Thursday, May 14, 2026
Home Blog Page 740

क्यानडाबाट कन्टेनरसहित चोरी भएको २ अर्ब रूपैयाँ मूल्यको सुन भारतमा

0

काठमाडौं । क्यानडा प्रहरीले पियर्सन विमानस्थलबाट हराएको २ अर्ब रुपैयाँ मूल्यको सुनको इँटा अब नभेटिने स्वीकार गरेको छ । गत वर्ष १७ अप्रिलमा टोरन्टोको पियर्सन एयरपोर्टमा रहेको क्यानडा कार्गो टर्मिनलबाट ६ हजार ६ सय सुनको बार चोरी भएको थियो । प्रहरीले ३ दिनपछि सुन चोरी भएको थाहा पाएको थियो ।

यी सुनको इँटाको तौल ४०० किलो थियो। त्यतिबेला यी इँटाको मूल्य २० मिलियन क्यानडियन डलर (नेपाली रुपैयाँमा करिब २ अर्ब रुपैयाँ) थियो। चोरी भएको सुनको इँटा अहिलेसम्म बरामद भएको छैन । क्यानडा प्रहरीले यो सुन भारत र दुबई पुगेको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

क्यानडा प्रहरीले यो चोरी नेटफ्लिक्सको क्राइम सिरिज स्टाइलमा गरिएको जनाएको छ । जसमा विमानस्थलको कार्गो सेन्टरबाट सुन र नगद चोरी भएको थियो । यो सुन स्विजरल्याण्डबाट क्यानडाको एयरपोर्ट पुगेको ४२ मिनेटमै चोरी भएको थियो ।

प्रहरीले निकै चलाखीपूर्वक कन्टेनरलाई बाहिर सारिएको बताएको छ। घटनाको तीन दिन पछि अप्रिल २० मा यो पूरै कार्गो चोरी भएको पत्ता लाग्यो। यो चोरी गर्न नक्कली रसिद प्रयोग गरिएको थियो। यस चोरी मुद्दामा पक्राउ पर्नेमा भारतीय मूलका तीन जना पनि रहेको प्रहरीले जनाएको छ ।

पील क्षेत्रीय प्रहरी (पीआरपी) का प्रमुख अनुसन्धानकर्ता डिटेक्टिभ सर्जेन्ट माविटीले बताएअनुसार चोरी भएको सुनको ठूलो हिस्सा विदेशका सुन बजारमा गएको छ । जहाँ सिरियल नम्बरसहित सुन लिइन्छ र पछि पगालिन्छ।

यो सबै काम चोरीको घटना लगत्तै भएको हुनुपर्छ भन्ने विश्वास गरिएको माविटीले बताए । पिल क्षेत्रीय प्रहरी (पीआरपी) ले यसअघि यो क्यानडामा भएको सबैभन्दा ठूलो सुन चोरी भएको बताएको थियो। यो चोरीलाई ‘प्रोजेक्ट’ नाम दिइएको थियो ।

यस घटनामा पक्राउ परेकाहरुको जानकारी दिँदै प्रहरीले एयरलाइन्सका दुई कर्मचारीको सहयोगमा यो चोरी गरेको बताएको थियो । अहिले ती कर्मचारीमाथि मुद्दा चलिरहेको छ । यो सुन पगालेर सुनको ब्रेसलेट बनाएर बेच्ने गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

0

काठमाडौं: नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो।

उनीहरुले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमती पत्र सम्बन्धि कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा कुनै अभिलेख नरहेको आरोप पत्रमा उल्लेख छ।

त्यस्तै, उनीहरुको संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतका व्यक्तिहरुको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी सो विवरणका आधारमा बायोमेट्रिक गराइ नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको आरोप पत्रमा उल्लेख छ।

 

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

0

काठमाडौँ: राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो । समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो । त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो । विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण(रेट्रोफिटिङ) सुरू गरिएको थियो ।

दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए । समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गर्नुभएकामा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिनुभयो । त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उहाँले जानकारी दिनुभयो । “ चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।” यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् ।

यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

सहकारीका समस्याबारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

0

काठमाडौँ : प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ ।

छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा सुन्ने, बुझ्नेलगायतका अध्ययन गरिरहेको उहाँले बताउनुभयो । समिति गठन भएको एक महिना पूरा भएको छ । समितिले सहकारीका पीडितसँग छलफलको तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसद्ले एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

 

लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

0

खजुरा (बाँके) : बाँकेका लोपोन्मुख तथा अति पिछडिएका जातजातिको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ एक कार्यक्रम गरी अति पिछडिएका नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका एक सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंङ्गघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले सय परिवारलाई बाख्रा वितरण गर्नुभयो ।

मन्त्री यादवले प्रदेश सरकारले लोपोन्मुख तथा अति विपन्न समुदायको जीवनस्तर उकास्न उनीहरुको आयआर्जन वृद्धि गरी सबल बनाइने बताउनुभयो ।

आयआर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ कासाथै डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ का हरेक वडाबाट २० परिवारको छनोट गरेर बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

महामन्त्री मुकुल ढकाल रास्वपाबाट निष्काशित

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्काशन गरेको छ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ उनले भने ।

तर ढकालको साधारण सदस्यता भने कायमै रहेको छ।

 

वर्षाले ४१ पुल बगायो, १० करोड बढीको क्षति

0

काठमाडौँ: अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपदबाट हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने र१० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।
बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल २०२४’ सम्पन्न

0

काठमाडौँ : राजधानीमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल २०२४’ सम्पन्न भएको छ।
क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा आयोजित प्रतियोगितामा ‘द मिसेस नेशनल २०२४’ दोस्रो संस्करणको उपाधि इलामकी सुजाता सुब्बाले जितेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि पनि कब्जा गरेकी छन्।
‘महिलालाई सशक्त बनाऔं, राष्ट्रलाई सशक्त बनाऔं’ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनरअपका साथै मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनरअपका साथै मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भए।

१६ विवाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगितामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाईस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुबी किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस फ्यासीओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माईल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाईरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारी वेष्ट वाक उपउपाधिको विजेता बन्न सफल भए।लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।

प्रतियोगिता पूर्व खानेपानी मन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो।आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिँदै आएको बताए।

 

रुकुम पूर्वमा पहिरोमा परी एकको मृत्यु, तीन घाइते

0

रुकुम पूर्व: गएराति पहिरो जाँदा रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।
उहाँहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

0

बेलबारी (मोरङ): मोरङ र सुनसरीमा रातिदेखि परेको अविरल वर्षाका कारण साना खोलामासमेत आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टामा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।