काठमाडौँ, २१ असारः गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले स्थानीय तहहरूसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालको जोड दिनुभयो । “स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।” यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उहाँले अनुरोध गर्नुभएको छ । जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि हरबखत तयार रहेको उहाँले बताउनुभयो । उहाँले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई सहानुभूतिसहित आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।
राष्ट्रपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब
काठमाडौँ । अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहसपछि राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारी छाड्न दबाब बढेको छ ।
८१ बर्षिय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्र्याटिक पार्टीभित्र उनले उम्मेदवारी छोड्नु पर्ने माग हुन थालेको हो ।
चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरुसँग यस विषयमा छलफल गरिरहेको अमेरिकी मिडियाहरुले दाबी गरेका छन् । साथै उनले छिटै डेमोक्र्याटिक पार्टीका सांसद र गभर्नरहरुसँग छलफल गर्ने बताइएको छ ।
डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् । टेक्सासका सांसद लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन् जसले सार्वजनिक रूपमा यो माग गरेका छन् ।
गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडेन धेरै पटक हडबडिरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणका अनुसार प्रत्येक ३ पार्टी नेतामध्ये १ जनाले यस हप्ता राष्ट्रपतिको उम्मेदवारीबाट बाइडेनले आफ्नो नाम फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
अर्कोतर्फ बाईडेनले भने बहसमा राम्रो प्रदर्शन नगरेकोमा स्पष्टीकरण दिदै केही दिनसम्म आफू धेरै देशको भ्रमणमा गएको र लगातारको यात्राका कारण बहसको समयमा थाकेको बताएका छन् ।
बाइडेनले उम्मेदवारी फिर्ता लिनुपर्ने आवाज उठिरहेका बेला डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । यस बीचमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पुर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडी रहेको छ ।
धेरै डेमोक्रेट नेताहरुले कमला ह्यारिशलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । तर उनले ट्रम्पलाई टक्कर दिन भने मुश्किल हुने बताइएको छ । केहि डेमोक्रेटहरुले भने मिचेल ओबामा उम्मेदवार बनेमा ट्रम्प सजिलै पराजित हुने अनुमान गरेका छन् । तर मिचेलले भने आफु राष्ट्रपतिको दौडमा नभएको बताउदै आएकी छन् ।
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा नदिई फर्किएका छन्।
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन्।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेलासम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन्।
उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरु त्यतिबेलासम्म पर्खिन तयार भएको बताए । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफुहरुले बताएको जानकारी दिए।
प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।
कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनीका तीन हजार बढी घर डुबानमा
टीकापुर (कैलाली): कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए । “वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्”, नगरप्रमुख चौधरीले भने, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।”
हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । “अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्”, नगर प्रमुख चौधरी भन्नुहुन्छ, “पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्यौं ।”
बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । “घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ”, उनले भने, “सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यो ।” लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए ।
यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
फेश अफ राजधानी संस्करण-३ र किड्स नेपाल संस्करण-२ हुँदै
काठमाडौँ : पुरुष र महिलालाई लक्षित गरी ‘फेस अफ राजधानी-३’ र ‘किड्स नेपाल’ यस बर्ष पनि आयोजना हुँदैछ। यस प्रतियोगितामा सहभागी हुनका लागि आवेदन खुल्ला गरिएको छ । सन् २०२० देखि आयोजना हुँदै आएको आयोजक तथा स्टुडियो एन्ड कम्पनीको डिरेक्टर मोनु शाहले जानकारी दिए ।
शाहका अनुसार प्रतियोगितामा १७ देखि २८ वर्ष उमेरका पुरुष र महिला सहभागी हुन सक्नेछन् ,भने किड्स नेपालका लागि ६-१६ सम्मका किड्सहरु सहभागी हुन सक्नेछन् ।
आयोजकका अनुसार पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ ।
‘फेस अफ राजधानी-३’ ‘किड्स नेपाल’ का लागि अडिसनको तयारी भइरहेको छ । छनौट प्रक्रिया अगाडि बढेपछि सहभागीका लागि २५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याति प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइनेछ ।
सहभागीहुनेहरुमध्ये आगामी राउन्डका हुने फिनालेमा जजहरुको मूल्यांकन र भोटिङबाट तीन जना बिजेता घोषणा हुनेछन् । र तीन बिजेताहरु मुम्बईमा आफ्नो देशलाई चिनाउन जानेछन् ।
बैतडीमा अमेरिकन फौजी कीराले मकैबाली सखाप, किसान चिन्तित
बैतडी : बैतडीमा अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट पारिदिएका छन्।
जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्याएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए।
उनले भने, “कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ । कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ ”
विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए । उनका अनुसार फौजी कीराले मकैबालीलाई नष्ट गरेको किसानले गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गरिएको छ।
समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ ।
पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताउनुभयो । रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी कीराको जोखिम देखिएको जानकारी गराएका छन् । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौँ ।” फौजी कीरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको शाखा अधिकृत भट्टको भनाइ छ ।
गएको चार वर्षयता हरेक वर्ष फौजी कीराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ । नियन्त्रणका लागि मुस्किल हुने गरेको छ ।”
पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ । इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै कीराको जोखिम नियन्त्रण हुने जनाइएको छ । माटोको उपचार गरेर पनि फौजी कीराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ । फौजी कीराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।
बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जङ्गली जनावर, विभिन्न रोगकीरा, बसाइँसराइका कारण हाल पाँच हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ ।
तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान
तुलसीपुर (दाङ) : नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताउनुभयो । “अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उहाँले जानकारी दिनुभयो । जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, ‘होर्डिङ बोर्ड’ निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तुलसीपुर–४ मा सात जना क्षयरोगीले उपचार गराइरहेका छन् । तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् ।
तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका श्रोत व्यक्ति विमल केसीले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा आठ जनाको मृत्यु भएको छ । सबै क्षयरोगी सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उहाँको भनाइ छ । “धेरै क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउने गरको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा क्षयरोगीका बिरामीले अरुलाई पनि सारिरहेका हुन सक्छन्, त्यसैले अहिले सबै वडामा यस्तो कार्यक्रम चलिरहेको छ ।” उहाँका अनुसार आँकडाअनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो छैन ।
तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको छ । चुरोट, गुट्खा, जाँड,रक्सी खाने व्यक्तिमा बढी यो समस्या देखिने गरेको केसीले बताउनुभयो । दाङमा एक हजार चार सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा आठ हजार ८५ बिरामी छन् । दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक उपकरण रहेका छन् । एउटा उपकरण घोराही र एउटा लमही रहेका छ । त्यस्तै ‘माइक्रोस्कपी’ २०, ‘डिओटिएस’ ५० छन् । गत आवमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।
तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान
तुलसीपुर (दाङ): नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताउनुभयो । “अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उहाँले जानकारी दिनुभयो । जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, ‘होर्डिङ बोर्ड’ निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तुलसीपुर–४ मा सात जना क्षयरोगीले उपचार गराइरहेका छन् । तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका श्रोत व्यक्ति विमल केसीले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा आठ जनाको मृत्यु भएको छ ।
सबै क्षयरोगी सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उहाँको भनाइ छ । “धेरै क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउने गरको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा क्षयरोगीका बिरामीले अरुलाई पनि सारिरहेका हुन सक्छन्, त्यसैले अहिले सबै वडामा यस्तो कार्यक्रम चलिरहेको छ ।” उहाँका अनुसार आँकडाअनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो छैन । तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको छ ।
चुरोट, गुट्खा, जाँड,रक्सी खाने व्यक्तिमा बढी यो समस्या देखिने गरेको केसीले बताउनुभयो । दाङमा एक हजार चार सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा आठ हजार ८५ बिरामी छन् । दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक उपकरण रहेका छन् । एउटा उपकरण घोराही र एउटा लमही रहेका छ । त्यस्तै ‘माइक्रोस्कपी’ २०, ‘डिओटिएस’ ५० छन् । गत आवमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।
पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित
म्याग्दी: म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्”, बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा छ घन्टा बैसरीको लाममा फस्नुभएका उहाँले भन्नुभयो, “अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्रेभिर, घोप्टेभिरदेखि मुुस्ताङको लेतेसम्म बर्खायामको यात्रा जोखिम र सास्तीपूूर्ण बनेको छ ।” मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताउनुभयो । “पहिरो खस्न रोकिएको मेसो पारेर वारपार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हिँडिरहेको अवस्थामा कुन बेला पहिरो खसेर पुर्छ भन्ने जोखिम र त्रास छ ।” रघुगङ्गा गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बैसरीमा सडकमाथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखो पहिरोमा परिणत भएको छ । सडकमाथि पहाडको डिल छ । पहाडमाथिको पाखो सडकबाट देखिँदैन । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको सवारी चालक सुरेश सेञ्चुरीले बताउनुभयो ।
दुई वर्षअघि बैसरीमा सिर्जना भएको पहिरो गत वर्षपछि सक्रिय बनेको हो । गत वर्ष बैसरीको पहिरोमा पुरिएर एक जना सवारी चालकको ज्यान गएको थियो । मङ्गलबार जोमसोमबाट बेनीतर्फ जाँदै गरेको बा०२६च ७०५३ नम्बरको इको भ्यान पुुरिएको थियो । यसअघि जेठ अन्तिम साता गुुइठेभिरमा गुुड्दै गरेको बोलेरो जिपमाथि पहिरो खसेर पुरिएको थियो । पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन् । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलुलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख धु्रुवकुुमार झाका अनुसार १४ वटा पहिरो छन् । “पहिरो र कटान रोकथामका लागि मागिएको बजेट प्राप्त नहुँदा काम गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “बर्खायाममा सडक मर्मत र यातायात सञ्चालनका लागि सडक विभागको उपकरण र प्राविधिकलाई खटाएका छौँ ।”
सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको थियो । बैसरी पहिरोको बुधबार स्थलगत निरीक्षण गर्नुभएका प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अल्पकालीन रुपमा पहिरो नियन्त्रण, यातायात सञ्चालनका लागि सडक विभागका उपकरण, प्राविधिक, मजदुरका साथै सुुरक्षा निकायलाई पनि परिचालन गरिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीद्वारा विल विजक नभएका सामान बरामद
भद्रपुर (झापा): सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ, रु ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया, रु तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ । रु ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, रु ८८ हजार बराबरको मदिरा र रु १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ ।
चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताउनुभयो । उहाँका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधि बरामद गरिएको छ । “सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४/७ नै पैदल गस्ती परिचालन भएको छ”, सप्रउ राईले भन्नुभयो ।
सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ । साथै भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।











