Wednesday, June 10, 2026
Home Blog Page 716

सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रमअन्तर्गत २२ योजना सम्पन्न

0

गोदावरी (कैलाली): सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रमअन्तर्गत २२ ओटा योजना सम्पन्न भएका छन् । त्यहाँको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले गत आवमा प्रदेश पर्यटन पूर्वाधार निर्माणका २० र सङ्घतर्फका दुई गरी २२ ओटा योजना सम्पन्न गरेको हो। भएका हुन् ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख डबलबहादुर बोहराले प्रदेशभर पहिचान भएका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विनियोजन गरिएको कूल रु चार करोड दुई लाख २० हजारमध्ये रु तीन करोड ६८ लाख ८१ हजार र सङ्घ शसर्तको रु २५ लाखमा रु २४ लाख खर्च भएको जानकारी दिनुभयो ।

बाजुराको बडीमालिका पर्यटकीय क्षेत्रमा रु ३५ लाख ९० हजारको लागतमा बडीमालिका मन्दिर परिसर, बासुधारा, रौलेगोल, थिउरे, लौडी विनायक, भुज्याडा ठाउँमा रेलिङको पदमार्ग निर्माण, स्वामी कार्तिक खापर गाउँपालिका–३ मा यात्रु प्रतिक्षालय तथा फिल्ड निर्माण र गौमुल गाउँपालिकाको दहकोट झर्ना संरक्षण तथा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, खप्तडमा पदमार्ग स्तरोन्नतिमा रु ३६ लाख ५३ हजार, दार्चुलाको अपि बेसक्याम्पमा पर्यटकीय आवासगृह मर्मत तथा आवासगृह निर्माणमा रु ३५ लाख २८ हजार, ब्यास गाउँपालिका–१ स्थित योखरजाङ पदमार्ग निर्माणमा रु नौ लाख ९६ हजार, मालिकार्जुनधाम पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनमा रु नौ लाख ९६ हजार खर्च रिएको निमित्त प्रमुख बोहराले बताउनुभयो ।

यसैगरी कैलालीको गोदावरी धाममा पर्यटकीय पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनमा रु २२ लाख २९ हजार, शिवपुरी धाममा पुर्वाधार स्तरोन्नतिमा रु २९ लाख ९६ हजार, बेहडाबाबामा धार्मिक पर्यटकीय पूर्वाधार निर्माणमा रु नौ लाख ८५ हजार, जाखौर ताल र मुरफुट्टा तालमा मिचाहा प्रजाती जलकुम्भी हटाउन रु नौ लाख ९९ हजार, बुढीतोलामा रिङ्ने हिलसाइड साइक्लिनिङ निर्माणमा रु नौ लाख ४७ हजार र टीकापुर—७ डल्फिन क्षेत्रमा पर्यटकीय विश्रामगृह निर्माणमा रु नौ लाख ९१ हजार खर्च गरिएको पर्यटन एकाइ कार्यालयले जनाएको छ ।

यस्तै, रु १० लाखमा कैलालीको टीकापुर–५ मा त्रिवेणी धामको संरचना, मोहना, कर्णाली, भेरी कर्णाली र सेती कर्णाली धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरिएको छ ।

कैलाली र कञ्चनपुरमा एकीकृत पर्यटन सर्किटमा पर्यापर्यटन पूूर्वाधार निर्माणमा रु ४९ लाख ९० हजार, डडेल्धुराको परशुरामधाम क्षेत्रमा ‘पानी फोहोरा’ निर्माणमा रु १९ लाख ८८ हजार, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पर्ने बतासे झर्ना संरक्षण एवं व्यवस्थापनमा रु १० लाख, भीमदत्त नगरपालिकामा पर्ने भम्केनीधाममा आवश्यक पूर्वाधार निर्माणका लागि रु १९ लाख ८८ हजार खर्च गरिएको एकाइ कार्यालयका निमित्त प्रमुख बोहराले बताउनुभयो ।

यसैगरी गत आवमा सङ्घतर्फको शसर्त अनुदानबाट रु २५ लाखमध्ये १४ लाख ७६ हजारको लागतमा बाजुराको त्रिबेणी नगरपालिका–६ ठुलाघर, पन्धारास्थित भगवती मन्दिर जाने बाटोमा उद्यानसहितको पदमार्ग र डोटीको जोरायल गाउँपालिका–४ गोल्लामा रु ९ लाख ८४ हजारको लागतमा वगनचौर पार्क निर्माण गरिएको जनाइएको छ ।

प्रदेशमा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चौमासिकदेखि कार्ययोजना बनाएर अघि बढ्ने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले जनाएको छ ।

क्यानडाले चीनमा उत्पादित विद्युतीय सवारीमा शतप्रतिशत भन्सार लगाउने भएपछि चीन आक्रोशित

0

काठमाडौं: क्यानडाले चीनमा उत्पादित विद्युतीय सवारी साधन (इभी) आयातमा शतप्रतिशत भन्सार लगाएपछि चीन आक्रोशित भएको छ।
यो अमेरिका र युरोपेली संघले लगाएको शुल्कजस्तै हो।

क्यानडाले पनि चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेको छ ।

क्यानडा र यसका पश्चिमी सहयोगीहरूले चीनले आफ्नो इभी उद्योगलाई सब्सिडी दिँदै कार निर्माताहरूलाई अनुचित फाइदा दिएको आरोप लगाएका छन्।

चीनले क्यानडाको यो कदमलाई “विश्व व्यापार संगठन (डब्लुएचओ) को नियमको उल्लङ्घन” भनेर वर्णन गरेको छ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, “हामी क्यानडाको अटोमोटिभ क्षेत्रलाई भोलिको सवारी साधन निर्माण गर्ने विश्वव्यापी अगुवामा परिणत गर्दैछौं। तर चीन जस्ता देशहरूले विश्वव्यापी बजारमा आफूलाई अनुचित फाइदा दिन खोजेका छन्।”

चीनमा उत्पादित विद्युतीय सवारीसाधन (इभी)को आयातमा बढेको भन्सार अक्टोबर १ गतेदेखि लागु हुनेछ भने स्टिल र आल्मुनियममा अक्टोबर १५ गतेदेखि लागु हुनेछ ।

मे महिनामा अमेरिकाले चिनियाँ विद्युतीय सवारीसाधनको आयातमा चार गुणा बढाएर शतप्रतिशत कर लगाउउने बताएको थियो । यसपछि युरोपियन युनियनले चीनमा उत्पादन हुने विद्युतीय सवारी साधनमा ३६.३ प्रतिशतसम्म भन्सार लगाउने योजना सार्वजनिक गरेको थियो ।

चीनको सांघाईमा रहेको टेस्लाको कारखानामा उत्पादन हुने विद्युतीय सवारी साधन पनि यो शुल्क अन्तर्गत पर्नेछ ।

बाइडेन प्रशासनले सामग्री हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप

0

काठमाडौं: मेटा मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोभिडसँग सम्बन्धित पोस्टहरू सेन्सर गर्न (हटाउन) दबाब दिएको आरोप लगाएका छन् । मेटा मूल कम्पनी हो र फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम यसका भागहरू हुन्। मार्क जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेखेका छन् ।

उनले भने, “२०२१ मा महिनौंसम्म, व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिट-१९ सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए। यसमा कटाक्ष र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो। जब हामी यसमा सहमत भएनौं, हाम्रो “टीमहरूप्रति निराशा व्यक्त गरियो। ।”

उनले सामग्री हटाउने वा नहटाउने आफ्नो निर्णय भएको र आफ्नो टिम आफ्ना निर्णयहरूको लागि जिम्मेवार भएको बताए ।

मार्क जुकरबर्गले पत्रमा भनेका छन्, “सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ। मलाई लाग्छ कि हामीले कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्नु हुँदैन। फेरि त्यस्तो केही भयो भने सम्झौता गर्नुहुँदैन, हामी पछि हट्न तयार छौं ।”

रिपब्लिकन पार्टीले के भन्यो ?

रिपब्लिकन पार्टीको सदन न्यायपालिकाले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेको छ। यसमा मार्क जुकरबर्गको पत्र शेयर गरिएको छ ।

पोस्टमा लेखिएको छ, “मार्क जुकरबर्गले तीनवटा कुरा स्वीकार गरेका छन्। पहिलो- बाइडेन र ह्यारिस प्रशासनले अमेरिकीहरूलाई सेन्सर गर्न फेसबुकलाई दबाब दियो। दोस्रो- फेसबुकले अमेरिकीहरूलाई सेन्सर गर्यो। तेस्रो- फेसबुकले हन्टर बाइडेनको ल्यापटप कहानीलाई सेन्सर गर्यो। यो अभिव्यक्ति स्वतन्त्रताको ठूलो जीत हो।”

चीनको निगरानी विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको जापानको दाबी

