिङ’ क्षेत्रका रूपमा विकास गरिने नयाँ योजना समावेश गरिएको छ । रारा, काँक्रेविहार, बुलबुले उद्यान र स्यापुताललगायत पर्यटकीयस्थलको गुरुयोजना कार्यान्वयन गर्न रु १४ करोड विनियोजन गरिएको छ । कर्णालीलाई जडीबुटीको केन्द्रका रूपमा विकास गर्न केही रकम छुट्याइएको छभने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि रु एक अर्ब ९४ करोड विनियोजन गरिएको छ । अन्तर प्रदेश सडक निर्माण गर्न रु ३९ करोड बजेट विनियोजन गरिएको छ । अहिलेसम्म स्थानीय तहको केन्द्रसम्म सडक नपुगेका पालिकाका केन्द्रमा सडक सञ्जाल जोडिने महात्वाकाङ्क्षी योजना बजेटमा समेटिएका छन् । सडक र पुल निर्माण गर्न रु ६८ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा डोल्पाको रिग्मो बस्ती विकासका लागि रु ८६ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम विगतदेखिकै निरन्तरता हो ।

विपन्नका घर निर्माणलाई निरन्तरता दिइएको छभने जनता आवास कार्यक्रमलाई पनि समावेश गरिएको छ । सुरक्षित बस्ती निर्माणकोलाई पनि यथावत राखिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आवका लागि रु १० अर्ब ४६ करोड विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लडबैंक स्थापना गरिनेदेखि सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पोषण भत्ता उपलब्ध गराइनेलगायत कार्यक्रम बजेटमा छन् । स्वास्थ्यतर्फ पनि धेरैजसो विगतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । ‘कर्णाली स्वास्थ्य नागरिक अभियान’ कार्यक्रमका लागि रु आठ करोड रकम विनियोजन गरिएको छ ।

आगामी आवमा तीन सय ७० वटा विद्यालयको भौतिक सुधारका लागि रु एक अर्ब १० करोड रकम विनियोजन गरिएको छभने भूकम्पबाट भत्किएका शिक्षण संस्था निर्माण गर्न रु ५० करोड छुट्याइएको छ । शिक्षासम्बन्धी यसअघिको नीति तथा कार्यक्रममा समाविष्ट अधिकांश नारा र कार्यक्रमलाई यो बजेटमा पनि निरन्तरता दिइएको छ । बजेट वक्तव्यअुनसार कर्णाली प्रदेशको भाषा, साहित्य संरक्षणका लागि ऐन निर्माण तथा कला, संस्कृतिको संरक्षणमा जोड दिइएको छ । सामाजिक विकास मन्त्रालयका लागि रु पाँच अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलविद्युत् क्षेत्रमा ‘कर्णालीको पानी, जनताको लगानी’ नाराका साथ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि रु दुई अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ । विपद् व्यवस्थापनको क्षेत्रमा पनि केही कार्यक्रम समेटिएका छन् । विपद् व्यवस्थापन कोष र घर बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी वर्षका लागि रु २९ करोड ६४ लाख विनियोजन गरिएको छ ।

जुन विगतभन्दा कम हो । बजेट वक्तव्यमा गाई, भैँसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न दूध उत्पादन तथा बिक्रीवितरणका आधारमा साविकको कर्णालीका किसानलाई प्रतिलिटर दूधमा रु १० र जाजरकोट, दैलेख, सल्ल्यान र सुर्खेतका किसानलाई प्रतिलिटर रु पाँच उत्पादनका आधारमा प्रदान गरिने अनुदानको व्यवस्थालाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले निर्माण गरेका शीतभण्डार, सङ्कलन केन्द्र, उच्च प्राविधिका नर्सरीको स्तरोन्नति गरी सञ्चालनमा ल्याइने तथा सम्भाव्यता अध्ययनका आधारमा डोल्पालगायत हिमाली जिल्लामा अङ्गुर प्रशोधन, भेडा च्याङ्ग्राको ऊन तथा पस्मिनाबाट कपडा, गलैचा, राडीपाखी बनाउने उद्योगको विकास र बजारीकरण गरिने बजेट वक्तव्यमा उल्लेख छ । मुख्यमन्त्री डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि रु १० करोड रकम विनियोजन गरिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा हिमाली जिल्लामा आवासीय विद्यालय निर्माण गर्न रु दुई करोड ५० लाख विनियोजन भएको छ । एक जिल्ला एक उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ । मानव सेवा आश्रमको पूर्वाधार विकास निर्माणका लागि रु एक करोड रकम विनियोजन गरिएको छ । कर्णाली प्रदेशलाई भाषा, कला र संस्कृतिको अनुपम प्रदेशका रूपमा विकास गर्नका साथै बिजुली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न रु १४ करोड ७६ लाख विनियोजन गरिएको छ ।

सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्योः प्रधानमन्त्री

By
Himalayan Tribune
-
June 16, 2024
0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्नुभएको छ । सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गर्नुभएको बताउनुभयो । “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो ।

उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।” सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

By
Himalayan Tribune
-
June 16, 2024
0

दमौली (तनहुँ): भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो ।

भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् । भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गर्नुभएको हो । उहाँका अनुसार रु ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।

कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा

By
Himalayan Tribune
-
June 16, 2024
0

त्रिवेणी (नवलपरासी): बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गर्नुभएको हो ।

सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उहाँले बताउनुभयो । हाल उहाँले ५० कठ्ठामा कुरिलोखेती गर्नुभएक छ । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उहाँले भन्नुभयो । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उहाँले बताउनुभयो । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताउनुभयो । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उहाँ बताउनुहुन्छ । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी रु तीन सय छ र थोकमा मूल्य रु दुई सय ५० छ । लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उहाँले तरकारीखेती गर्दै आउनुभएको छ ।

विगत पाँच वर्षदेखि उहाँ व्यावसायिक खेतीमा लाग्नुभएको हो । उहाँको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

By
Himalayan Tribune
-
June 16, 2024
0

म्याग्दी: जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो । हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने छ । यो बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो । यसैगरी, चालु आवमा बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु दुई करोड बजेटबाट वडा नं ६ को एक्लेपिपलबाट वडा नं ९ को किराखोरसम्म एक किलोमिटर दुई सय मिटर सडक फराकिलो, नाली निर्माण, टेवा पर्खाललगायत काम सकेर कालोपत्र र ढलानको तयारी गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटर सडक कालोपत्र र ढलान गरेर स्तरोन्नति भइसकेको छ ।

बेनी–पाखापानी सडकको तोरीपानी–पात्लेखेत–झिँ–पाखापानी खण्डको स्तरोन्नति गर्न अर्को चरणको आयोजनाका लागि बजेट व्यवस्थापनको प्रयास जारी रहेको प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । प्रदेश सरकारमार्फत म्याग्दीमा चालु आवमा सातवटा सडक र दुईवटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन रु एक अर्ब २० करोड बजेट स्रोत सुनिश्चितता भएको छ । स्रोत सुनिश्चितता भएका आठवटा आयोजना ठेक्का प्रक्रिया अघि प्रारम्भ भएको अर्का प्रदेशसभा सदस्य रेशम जुग्जालीले राससलाई बताउनुभयो ।

1...766767768...1,302Page 767 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune