Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Wednesday, May 13, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 757

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा दश कवि पुरस्कृत

By
Himalayan Tribune
-
June 23, 2024
0

काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट दश कविलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव—२०८१ म सहभागी हुनुभएका कविहरुमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट १० कविका रचना वाचनसमेत गरिएका थिए । पुरस्कृत हुनेमा बर्दियाका अग्रआवाज, मकवानपुरका अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक ‘जमरा’ घलान, सिन्धुलीका रेजिना खालिङ, ललितपुरका शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहनुभएको छ ।

प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट एक हजारभन्दा बढी कविता प्राप्त भएका थिए । तीमध्ये छ सय चार छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कवितालाई सर्वोत्कृष्ट घोषणा गरिएका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताउनुभयो ।

यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा यसपटक छनोट विधि परिवर्तन गरी १० रचना छानिएका उहाँले जानकारी दिनुभयो । “प्रतिष्ठान कवि र सर्जकको सम्मान गर्ने थलो हो, प्रतिस्पर्धामा उतार्नुहुँदैन भनेर उत्कृष्ट १० रचना छानेका हौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय कविता महोत्सव हुन सबै भाषा मातृभाषीका सर्जकको सहभागिता हुन जरुरी रहेको निष्कर्षसहित हामीले बहुभाषिक रचनामा जोड दिएका छौँ ।”

विसं २०१४ मा स्थापना भएको प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ । अहिले यही प्रतियोगिताको नाम परिवर्तन गरेर महोत्सव राखिएको हो । कार्यक्रममा प्रतिष्ठानका उत्कृष्ट कर्मचारी सरेन्द्र महर्जन, दुर्गादेवी शर्मा र कुलराम थापालाई जनही रु ५० हजार राखिसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

विदेशबाट फर्किएकालाई लक्षित गरी ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारी छः श्रममन्त्री अर्याल

By
Himalayan Tribune
-
June 23, 2024
0

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको छ ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको आज प्रतिनिधिसभा बैठकमा जवाफ दिनुहुँदै श्रममन्त्री अर्यालले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यही काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दावी गर्नुभयो । “स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रमजस्ता विविध कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएका छन्”, श्रममन्त्री अर्यालले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने गरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दै उद्यमशीलता प्रवद्र्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्नको लागि वैदेशिक रोजगारीवाट फर्किएका श्रमिकको पुनःएकीकरण परियोजना कोशी प्रदेश र मधेश प्रदेशका २० वटा स्थानीय तहमा कार्यान्वयन भइरहेको उहाँले श्रममन्त्री अर्यालको भनाइ छ । श्रम स्वीकृतिको लागि निर्णयको तह घटाई दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उहाँले संसद्मा जानकारी गराउनुभयो ।

आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको उहाँको भनाइ छ । नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने उद्देश्यका साथ तीन वटै तहका सरकार एवम् निजी क्षेत्र र सरोकारवालाको सहभागितामा श्रमाधान रोजगार मेलाको पहिलो चरण सातै वटा प्रदेशमा सम्पन्न भएको श्रममन्त्री अर्यालले जानकारी दिनुभयो ।

श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी विभिन्न कार्यविधि तथा निर्णयको खारेजी, स्थगन र परिमार्जन गरिएको उहाँको भनाइ छ । सीप विकास, उद्यमशीलता, आप्रवासन सेवा, रोजगार सेवालगायत सबै प्रकारका श्रम तथा रोजगार सेवा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट एकद्वार र एकीकृतरुपमा प्रदान गर्नेगरी कानुन निर्माण भएको अर्यालले बताउनुभयो । एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृत गरी स्थानीय तहबाट नै श्रम र रोजगारसम्बन्धी सेवा एकीकृतरुपमा प्रवाह भइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ४५ हजार पाँच सय ६३ जनाले औसत ७७ दिनको रोजगारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सीप विकास र उद्यमशीलतासँग आवद्ध गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र रोजगारी खोजिरहेका श्रमिकबीच तादाम्यता कायम गर्न रोजगार बैङ्कका रुपमा काम गर्न राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको पनि श्रममन्त्री अर्यालले जानकारी दिनुभयो । वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श प्रदान गर्ने कार्यलाई आगामी आर्थिक वर्षदेखि सबै जिल्ला र स्थानिय तहमा विस्तार गर्ने योजना सरकारको छ । साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनःश्रम स्वीकृतिसम्बन्धी सहजीकरण सेवा सबै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् हुने व्यवस्था गरिएको श्रममन्त्री अर्यालले बताउनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुने मृतकका परिवारलाई दिइने क्षतिपूर्तिबापतको रकम सात लाखबाट बढाई दश लाख हुने गरी प्रस्ताव गरिएको छ । अङ्गभङ्ग वा मृत्य्ु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता तथा छात्रवृत्तिसम्बन्धी सेवालाई समेत अनलाईनमार्फत् प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीको सन्दर्भमा हुने ठगीलगायतका गुनासा र श्रमाधान कल सेन्टरमा प्राप्त भएका सबै प्रकारका गुनासा समयमै सम्बोधन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न चार वटा देश ओमान, कुवेत, साउदी अरब र इजरायलमा वैदेशिक रोजगार बोर्डबाट रु १५ लाखका दरले कुल रु ६० लाख उपलब्ध गराइएको श्रममन्त्री अर्यालको भनाइ छ ।

कतार, मलेसिया, युएई, साउदी अरब, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमनमा श्रम काउन्सेलर र श्रम सहचारी परिचालन गरिएको तथा सबै कुटनीतिक नियोगसँग प्रभावकारी समन्वय गरिएको उहाँले दावी गर्नुभयो । नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको श्रममन्त्री अर्यालले बताउनुभयो । जर्मनी र रोमानियासँग नयाँ श्रम सम्झौता भइसकेको र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा थप तीन देशसँग द्विपक्षीय सम्झौता गरिने उल्लेख भएकोमा सोको गृहकार्य सुरु भइसकेको उहाँले बताउनुभयो ।

आन्तरिक सीपमूलक तालिमतर्फ सबै प्रतिष्ठानबाट हालसम्म करिब दुई हजार पाँच सय जनालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्ति, स्वदेशमै स्वरोजगारमा रहेका व्यक्ति, औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक गरी हालसम्म १३ लाख ४८ हजार पाँच सय ४२ व्यक्ति योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको श्रममन्त्री अर्यालले जानकारी दिनुभयो । पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार श्रमिकको मृत्यु भएको र सो अवधिमा आठ सय ७० जना अङ्गभङ्ग भएको तथा कुल मृगौलाका बिरामीमध्ये ३० प्रतिशत खाडि मुलुकमा काम गर्ने नेपाली रहेको विषय संसद्मा उठेको थियो ।

योजना आयोगद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

By
Himalayan Tribune
-
June 23, 2024
0

काठमाडौँ राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । आज आयोगका सदस्य डा रामकुमार फुयालको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो । सुरुङमार्ग आयोजनाका निर्देशक रमेश कोइरालाले हालसम्म ७६ प्रतिशतभन्दा बढी भौतिक प्रगति र ७० प्रतिशतभन्दा बढी वित्तीय प्रगति रहेको बताउनुभयो ।

आयोजनाका लागि पछिल्लो समय १८ महिना समय थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने विश्वास कोइरालाले व्यक्त गर्नुभयो । आयोगका सदस्य डा फुयालका अनुसार आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी रहेको बताउनुभयो । “एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या देखिएको छ”, फुयालले भन्नुभयो “अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।” यी समस्या कसरी समाधान गर्ने भन्ने बारे आयोजनाले समयमै सोच्नुपर्ने उहाँको भनाइ छ ।

साथै यी समस्या समाधान गर्न सने सुरुङमार्ग निर्धारित समयभित्रै सम्पन्न हुने देखिएको डा फुयालले बताउनुभयो । अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

By
Himalayan Tribune
-
June 23, 2024
0

मकवानपुर: करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।

अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उहाँको भनाइ छ । उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रिकटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो । स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब रु १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताउनुभयो ।

उद्योगका महाप्रबन्धक पाण्डेले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताउनुभयो । “अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दिपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।” उद्योग मन्त्रालयले सरकारको तर्फबाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताउनुभयो ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटाँैडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड रकम सरकारले उपलब्ध गराएको थियो । विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्राविधिक , चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् । उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

By
Himalayan Tribune
-
June 23, 2024
0

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

By
Himalayan Tribune
-
June 23, 2024
0

तनहुँ: संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले राससलाई जानकारी दिनुभयो । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

By
Himalayan Tribune
-
June 23, 2024
0

काठमाडौँ: थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो । राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताउनुभयो ।

उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताउनुभयो । राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराउनुभयो ।

प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुभयो । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित हुनुहुन्थ्यो । थाइल्याण्डमा कार्यभार सम्हाल्नुभएका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो ।

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

By
Himalayan Tribune
-
June 23, 2024
0

लमजुङ: गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताउनुभयो । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

करण परियार बने पाँचौ ‘नेपाल आइडल’

By
Himalayan Tribune
-
June 23, 2024
0
काठमाडौँ: प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।
विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गर्नुभयो ।
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक हुनुहुन्थ्यो ।

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैनः महामन्त्री थापा

By
Himalayan Tribune
-
June 22, 2024
0

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उहाँले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताउनुभयो । उहाँले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गर्नुभयो ।

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो । महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गर्नुभयो । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताउनुभयो । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ”, उहाँले भन्नुभयो । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उहाँको भनाइ छ । नेता पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भन्नुभयो । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

नेता पौडेलले कलङ्की-चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रलाई ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताउनुभयो । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उहाँले भन्नुभयो । कांग्रेस काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र एउटै व्यक्तिले पटक-पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्वसभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका-२८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेण्डा खोजेको बताउनुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका-२६ का पूर्वअध्यक्ष विश्वम्भरलाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।

1...756757758...1,302Page 757 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune