Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 752

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध

By
Himalayan Tribune
-
June 28, 2024
0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

डुबान क्षेत्रमा उच्च आवासगृह निर्माण

By
Himalayan Tribune
-
June 28, 2024
0

भजनी (कैलाली): जिल्लाको भजनी नगरपालिका–३ का विष्णु चौधरीलाई बर्सेनि बाढी र डुबानका कारण विस्थापित भएर हुलाकी सडकमा आश्रय लिनुपर्ने बाध्यता छ । बर्खा सुरु भएपछि विष्णुजस्ता सयौँ परिवारका लागि बाढी र डुबानबाट विस्थापित भएर सडकमा आश्रय लिनु बाध्यता हो ।

पटकपटक बाढीको जोखिमबाट छुटकाराका लागि हारगुहार गरिरहेका विष्णुलाई यस वर्ष हुलाकी सडक छेउमा निर्माण भएको उच्च आवासगृहले आशा जगाएको छ । सङ्घीय सहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले छ वर्ष पहिलेदेखि भजनी क्षेत्रमा उच्च आवासगृह निर्माणका लागि बजेट विनियोजन हुने तर जग्गा प्राप्तिमा समस्या भएपछि त्यो फिर्ता हुँदा जोखिममा परेका नागरिक निराश थिए । धुसीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले नगरपालिकामार्फत उच्च आवासगृहका लागि जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् ।

सङ्घीय सहरी तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइमार्फत रु एक करोड ६६ लाखको लागतमा भवन निर्माणाधीन छ । जिल्लाका अन्य स्थानमा पनि यस्तै बनेका छन् । त्यसैअन्तर्गत भजनीमा सो भवन निर्माण हुन लागेको हो”, कार्यान्वयन एकाइका इन्जिनियर मोहन अवस्थीले भन्नुभयो, “यस्तै अर्को भवन कञ्चनपुरको बेलडाँडीमा पनि निर्माण भइरहेको छ ।” भवन सञ्चालनमा आएपछि प्रभावितलाई राहत हुनेछ ।

उहाँका अनुसार चालु आवमा सबै काम नसकिए पनि बस्न सक्ने स्थितिको भवनको काम हुनेछ । “सबै काम यस वर्ष सकिँदैन, बाँकी अर्को वर्ष सक्नेगरी पुनः रु एक करोड ५० लाख बजेट आएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसभन्दा पछि आवश्यकतानुसार दुई तलासम्म स्थानीय सरकारले आफ्नो स्रोतबाट थप गर्न सक्नेगरी डिजाइन बनाइदिएका छौँ ।” भवनको ८० प्रतिशत काम पूरा भएको छ ।

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

By
Himalayan Tribune
-
June 28, 2024
0

काठमाडौँ: कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।

प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए । त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो । प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो । प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।

अमेरिकी सैनिकमाथि जापानमा एक किशोरीलाई बलात्कार गरेको आरोप

By
Himalayan Tribune
-
June 27, 2024
0

काठमाडौं । एक अमेरिकी सैनिकमाथि जापानको ओकिनावा टापुमा एक किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोप लागेको छ ।

यो मामलाले अमेरिकी सेनाको विरुद्ध देशमा लामो समयदेखि चलिरहेको स्थानीय विरोधलाई सल्काउन सक्छ। जापानमा तैनाथ ५४ हजार अमेरिकी सेना मध्ये आधा भन्दा बढीको घर ओकिनावा टापु हो।

अमेरिकी सैनिकले गरेको यौन दुर्व्यवहारका घटनाले स्थानीय जनतामा पनि आक्रोश बढेको छ ।

सन् १९९५ मा यस्तै एउटा घटना बाहिर आएको थियो । तीन अमेरिकी कर्मचारीले १२ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । त्यसपछि महिनौंसम्म आन्दोलन भएको थियो ।

अमेरिकी सैनिक विरुद्धको नयाँ आरोपमा एक नाबालिग पनि संलग्न छन्। जसको उमेर १६ वर्षभन्दा कम छ ।

डिसेम्बर २४ मा एक २५ वर्षीय वायुसेना सिपाहीले एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बालिकाको परिवारको उजुरीपछि सुरक्षा क्यामेराबाट सिपाहीको पहिचान भएको हो ।