0

काठमाडौं: जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ ।

घटना स्थानीय समय अनुसार बिहान ११:२९ बजे भएको हो। चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो। कुरा डान्जो टापुको हो ।

जापानका मुख्य क्याबिनेट सचिवले उल्लङ्घनलाई “पूर्ण रूपमा अस्वीकार्य” भनेर वर्णन गरे र घटनाको विरोध गर्न चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाए।

क्षेत्रमा तनाव बढेको बेला घटना भएको हो । यहाँ चीनले अमेरिका र जापान लगायतका उसका अन्य सहयोगीहरु विरुद्ध आफ्नो प्रभाव बढाउन खोजिरहेको छ ।

जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो। तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन।

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँग यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै उनले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेका छन् ।

यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन।

‘हिंसा’ ले संसदमा तनाव

0

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर तनाव भएको छ।

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्नेलाई चन्दा मागेर धम्क्याएको आरोप लगाए।

उनले प्रयोग गरेकाे ‘हिंसा’ भन्ने शब्दलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरुले नियमापत्ति गरे। उनीहरुले उक्त शब्द संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे।

सत्तापक्ष एमालेका सांसदहरुले उक्त शब्द असंसदीय नभएको भन्दै हटाउन नहुने अडान राखे। “मैले केही दोष दिएको हैन। अध्ययनले भन्छ कि यदि यो देशमा माओवादी हिंसा १० वर्षसम्म नभएको भए नेपालमा विद्युत् उत्पादनका क्षेत्रमा योभन्दा ठूलो क्रान्ति हुने थियो। असुरक्षाले विद्युत्मा लगानी भएन। दश वर्षको हिंसा नभएको भए २०६५ सालमै लोडसेडिङ अन्त्य हुने थियो”, सांसद भट्टराईले भने।

सांसद भट्टराईले बोल्दै गर्दा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरे। उनले सांसद भट्टराईले गैरसंसदीय शब्द बोलेको टिप्पणी गरे। सांसद सापकोटाले नियमापत्ति जनाउँदै भने, “संसद सञ्चालनको नियमावली विपरीत नियमापत्ति हुने गरी शब्दहरु बोल्नु हुँदैन। माननीयले गैरसंसदीय अमर्यादीत शब्द बोल्नुभएको छ।”

सभामुख देवराज घिमिरेले हिंसा शब्दको प्रयोगबारे आफनो ध्यानार्कषण भएको उल्लेख गर्दै नियमित प्रक्रिया अगाडि बढाउन आग्रह गरे।
माओवादी केन्द्रका सचिव समेत रहनु भएका सांसद देवेन्द्र पौडेलले उक्त शब्द संविधान प्रतिकुल भएको भन्दै संसदको अभिलेखबाट फिर्ता लिन सभामुख घिमिरेसमक्ष अनुरोध गरे।

“सत्तापक्षमा रहेर बोलिरहनु भएका माननीयलाई खबरदारी गर्न चाहन्छु। यस प्रकारका शब्दको प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने अधिकार अहिलेको संविधानले दिँदैन”, सांसद पौडेलले भने।

यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै सदनमा नियमको उल्लंघन भइरहेको बताए। उनले उक्त शब्द संसदको अभिलेखबाट हटाउन माग गरे। एमालेका सांसद रघुजी पन्तले सांसद भट्टराईले प्रयोग गर्नुभएको शब्द असंसदीय नभएको जिकिर गरे।

उमेर हदका कारण अवकाशमा जान लागेका एआइजी ज्ञवालीसहित पाँच प्रहरी सर्वोच्चको शरणमा

0

काठमाडौं: उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्चको शरणमा पुगेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको थियो।

‘उमेर हदका कारण हुने अवकाशको विषयसमेत सम्बोधन हुनुपर्‍यो भन्ने माग दाबी गरी हामीले सामूहिक रुपमा निवेदन दिएका हौं,’ ज्ञवालीले भने, ‘यसबारे अदालतले बिहीबार पेशी तोकेको छ।’

यसअघि सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा हुने अवकाश कार्यान्वयन नगर्न निर्देशनात्मक आदेश दिएको थियो। सो आदेशविरूद्ध सरकारले भने सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको छ।

२१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगराउन अदालत गुहारेका थिए। प्रहरी नियमावली अनुसार अहिले एआइजीको उमेर ५६ र पदावधि पाँच वर्षको हुन्छ। तर, अधिकांश एआइजीहरू पदावधि नसकिँदै अवकाशमा जाने गरेका छन्।

