Friday, June 12, 2026
Home Blog Page 698

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

0

चितवन: वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो ।

यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ । यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराउँदै असोज १० मुख्य कार्यक्रम रहेको जानकारी दिए ।

अस्पतालले रक्तदान, ३० वर्षदेखि ५० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बाल क्यान्सरसम्बन्धी सचेतना, विदेशी विज्ञसहितको गोष्ठी, म्याराथुनलगायत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको अध्यक्ष डा न्यौपानेले बताए ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौं: मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

0

न्युयोर्क (अमेरिका): प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपाल स्पष्ट रहेको धारणा व्यक्त गर्नुभएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’

यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच आजै राष्ट्रसङ्घ भवनमा स्थानीय समयानुसार अपराह्न ५:१५ बजे भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतको सहभागिता छ।

कामको व्यस्तताका बीचमा पनि यौन सम्बन्ध राख्न आफ्ना नागरिकलाई पुटिनको अपिल

0

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा पनि समय मिलाएर शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन् । पुटिनले भने, “रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ।”

रुसका स्वास्थ्य मन्त्री डा. येभगेनी शेस्टोपालोभले कामको दबाब सन्तान नहुनुको बहाना हुन नसक्ने बताए । कामको बीचमा ब्रेक लिएर पनि शारीरिक सम्बन्ध राख्न सकिने उनले बताए । ब्रिटिस पत्रिका मेट्रोको रिपोर्टका अनुसार पुटिनले देशमा घट्दो जन्मदरलाई सच्याउनका लागि यस्तो बताएका हुन् ।

वास्तवमा, रूसमा जन्म दर प्रति महिला १.५ बच्चा छ। देशको जनसङ्ख्या कायम राख्न जन्मदर प्रति महिला २.१ बच्चा हुनुपर्छ । युक्रेन विरुद्ध युद्ध सुरु भएदेखि, रुसका १० लाख नागरिकले देश छोडेका छन्। यसमा अधिकांश युवा समूहका व्यक्तिहरू समावेश छन्।

पुटिनले देशको घट्दो जन्मदरबारे चिन्ता व्यक्त गरेको यो पहिलो पटक होइन । यसअघि गत वर्षको डिसेम्बरमा पुटिनले रुसी महिलालाई कम्तीमा ८ बच्चा जन्माउन आग्रह गरेका थिए । ठूला परिवारहरूको परम्परा रूसी घरहरूमा पेश गर्न आवश्यक भएको उनले बताएका थिए ।

पुटिनले भनेका थिए, “धेरै समुदायमा अझै पनि धेरै सन्तान जन्माएर परिवार बढाउने र परम्परालाई कायम राख्ने चलन छ। हामीले याद गर्न जरुरी छ कि हाम्रा हजुरआमाको पालामा अरेक घरमा ७-८ जना बालबालिका थिए।”

रुसी सरकारी तथ्याङ्कअनुसार रुसमा जन्मदर सन् १९९९ यताकै न्यून स्तरमा छ । जनसंख्याको हिसाबले विश्वका शीर्ष १० देशको सूचीमा रहेको रुसमा यस वर्षको जुन महिनामा १ लाखभन्दा कम बालबालिकाको जन्म भएको छ । सन् २०२४ को पहिलो आधामा करिब ६ लाख बालबालिकाको जन्म भएको थियो । यो गत वर्षको तुलनामा १६ हजार कम हो ।

रुसमा यस वर्षको जनवरीदेखि जुनसम्म ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । जसका कारण देशको जनसङ्ख्या निरन्तर घटिरहेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जुलाईमा भनेका थिए – यो अवस्था देशको भविष्यका लागि विनाशकारी हो।

रुसको उत्तर-पूर्वी क्षेत्र कारेलियाका अधिकारीहरूले आमा बन्ने तयारीमा रहेका कलेज विद्यार्थीहरूका लागि नयाँ योजनाहरू जारी गरेका छन्। यसअन्तर्गत स्थानीय कलेज तथा विश्वविद्यालयमा स्वस्थ सन्तान जन्माउने २५ वर्ष मुनिका छात्रालाई १ लाख रूबल दिइनेछ ।

यसअघि सन् २०२२ मा पुटिनले १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ नामको अवार्ड दिने घोषणा गरेका थिए । यो पुरस्कार दोस्रो विश्वयुद्धका बेला पनि महिलालाई दिइएको थियो । त्यतिबेला पनि रुसको जनसङ्ख्या तीव्र गतिमा घटिरहेको थियो। सन् १९९१ मा सोभियत संघ टुटेपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो ।

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै

0

काठमाडौं: श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। राजापाक्ष भागेपछि र सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो।

त्यसबेला श्रीलंकामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको थियो। त्यसपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बनेका थिए।

आज हुने निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ। मुलुकमा करवृद्धि, अनुदान र कल्याणकारी योजनामा ​​कटौतीका कारण अझै पनि धेरै जनता समस्यामा छन्। धेरै विश्लेषकहरु यस पटकको चुनावमा आर्थिक सुधारका लागि मतदाता चिन्तित हुने भएकाले चुनावमा द्वन्द्व देख्न सक्ने विश्वास गर्छन्।

राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन्।

स्थानीय समय अनुसार बिहान ७ बजेदेखि अपराहन्न ४ बजेसम्म देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। यस निर्वाचनका लागि १७ मिलियन मतदाता मतदानका लागि योग्य रहेको बताइएको छ। श्रीलंकामा १८ बर्ष पुगेर दर्ता गरेका नागरिकले मतदान गर्न पाउने संबैधानिक व्यवस्था छ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ।

सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शिर्ष दुई उम्मेदवार मध्ये एक;लाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ।