सिपाहीलाई मार्चको अन्त्यमा अभियोग लगाइएको थियो र त्यसबेलादेखि जापानी अधिकारीहरूको हिरासतमा छन् ।

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले मंगलबार आरोपको बारेमा जनतालाई जानकारी दिए।

हयासीले भने, “हामी अमेरिकी पक्षलाई हरेक अवसरमा त्यस्ता घटनाहरू रोक्न आग्रह गर्न जारी राख्नेछौं।”

उनले अमेरिकी अधिकारीहरुले अनुसन्धानमा पूर्ण सहयोग गरेको बताए ।

पाकिस्तानमा बढ्दो गर्मीका कारण ६ दिनमा ५०० जनाको मृत्यु

By
Himalayan Tribune
-
June 27, 2024
0

काठमाडौं । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ । यी घटना दक्षिणी पाकिस्तानका हुन्।

ईधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ । तर पछिल्ला ६ दिनमा उनीहरुले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव आएको छ ।

यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ।

मानिसहरू सहयोगको लागि अस्पतालहरू जान्छन्। गत आइतबार र बुधवारको बीचमा कराचीको सिभिल अस्पतालमा तातो स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो । तीमध्ये १२ जनाको पनि मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिए ।

डा शेखले बीबीसीलाई भने, ‘अस्पतालमा आउने अधिकांश मानिस ६० वा ७० वर्षका छन्। कोही ४५ वर्षका थिए भने कोही जोडी २० वर्ष पुगेका थिए।’

“हामीले देखेका सबै मानिसहरू बाहिर काम गरिरहेका छन्। बढ्दो तापक्रममा हामीले उनीहरूलाई धेरै पानी पिउन र हल्का लुगा लगाउन भन्यौं।

गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । सहयोगको खाँचोमा परेका धेरै मानिसहरू अस्पतालसम्म पुग्न सकेका छैनन्।

५६ वर्षीय वसीम अहमद सुरक्षा गार्ड हुन्। १२ घन्टाको सिफ्ट सकेर घर पुग्दा उनको अवस्था ठिक थिएन । वसीमका भाइ अदनान जफरले भने, “उनी ढोकाबाट आए र म यो गर्मी सहन सक्दिन भने । उनले एक गिलास पानी मागे । पानी पिउने बित्तिकै उनी बेहोस भए ।”

वसीमको परिवारले उनलाई अस्पताल पुर्‍याउँदासम्म चिकित्सकले उनको हृदयघातबाट मृत्यु भइसकेको बताए। अदनानले वसीमलाई पहिलेदेखि नै मुटुको रोग लागेको तर गर्मीका कारण यसअघि कुनै समस्या नभएको बताए ।

बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या हो। कराची पाकिस्तानको एक मात्र सहर हो जुन गर्मीसँग संघर्ष गरिरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना सिन्ध प्रान्तको राजधानी कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

By
Himalayan Tribune
-
June 27, 2024
0

खलङ्गा (दार्चुला) : उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो ।

विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पहिलो चरणमा दार्चुला जिल्लालाई समावेश गरिएको छैन । राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै ज्येष्ठ नागरिक सकी नसकी परिचयपत्रको नम्बर लिन प्रशासन धाइरहेका छन् । स्थानीयवासी मोहन भट्टले भन्नुभयो, “ज्येष्ठ नागरिकको सहजताका लागि वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज हुने थियो ।”

राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले परिचयपत्र निर्माणकार्यलाई पालिकास्तरबाट सहज बनाउन माग गरेका छन् । पहिलो चरणमा कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरूले धमाधम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा पाउने नागरिक घण्टौँसम्म लाइन लागेर परिचयपत्र बनाउन थालेका छन् ।

स्थानीय तहहरूले सही सूचना प्रवाह गर्न नसक्दा ज्येष्ठ नागरिकले सास्ती व्यहोर्नुपरेको दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का स्थानीय गोपालसिंह धामीले बताउनुभयो । सेवाग्राहीको भीडलाई मध्यनजर गरेर आजदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई दर्ता शाखा राखेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । यसअघि एकजना मात्र दर्ता अपरेटर भएकाले पनि काममा ढिला हुने गरेको थियो । ज्येष्ठ नागरिकलाई सहज हुनेगरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