डिआइजीहरूको समेत पदावधि पाँच वर्ष र ५६ वर्ष उमेर हद कायम गरिएको छ। तर, प्रहरी ऐन संशोधन प्रस्तावमा उमेर हद ५७ र सेवा अवधि चार वर्षमा झार्नुपर्ने उल्लेख छ।

प्रहरीका माथिल्लो तहका अधिकांश अधिकारी र पूर्वप्रहरी अधिकारीहरू ३० वर्षे सेवाहद हटाउनुपर्ने पक्षमा छन्।

३० वर्षे सेवावधि हटाउन माग गर्दै विगतमा सर्वोच्च अदालतमा रिटसमेत परेको थियो। उक्त रिटमा सर्वोच्चले ऐनमार्फत् नै अवकाशको विषय संशोधन गर्न परमादेश दिएको थियो।

२०७१ वैशाखमा कल्याण श्रेष्ठ, सुशीला कार्की, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले ‘अवकाशको उमेर हद, नियमावलीको संशोधनको बाटो अपनाई प्रहरी ऐनमै चाहिने व्यवस्थान गर्नू–गराउनू’ भनी परमादेश दिएको थियो।

एआइजी मदनबहादुर खड्कालगायतले ३० वर्षे सेवावधि हटाउन माग गरी दायर रिटमा त्यस्तो आदेश दिएको थियो। तर, सर्वोच्च अदालतको परमादेश अहिलेसम्म कार्यान्वयन भएको छैन।

तर, पदमा पुग्ने सीमित प्रहरी अधिकारीले त्यसलाई कार्यान्वयन नगराउन सरकारमाथि दबाब बढाउने गरेका छन्। राजनीतिक शक्तिकेन्द्र ‘एस म्यान’को खोजीमा लिप्त बन्ने गरेकाले अदालतको आदेश कार्यान्वयन भइरहेको छैन।

सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले निर्देशनात्मक आदेश दिएपछि केही प्रहरी अधिकृतहरूमा बेचैनी आएको छ।

यु-२० च्याम्पियनसिप: उपाधि जोगाउन चुक्यो नेपाल

0

काठमाडौं: यु-२० च्याम्पियनसिपको उपाधि जोगाउन नेपाल चुक्दा बंगलादेशले उपाधि आफ्नो पोल्टामा पारेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले सहज पराजित गर्दै उपाधि जितेको हो।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो। बंगलादेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए। त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।

त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए।

नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका हुन्। योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ।

धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी हुँदै

0

धरान (सुनसरी): धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन लागेको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको ६१औँ स्थापना दिवसका अवसरमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी मेला हुन लागेको आयोजकले जनाएको छ ।

मङ्गलबार आयोजक सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले मेला भदौ १३ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिनुभयो । महिला उद्यमशीलतामा जोडिए पनि व्यवस्थित बजारीकरणको अभावले अघि बढ्न कठिन भएकाले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ ।

मेलामा स्थानीय उत्पादन प्रवद्र्धनका लागि ४५ वटा प्रदर्शनी कक्ष राखिनुका साथै स्थानीय घरेलु उत्पादन, कृषिजन्य उत्पादन, हस्तनिर्मित सामान, दैनिक उपभोग्य सामान, गरगहना, सौन्दर्य सामग्रीलगायत राखिने सङ्घका सचिव महेन्द्र प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । यसबाट महिला उद्यमीको कार्यक्षमता, दक्षता र पेसा तथा व्यवसायमा उत्साह बढ्ने विश्वास लिइएको छ ।” मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

आगामी निर्वाचन एक्लै एक्लै लड्ने अवस्थामा पुर्याउन कार्यकर्तालाई नेता शर्माको निर्देशन

0

तुलसीपुर (दाङ): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहनुभएका शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनुभयो ।

“आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नेगरी पार्टीले छलफल अघि बढाएको छ”, उहाँले भन्नुभयो । पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनुभयो । पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताउनुभयो ।

डलरको भाउ बढ्यो

0

काठमाडौँ: आज अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङ्गलगायतका विदेशी मुद्राको भाउ बढेको छ । मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो ।

त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेकामा आज खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा तथा बेलायतको पाउण्ड स्ट्रलिङकाे मूल्य आज एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम छ । मङ्गलबार पाउण्ड स्ट्रलिङको भाउ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५९ रुपैयाँ १७ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम छ ।

बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम छ ।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम छ ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा कायम छ ।

डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६ पैसा र बिक्रीदर २० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा कायम छ । केन्द्रीय बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ ।