Friday, June 12, 2026
Home Blog Page 697

सहकारी प्रकरणमा जबर्जस्ती दोषी देखाएर राजनीतिक प्रतिरोध साध्न खोजियो -रवि लामिछाने

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि राजनीतिक प्रतिरोध साँध्न खोजेको आरोप लगाउनुभएको छ ।

प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राती पार्टीका नेताहरुसंगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जबर्जस्ती दोषी देखाएर राजनीतिक प्रतिरोध साँध्न खोजेको आरोप लगाउनुभएको हो । उहाँले आफुलाई पक्राउ गर्ने बिषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाए पनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सहकारी छानविन समितिको प्रतिवेदनले समेत सहकारी प्रकरणमा कुनै संलग्नता नरहेको देखाएपछि आफुबिरुद्ध मिडिया ट्रयाल गर्न खोजिएको उहाँले बताउनुभयो । लामिछानेले आफु निर्दोष रहेकाले जस्तोसुकै अनुसन्धानमा सघाउन तयार रहेको जिकिर गर्नुभयो । लामिछानले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने तर कसैको अन्याय नसहने स्पष्ट पार्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले सम्बन्धीत निकायले पक्रने कुनै तयारी नरहेको भने पनि आफुलाई राज्यले जुनसुकै बेला पनि पक्रन सक्ने भएकाले व्यक्तिगत रुपमा नभइ पार्टीगत रुपमा प्रतिवादका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुने : परराष्ट्रमन्त्री डा राणा

0

न्युयोर्क (अमेरिका): संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको हो ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताउनुभयो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिनुभयो ।

दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

आइसिसी विश्वकप क्रिकेट : नेपाल हारको शृंखला रोकिएन, क्यानडासँग पाँच विकेटले पराजित

0

काठमाडौँ: क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

इरानमा कोइला खानीमा विष्फोट: कम्तीमा २८ जनाको मृत्यु

0

काठमाडौं: इरानको दक्षिण खोरासान प्रान्तको कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएको सरकारी टेलिभिजनले आइतबार जनाएको छ ।

२४ जना अझै बेपत्ता छन् । मदान्जु कम्पनीद्वारा सञ्चालित खानीको दुई ब्लकमा मिथेन ग्यास विस्फोट हुँदा दुर्घटना भएको सरकारी टेलिभिजनले जनाएको छ। विस्फोट हुँदा ब्लकमा ६९ जना कामदार रहेको बताइएको छ।

“१७ जना घाइतेहरूलाई अस्पताल लगिएको छ र २४ जना अझै बेपत्ता छन्”, इरानको रेड क्रिसेन्टका प्रमुखलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ।

विस्फोट शनिबार स्थानीय समयअनुसार राती ९ बजे भएको थियो । राष्ट्रपति मसूद पेजेस्कियनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। “मैले मन्त्रीहरूसँग कुरा गरें र हामी अनुगमन गर्न सक्दो प्रयास गर्नेछौं”, पेजेस्कियनले टेलिभिजन टिप्पणीमा भने।

 

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त

0

काठमाडौं: गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट बर्खास्तसमेत गरिएको छ ।

जुलाई २०२३ मा, ट्राभिसलाई गैर-कमीशन अफिसरमाथि आक्रमण र सेना परित्याग गरेको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताए ।

टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर भएको थियो भने अन्य आरोप खारेज गरिएको थियो ।

ट्राभिस किंग जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।

मुलुक ऋणको भारमा थिचिंदै: दुई महिनामै थपियो ९४ अर्ब ५२ करोड सरकारी ऋण

0

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण रु ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर रु १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ। जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण रु १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण रु १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो। पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा रु १४ अर्ब पाँच करोड खर्च गरेको छ भने यहि अवधिमा रु चार अर्ब ६७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा रु एक खर्ब चार अर्ब पाँच करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए। वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल रु चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा रु ४७ अर्ब ७१ करोड ५१ लाख बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

दुर्गा प्रसाईं पक्राउ

0
file photo

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनी भक्तपुरबाट पक्राउ परेका हुन्।

प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो।”

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

0

काठमाडौं: सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले कारबाही सिफारिस गरेको तत्कालीन प्रवन्ध निर्देशक रहेका रास्वपा सभापति लामिछाने पनि प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

लोकतन्त्रमा दल बलियो हुनुपर्छ : महासचिव पोखरेल

0

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताउनुभएको छ ।

दाङको घोराहीमा एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उहाँले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताउनुभयो । “कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबीचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ”, उहाँले भन्नुभयो, “एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।”

महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको उल्लेख गर्नुभयो । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

गोठालाहरू विदेशीपछि हराउन थाले गोठहरू

0

काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताउनुभयो । अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएको छ । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उहाँ आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा हुनुहुन्छ ।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उहाँले भन्नुभयो, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानुभएको छ । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथँे । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्”, उहाँले भन्नुभयो, “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उहाँले भन्नुभयो, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताउनुभयो । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।