By
Himalayan Tribune
-
June 27, 2024
0
दमौली (तनहुँ): पौराणिक सहरकारूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन लागिएको हो । बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गर्नुभएको हो ।
बन्दीपुरमा आउने पर्यटकको लगत राख्न र घरबास (होमस्टे) होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने, घरबासको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गरी घरबास सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायत पर्यटकीयस्थलको संरक्षण, सवद्र्धन र प्रवद्र्धन गरिने अध्यक्ष थापाले बताउनुभयो ।
स्थानीय उत्पादनको पहिचान गर्ने र बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकलासम्बन्धी सामानको कोसेली घरमार्फत बिक्रीवितरण गरिने थापाले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा क्रमशः खुला व्यायामशाला विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक शिलालाई थप आकर्षक बनाइने, बन्दीपुरका २५ पोखरी तालपार्कको निर्माण यसैवर्ष सुरुआत गरिने जनाइएको छ ।
साथै बृहत् झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधार विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँकारुपमा प्रवद्र्धन गरिने थापाले उल्लेख गर्नुभयो । बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकलासम्बन्धी सामग्री, टुरिस्टगाइड हस्पिटालिटी तालिम, होमस्टे तालिम, रैथाने बाली परिकारलगायतका सीपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने थापाले बताउनुभयो । बन्दीपुरको पर्यटनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ

By
Himalayan Tribune
-
June 27, 2024
0

काठमाडौँ: नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिनुभयो । “पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ”, मिश्रले भन्नुभयो । पीडित महिलालाई चिनियाँ नागरिकले रु एक लाख ५० हजारमा बिक्री गरेको खुलेको प्रहरीले बताएको छ ।

चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताउनुभयो । पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो । पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा सङ्लग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो ।

सार्वजनिक निकायबाट सूचना लिन गाह्रोः प्रमुख आयुक्त गुरुङ

By
Himalayan Tribune
-
June 27, 2024
0

काठमाडौँ: राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकायबाट सूचना पाउन नै गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज यहाँ आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तरक्रियाका क्रममा उहाँले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र आयोगको आदेशपछि सूचना पाउने अवस्था रहेको बताउनुभयो । बालमन्दिर, जुद्धोदय विद्यालयलगायत निकायमा पत्रकारले सूचनाको हक प्रयोग गरी सूचना सार्वजनिक गरेको उल्लेख गर्नुभयो । “मागकर्तालाई सूचना दिलाउन संवैधानिक निकायसँगै पनि हामी लड्नुपरेको छ, लोक सेवा आयोगले सूचना नदिएपछि माग अनुसारको सूचना दिन आदेश भएको छ, शिक्षक सेवा आयोगले पनि मागकर्ताले मागेको सूचना दिएको छैन, विराटनगरकी एक छात्राको उत्तरपुस्तिका साटफेर गरिएको घटना सूचना माग गरेर पाएको सूचनाकै आधारमा सार्वजनिक भएको थियो”, प्रमुख आयुक्त गुरुङले भन्नुभयो । सूचना माग गरेकै कारण गोकर्णेश्वरका छ जना नागरिक पक्राउ परेको घटनामा पनि आयोगको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