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ।

लेबनानमा पेजर र वाकीटकी विस्फोटप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

0

काठमाडौं: संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा जारी द्वन्द्वले अहिलेसम्म देखेको विनाशलाई पछि पार्न सक्ने चेतावनी दिएको छ ।

राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा यो बयान दिएकी हुन् । उनले हिजबुल्लाहद्वारा पेजर र वाकीटकीजको प्रयोगको बारेमा कुरा गरिरहेकी थिइन्।

संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भने,‘इजरायलमा व्यापक आक्रमणको आरोप युद्ध अपराध हुन सक्छ।‘इजरायली संयुक्त राष्ट्रका दूत ड्यानी ड्याननले बम विष्फोटको उल्लेख गरेनन्, तर आफ्नो देशले आफ्नो रक्षाको लागि जे पनि गर्न आवश्यक छ’ उनले भने ।

हिजबुल्लाहमा पेजर र वाकीटकीको विष्फोटपछि मध्यपूर्वमा उत्पन्न संकटबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बसेको छ । जहाँ संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भने,‘सञ्चार उपकरणमा विष्फोट गरेर लेबनानका जनतालाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हो।’

हिजबुल्लाहले आफ्ना वरिष्ठ सैन्य कमाण्डर इब्राहिम अकिल शुक्रबार बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको स्वीकार गरेको छ। यसअघि इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ अधिकारीहरूसँग उनी पनि मारिएको बताएको थियो।

यस हमलाको सम्बन्धमा लेबनानी अधिकारीहरूले भने,‘इरान समर्थित समूहको गढ मानिने दहेह क्षेत्रको घनी जनसंख्या भएको क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।’

बेरुतमा शुक्रबार इजरायली हमला जुलाई यताको पहिलो आक्रमण हो। पछिल्लो आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए।

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा

0

काभ्रेपलाञ्चोक: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन्।
आज काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव विपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको उनले बताए।

‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ’, देउवाले भने। उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ।’ उनले दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने बताए।

सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए। ‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ। जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ’, सभापति देउवाले भने।

सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। “नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैपर्‍यो, यसका लागि म सबै साथीहरूलाई पुनः आग्रह गर्दछु’, उनले भने। हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो। ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्‍यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्‍यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ’, उनले थपे।

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्‍याए। उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘यो ठूलो गौरवको विषय हो।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपीपुत्र डा शशांक कोइरालाले बिपी कोइरालालाई पुजेर मात्रै हैन उनको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘कांग्रेसीजनले बिपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ।’ उनले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रवर्द्धन गर्न आग्रह गरे।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्तअनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरीब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाईएको बताए। केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बिपी कोइराला कमकालीन राजनीतिमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उनले विचार आदर्श कहिल्यै नमर्ने धारणा राखे।

पार्टीका अर्का केन्दीय सदस्य मधुप्रसाद आचार्यले महामानव बिपीको विचार आज पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले लोकतत्न्त्र बलियो बनाउन उनको आदर्श पछ्याउनुपर्ने बताए। यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णयअनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताए। सो अवसरमा पार्टीको बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तिर्थ लामालगायतले महामानव बिपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गरेका थिए।

कुलमान र उपसभामुखलाई हटाउन खोज्दा सरकार सुरुमै असफल भयो: प्रचण्ड

0

काठमाडौ: नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गरेका छन्।

आज काठमाडौंमा आयोजित नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गरेका हुन्।

‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्‍यो’, अध्यक्ष प्रचण्डले भने, ‘त्यस्तै आफैले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारविना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्‍यो।’

उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको उल्लेख गर्दै उनले भने– ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरु पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसदलाई ढाँटेको पनि देखियो।’

वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए।

आजको मौसम: बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेका कारण देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल

0

कर्णाली: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनाअनुसार अझै मानसिकतामा परिवर्तन हुन नसकेको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा देश सङ्घीय संरचनामा गए पनि मानसिकता भने परम्परागत केन्द्रीयतानुसार नै रहेको उनले बताए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदार तथा दातृ निकाय पनि काठमाडौँ केन्द्रीत मानसिकतामा रहेको धारणा राखे। ‘राजनीतिक रूपमा पालिका र प्रदेश सरकारका संरचना बनायौँ तर त्यहीअनुसार सुदृढतापूर्वक अगाडि बढ्न सकेका छैनौँ ।

यसमा सुधार गर्नुपर्ने आवश्यकता छ,’ उनले भने,’सबै तहका संवैधानिक अधिकारको कार्यान्वयनका लागि समयसापेक्ष संविधान संशोधनका लागि मतैक्यता बनाउनतर्फ लाग्नुपर्छ । यसमा निर्वाचित जनप्रतिनिधि, मन्त्री र विशेष गरी दलका नेतृत्वहरूको भूमिका बढी छ ।’

मख्यमन्त्री कँडेलले कर्णालीमा वित्तीय स्रोतको वितरण असन्तुलित रहेकाले यसका सूचक बदल्नुपर्ने र वित्तीय सङ्घीयताका विषयमा सङ्घीय सरकार थप उद्धार हुनुपर्नेमा जोड दिए । सङ्घीय सरकारले अन्य प्रदेश सरह बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको उनको भनाइ थियो ।

कार्यक्रममा आयोजक फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टर ललितपुरका अध्यक्ष डा खिमलाल देवकोटाले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, सङ्घ, प्रदेश र स्थानीयमा स्रोत बाँडफाँड सुनिश्चितताको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सेन्टरका निर्देशक तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेले पछिल्लो समय संविधान र सङ्घीयताका विषयमा उठेका सवालमा सहजीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको बताए ।