Thursday, May 14, 2026
Home Blog Page 742

बेनीका सात विद्यालयको कक्षा घटुवा

0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सात ओटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताउनुभयो ।

“सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रुपमा लिएका छौँ”, उहाँले भन्नुभयो, “कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) भएको थियो ।”

कक्षा ४ सम्मको पढाइ हुने चेतना आधारभूत विद्यालयमा कक्षा १ सम्म झारेर एक जना शिक्षकलाई बेनी सामुदायिक माविमा व्यवस्थापन गरिएको छ । बेनपा–९ को पद्यमबराह आधारभूतलाई १–५ बाट कक्षा १ सम्म झारेर त्यहाँका शिक्षकलाई बराह आधारभूतमा पठाइएको छ ।

१–५ बाट १–३ मा झारिएको ढोलथान आधारभूतका दुई जना शिक्षकको दरबन्दी भने सोही विद्यालयमा कायम गरिएको छ । १–८ बाट १–५ कक्षामा झरेको बेनपा–२ को हंशबाहिनी आधारभूत विद्यालयका एक जना शिक्षकलाई बालमन्दिर र एक जनालाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको शिक्षा उपसचिव पौडेलले बताउनुभयो ।

१–५ बाट १–३ मा झारिएको गणेश आधारभूत विद्यालय बेनपा–५ का दुई जना शिक्षकलाई प्रकाश मावि र सरस्वती मावि तातोपानीमा व्यवस्थापन गरिएको छ । १–५ बाट १–३ मा झारिएको जगन्नाध आधारभूत विद्यालयमा दुई जनामा शिक्षक राखिएको छ । १–५ बाट १–३ मा झरेको बेनपा–४ थामडाँडाको भृकुटी आधारभूतका एक जना शिक्षकलाई भूमे आधारभूतमा स्थानान्तरण गरिएको छ । अर्का एक जना शिक्षक अनिवार्य अवकाश लिने तयारीमा भएकाले सोही विद्यालयमा राखिएको छ ।

समायोजन भएका विद्यालयका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ ।

वर्षाका कारण नारायणगढ – बुटवल सडक खण्ड विस्तारको काम रोकियो

0

नवलपुर (नवलपरासी): अविरल परेको वर्षाको कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम रोकिएको छ। नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको छ। “वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ” उहाँले भन्नुभयो, “निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।” सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उहाँले बताउनुभयो ।

“यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो” उहाँले भन्नुभयो, “पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।” विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताउनुभयो । नारायणगढ बुटवल सडकको एकसय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ । “निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ” उहाँले भन्नुभयो, “काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।”

निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताउनुभयो । “कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ” उहाँले भन्नुभयो, “हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौँ ।” म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

सुधारवादी नेता मसूद पेजेस्कियान इरानको राष्ट्रपतिमा निर्वाचित

0

काठमाडौं । इरानको राष्ट्रपतीय निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियान विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका छन् ।

चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको तीन करोड मतमध्ये डा. मसुद पेजेस्कियानले ५३.३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

जून २८ मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् । त्यस समयमा इरानमा अहिलेसम्मकै सबैभन्दा कम मतदान प्रतिशत ४० प्रतिशत थियो।

इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

इब्राहिम रायसी पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कदै गर्दा उनको हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित ९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो ।

२ घण्टाको नवजात शिशुको हत्या गर्ने नर्स

0

काठमाडौं । बेलायती नर्स लुसी लेटबीलाई दुई घण्टाअघि जन्मेकी नवजात बालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई जुलाई ५ मा सजाय सुनाइनेछ । लुसीलाई यसअघि नै ७ नवजात शिशुको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

लुसीलाई सोमबार दोषी ठहर गरिएको मुद्दा सन् २०१६ को हो। हत्या भएकी बालिकाको नाम बेबी के हो । बच्चा निर्धारित मिति भन्दा लगभग 15 हप्ता अघि जन्मिएको थियो । बेबी के को तौल मात्र १.५२ पाउन्ड (१ किलोग्राम भन्दा कम) थियो। लुसीले बच्चाको श्वासप्रश्वासका लागि जडान गरिएको ट्यूबसँग छेडछाड गरिन् र बच्चाको मनिटर पनि बन्द गरिन्।

सुनुवाइका क्रममा अस्पतालका वरिष्ठ चिकित्सक रवि जयरामले लुसीलाई रंगेहात समातेको बताए । त्यसपछि जयराम नियमित चेकअपका लागि बालबालिकाको वार्डमा पुगे । त्यसपछि उनले लुसीलाई बेबी केको ओछ्यान नजिकै उभिरहेको भेट्टाए। बालिकाको श्वासप्रश्वासको नली हटाइएको थियो र उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। यति हुँदाहुँदै पनि लुसीले बालिकालाई सहयोग गर्न केही गरिनन् ।

बेबी के लाई पछि उपचारको लागि अर्को अस्पतालमा सारिएको थियो, जहाँ उनको मृत्यु भयो। गत वर्ष पनि यस विषयमा सुनुवाइ भएको थियो । त्यतिबेला न्यायाधीशले कुनै निर्णय गर्न सकेनन्। लुसीले नवजात शिशुको हत्याको आरोप अस्वीकार गरेकी छिन् । यसअघि गत वर्ष अगस्ट २१ मा लुसीलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

लुसीलाई धेरै जसो बालबालिकाको हत्या गरेकोमा दोषी पाइयो जो या त बिरामी थिए वा समय भन्दा पहिले जन्मेका थिए। उनले यी हत्याहरू जुन २०१५ र जुन २०१६ को बीचमा उत्तरपश्चिम इङ्गल्याण्डको काउन्टेस अफ चेस्टर अस्पतालमा गरेकी थिइन् ।

सन् २०१८ को जुलाईदेखि नोभेम्बर २०२० को बीचमा यस मामिलामा नर्सलाई तीन पटक पक्राउ गरिएको थियो । बीचमा उनी दुई पटक रिहा भइन् । नोभेम्बर २०२० मा आरोपहरू तय गरिएको थियो। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको निर्णायक मण्डलले २२ दिनसम्मको छलफलपछि यो फैसला सुनायो।

हमासले अमेरिकी प्रस्ताव स्वीकार गरेपछि गाजामा युद्धविरामको आशा बढ्यो

0

काठमाडौं । गाजामा विगत ९ महिनादेखि इजरायल र हमासबीच जारी युद्धमा फेरि युद्धविरामको आशा बढेको छ । इजरायलपछि हमासले पनि अमेरिकी प्रस्तावलाई स्वीकार गरेको छ ।

यस प्रस्ताव अन्तर्गत तीन चरणमा युद्धबिराम हुनेछ। जसले दुबै पक्षलाई “बिना ढिलाइ र निःशर्त” प्रस्तावका सर्तहरू कार्यान्वयन गर्न आग्रह गर्दछ। इजरायलले यसलाई पहिले नै स्वीकार गरिसकेको थियो तर हमासले मानेको थिएन।

यस प्रस्तावको पहिलो चरणमा महिला, वृद्ध र घाइतेसहित बन्धकहरूको रिहाइ, प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान, जनसंख्या भएको क्षेत्रबाट इजरायली सेनाको फिर्ता, प्यालेस्टाइनीहरूलाई उत्तरी लगायत सम्पूर्ण एन्क्लेभमा आफ्नो घर फर्काउने र ठूलो मात्रामा मानवीय सहायता सहित पूर्ण युद्धबिराम समावेश छ।

दोस्रो चरणमा शत्रुताको पूर्ण अन्त्य र गाजामा बन्धकहरूलाई रिहा गर्ने बदलामा गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ती समावेश हुनेछ।

तेस्रो चरणले गाजाको लागि बहु-वर्षीय पुनर्निर्माण योजना सुरु गरिनेछ। गाजा पट्टीमा मारिएका बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरिनेछ। यस प्रस्तावमा हमासले सम्झौतामा हस्ताक्षर गर्नुअघि इजरायलले पहिले स्थायी युद्धविराम गर्नुपर्ने माग गरेको थियो तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासलाई समाप्त नपारेसम्म आफ्नो सेना फिर्ता नगर्ने स्पष्ट पारेका थिए ।

बाढी पहिरोबाट हालसम्म ४८ को मृत्यु, ५४ घाइते

0

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट हालसम्म ४८ जनाले ज्यान गुमाएका र ५४ जना घाइते भएका छन्।

गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बाढी, पहिरोमा परी काठमाडौंमा एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ।

यसैगरी बाढी पहिरोमा परि कारण काठमाडौं तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।

उनका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना तथा कर्णाली प्रदेशमा एक जना गरी सात जना वेपत्ता भएका छन्।

यसैगरी बाढीको कारण एक सय २१ घर डुबानमा परेका छन्। जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ प्रहरीले जनाएको छ। बाढी परिहामै परी एक सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट एक हजार ५८ घर परिवार विस्थापित भएका छन्।

भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ। देशैभरी तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

चितवनको दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

0

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन्।

विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए।

चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो।

मन्त्री तमाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे।

देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तमाङले विश्वास व्यक्त गरे।

यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पूरा भएको बताइन्।

भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई थियो ।

अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन्। नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन्।

भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ। ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए। राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो।

राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ। दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ।

 

चन्दादाताले नै दिए बाइडेनलाई उम्मेदवारी छोड्न दबाब

0

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी नछाड्ने जिकिर गरिरहेका बेला चन्दादाताले नै उम्मेदवारी छाड्न दबाब दिएका छन्।

एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने, “जबसम्म ईश्वर आफैं आएर मलाई उम्मेदवारी छोड भन्नुहुन्न, तबसम्म म पद त्याग्ने छैन ।”

डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुँदै गएको छ । डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरुले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछि दबाब बढेको छ ।

८१ बर्षिय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन शुरु गरिएको छ । तर बाइडेनले आफू राष्ट्रपतिको चुनाव लड्ने र ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन् ।

बाइडेनलाई उम्मेदवारी छोड्न दबाब बढिरहेका बेला उपराष्ट्रपति कमला ह्यारिश डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढिरहेको विश्लेषण हुन लागेको छ ।

आगामी अगस्त १९ देखि २२ सम्म हुने डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनसम्म यो विषय अझ चर्किने र सम्भवत बाइडेन उम्मेदवार नबन्ने विश्वास व्यक्त गरिएको छ ।

बाइडेनको उम्मेदवारी अनिश्चित भएपछि यसको असर डेमोक्रेट पार्टीको लागि चन्दा संकलनमा परिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

डेमोक्रेटिक पार्टीका लागि निर्वाचन कोष सङ्कलन गर्ने नेक्स्ट जेनेरेशन पीएसीले समेत बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न र उनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई मौका दिनुपर्ने भनेको छ । उनी बाइडेन भन्दा राम्रो उम्मेदवार साबित हुन सक्ने जिकिर गरिएको छ ।

नेटफ्लिक्सका सह(संस्थापक रीड हेस्टिङ्सले सार्वजनिक रूपमा बाइडेनले उम्मेदवारी छोड्नु पर्ने बताएका छन् । हेस्टिङ्स र उनकी श्रीमती प्याटी क्विलिन डेमोक्र्याटिक पार्टीका सबैभन्दा ठूलो दाता हुन् ।

एक परोपकारी संस्था चलाउने गिडोन स्टेनले बाइडेन दौडबाट फिर्ता नहुन्जेल उनको परिवारले दिने भनेको करोडौंको चन्दा रोकेको बताइएको छ ।
उनीहरुले अधिकांश दाताहरूले ट्रम्पलाई हराउन डेमोक्र्याटहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने विश्वास गरेका छन् । त्यस्तै डिज्नी कम्पनीका मालिक र फिल्म निर्माता अबिगेल ई। डिज्नीले बाइडेनले देशको धेरै सेवा गरेका छन्, तर डेमोक्र्याटहरूले अब नयाँ उम्मेद्वार नआएसम्म कुनै चन्दा नदिने बताएका छन् ।

धेरै जसो चन्दादाताले बाइडेनको उम्मेदवारी फिर्ता गर्नुपर्ने माग गरेपछि डेमोक्रेटिक पार्टी पनि दबाबमा परेको छ ।

 

युरोकप २०२४: इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

0

काठमाडौं। इङ्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो।

त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।

८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍यो। डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ।

 

एमाले संसदीय दलको बैठक बस्दै

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज बिहान १० बजे संसद भवनमा एमालेको संसदीय दलको बैठक बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।