त्यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखी वास्तविकता माग गरिएको उल्लेख गर्नुहुँदै प्रमुख आयुक्त गुरुङले यससम्बन्धी निर्णय गर्न शुक्रबार आयोगको बैठक बस्ने जानकारी दिनुभयो । हाल छलफलमा रहेको शिक्षा विधेयकमा गोप्य राख्ने विषय समावेश नगर्न आयोगले पत्राचार गरेको उल्लेख गर्नुहुँदै उहाँले यसमा नागरिक संस्थाले पनि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । युवा अभियानकर्मीलाई झुटा मुद्दा लगाएकामा दाहालको आपत्ति नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं सूचनाको हकका अभियानकर्मी तारानाथ दाहालले गोकर्णेश्वरका युवा अभियानकर्मीलाई सूचना मागेर भ्रष्टाचार एवं अनियमितताको विरोध गरेकै कारण झुटा मुद्दा लगाएर फसाउन खोजेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । “गोकर्णेश्वरबाट पक्राउ परेका अभियानकर्मीका विषयमा सुरुमा प्रहरीले ठीकै गरेको होला भन्ने लागेको थियो, पछि मैले तीन दिन लगाएर खोजबिन गर्दा झुटा मुद्दा लगाएको पाइयो”, उहाँले दाबी गर्नुभयो । अभियानकर्मी दाहालले पत्रकारितामा सूचनाको हक बढी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचनाको हक प्रयोग गरेर प्राप्त भएका सूचनाका आधारमा लेखिएका समाचार प्रभावकारी देखिएको उल्लेख गर्नुहुँदै उहाँले मेलम्ची खानेपानी आयोजनामा आफूले मागेको सूचनाका आधारमा टक्सार म्यागेजिनले लेखेको समाचारले सबैको ध्यान तानेको बताउनुभयो । आन्तरिक राजस्व विभागसँग कर छलीका विषयमा अध्ययन भएको प्रतिवेदन सूचनाको हक प्रयोग गरेर माग गरी सार्वजनिक गरेपछि अहिले रु १० अर्ब ७७ करोड राजस्व उठेको दाहालको भनाइ थियो । प्रहरीको अनुसन्धान प्रमाणमा आधारित नेपाल प्रहरीका सह प्रवक्ता विश्व अधिकारीले प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुने गरेको उल्लेख गर्नुहुँदै प्रहरी वृत्त बौद्धले पक्राउ गरेका गोकर्णेश्वरका अभियानकर्मीका विषयमा पनि सूचना माग गर्न सकिने बताउनुभयो ।

जाहेरी परेपछि पक्राउ परेका अभियानकर्मीका विषयमा अहिले अनुसन्धान भइरहेको जानकारी आफूले पाएको कार्यक्रममा उहाँले सुनाउनुभयो । महासङ्घका अध्यक्ष उमीद बागचन्दले गोकर्णेश्वरको घटनामा सार्वजनिक भएको श्रव्यदृश्य सामग्रीका आधारमा घटना सुनियोजित भएको जिकिर गर्नुभयो । गोकर्णेश्वरको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन जाँदा आयोगका अध्यक्षले यो घटनामा अभियानकर्मीलाई पक्राउ गर्नुपर्ने कारण नदेखेको उल्लेख गर्नुभएको उहाँले सुनाउनुभयो । दुई दिनभित्र अभियानकर्मीलाई नछाडे महासङ्घ कडा आन्दोलनमा उत्रन बाध्य हुने अध्यक्ष बागचन्दको चेतावनी थियो ।

सूचनाको हक प्रयोग गरेर खोजी समाचार सार्वजनिक गरी भ्रष्टाचार, अनियमितताजस्ता घटना बाहिर ल्याउने सीप पत्रकारमा बढाउन पनि महासङ्घले काम गर्ने उहाँको भनाइ थियो । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले संविधानमा मौलिक हकका रुपमा रहेको सूचनाको हक कार्यान्वयनका लागि सरोकार भएका निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासङ्घका सचिव पूर्णप्रसाद मिश्र, गोकर्णेश्वरमा सूचनाको हक प्रयोग गर्दा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यहरु रिखीराम खत्री, उमा आचार्य, उमेश कार्की, सविना सुनार बराइली, शकुन्तला क्षेत्रीलगायतले सूचनाको हक निर्वाध रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

By
Himalayan Tribune
-
June 27, 2024
0

जानकी (बाँके): नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताउनुभयो । “यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिकाज्येष्ठ नागरिक हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हाैं ।” गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए ।

शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरो लगायतका रोगहरूको जाँच गरिएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिनुभयो । उहाँले उक्त शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित बिरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताउनुभयो ।

उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले जानकारी दिनुभयो । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पु-याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरुलाई प्रसंशा पत्र प्रदान गर्नुभएको थियो ।

1...751752753...1,303Page 752 of 1,303

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune