Tuesday, June 16, 2026
Home Blog Page 693

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

0

काठमाडौं: सर्वोच्च अदालतले सिधाकुरा डटकमका सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ।

अदालतको अवहेलना गरेको ठहर गर्दै सर्वोच्च अदालतले यस्तो सजाय सुनाएको हो।

सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो।

त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ। सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत इजलासले उक्त फैसला गरेको हो।

अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सिधा कुरा डटकमले ‘डार्क फाइल्स’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो।

सिधाकुरा डटकमले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ लगायतका शीर्षकमा समाचार लेखेको थियो।

यसरी समाचार प्रसारण भएपछि झुट्टो भन्दै सर्वोच्चमा रिट परेको थियो। त्यस रिटमा सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनालाई प्रतिवादी बनाइएको थियो।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाए सर्वदलीय बैठक

0

काठमाडौं: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो एक बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्। प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ।

यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ। त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ।

अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपदमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन्।

मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन्।

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

0

खोटाङ: अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७ घर बगाएको छ । तीन दिनदेखि लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी तथा पहिरोले २७ वटा घर पूर्णरुपमा बगाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले बाढीपहिरोका कारण हालसम्म मानवीय क्षति नभए पनि दुईजना घाइते भएका, आठवटा पशुचौपाया पुरिएका बताउनुभयो । “बाढीपहिराले हालसम्म मानवीय क्षति नभए पनि जिल्लामा ठूलो क्षति गरेको छ । अझै पनि वर्षा भइरहेकाले सतर्कता अपनाउन र बाढीपहिरोबाट विस्थापितको उद्धारमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका टोली परिचालन गरिएका छन्”, प्रजिअ कार्कीले भन्नुभयो ।

पहिरोले घरबारविहीन भएका स्थानीयलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जनाइएको छ । पहिरोले घर बगाएपछि करोडौँको क्षति व्यहोरेका स्थानीय बासिन्दालाई राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटार पुल बगाएको छ । पुल बगाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुलसमेत बगाएपछि यातायात अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण जिल्लाका सबै सडक अवरुद्ध भएको जनाइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

भीषण बाढीले दूधकोशी तथा सुनकोशी आसपासका स्थानीय बासिन्दा जोखिममा परेका छन् । सुनकोशीमा ४० वर्षयताकै ठूलो बाढी आएको हलेसी तुवाचु नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष फौदराज राईले जानकारी दिनुभएको छ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

0

काठमाडौँ: नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले नेपालमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उहाँले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ भन्नुभयो ।

फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो । जेहेन्दार विद्यार्थीलार्ई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत कोर्टेभालले व्यक्त गर्नुभयो र

त्यस अवसरमा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो ।

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टी पंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विपदको समयमा उच्च मानवीयता प्रदर्शन गर्दै समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सक्रियतापूर्वक जुट्न पार्टीले अपिल गरेको हो ।

“दुई दिनयता परेको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ, मनसुनजन्य विपत्तिका कारण आज धेरै मानवीय क्षति भएको छ । धेरै घाइते र सम्पर्क बाहिर रहेका प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै देशभरबाट दुःखद खबर आउने क्रम जारी छ । त्यसैले यो विपत्को समयमा उच्च सतर्कतासहित उद्धारमा खट्न अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जल तथा मौसम विज्ञान विभागलगायतका सम्बद्ध निकायहरूले एक हप्ता अघिदेखि नै यस किसिमको बर्सात र सम्भावित क्षतिको पूर्वानुमान गरेको भए पनि पूर्वतयारीमा आवश्यक ध्यान दिन नसक्दा ठूलो जनधनको क्षति भएको छ । विपत्तिपूर्ण घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नु आवश्यक छ ।”

यस्तै, दसैँ, तिहार, छठलगायत चाडपर्वलाई ध्यानमा राखेर बन्द रहेका सडकमार्ग यथासक्य छिटो खुलाउन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ ।

उत्तरी गोरखाको साम्दोमा हिमपात, रोकिए पर्यटक

0

गोरखा: उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा हिमपात भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
हिमपातका कारण यस क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ । “शुक्रबार साँझदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपात करिब डेढ फिटसम्म जमेको छ”, उहाँले भन्नुभयो, “हिमपात परेपछि अहिले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ, जसले जनजीवन प्रभावित भएको छ ।”

सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) साम्दोका प्रमुख प्रहरी निरीक्षक विश्व त्रिपाठीले स्थानीयवासी घरबाहिर निस्कन कठिनाइ भएको छभने लार्केपास पदमार्गमा पुगेका पर्यटकलाई आवाजजावतमा समस्या भएको बताउनुभयो ।

नेपालको हिमाली क्षेत्र ‘पदयात्राका लागि उत्कृष्ट’

0

लेखनाथ (कास्की) : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताउनुभएको छ । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा शनिबार यहाँ आयोजित रुसी नागरिक युरी रोडिचेभद्वारा खिचिएका हिमालहरुको फोटो प्रदर्शनी एवं पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले हिमाली क्षेत्रको महत्व विश्वभर प्रचारप्रसार गर्न जरुरी भएको उल्लेख गर्नुभयो । जलवायु परिवर्तनकै कारण नेपालका हिम शृङ्खलामा हिउँ पग्लिने क्रम बढिरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरलाई कम गरी हिमालहरुको संरक्षण गर्नतर्फ सरकार र पर्यटन सम्बद्ध संस्थाहरुले ध्यान दिन जरुरी भएको बताउनुभयो ।

पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै मुख्यमन्त्री पाण्डेले पर्यटनबाट नै गण्डकी प्रदेशको समृद्धि सम्भव हुने बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको विकास र प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “अधिकाशं विदेशी पर्यटक हिमाली क्षेत्रको पदयात्राकै लागि नेपाल आउने गरेकाले यहाँको पदमार्गको प्रचारप्रसार विदेशमा गर्न जरुरी छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

रुसी नागरिक रोडिचेभले २१ वर्षको समय खर्चिएर नेपालका हिमाली क्षेत्रको तस्बिर खिचेर रुसका विभिन्न ठाउँमा प्रदर्शन गरी त्यहाँका आठ करोड जनतालाई नेपालका हिमालहरुका बारेमा जानकारी दिएकामा मुख्यमन्त्री पाण्डेले उहाँको प्रशंसा गर्नुभयो । नेपालका हिमालहरुको महत्व नेपालीले भन्दा पनि विदेशीहरुले बुझेको उल्लेख गर्दै उहाँले हिमालहरुको विदेशमा प्रचार गरी बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन जरुरी भएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश संस्कृति र प्रकृतिले धनी भएकाले यहाँ पर्यटनका सम्भावनाहरु प्रशस्त रहेको बताउनुभयो । गण्डकी प्रदेश नेपालकै उत्कृष्ट पर्यटकीयस्थल भएकाले प्रदेश सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले विविधताको धनी गण्डकी प्रदेशको पर्यटन विकासमा सङ्घ र प्रदेश सरकारले ध्यान दिन जरुरी भएको बताउनुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनको असरकै कारण हिमालहरुमा हिउँ पग्लन थालेको र त्यसलाई कसरी कम गराउन सकिन्छ भन्ने बारेमा सोच्ने बेला आएको बताउनुभयो । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका संस्थापक हरिध्वज तुलाचनले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

रुसी नागरिक रोडिचेभले आफूले हिमालका चित्र खिच्दा निकै दुःख पाएको र अहिले ती तस्बिर हेर्दा खुसी लागेको बताउनुभयो । चौरासी वर्षीय रोडिचेभले २१ वर्षको समयावधिमा ३२ पटक नेपाल आएर नेपालका हिमालहरुको तस्बिर खिच्नुभएको थियो । उहाँका १४० हिमालका चित्र पुस्तक र फोटो यहाँ सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

0

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

च्यासलमामा अड्किएको ग्यास बुलेट निकाल्न समस्या

0

काठमाडौँ: हनुमन्ते खोलाले बगाएर ल्याएको ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । ललितपुरका एसएसपी शेखर खनालका अनुसार तत्कालका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
बुलेटमा भएको ग्यास लिक भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको
छ । एसएसपी खनालले भने, ‘बुलेटबाट ग्यास चुहिएको हुनाले जोखिम बढेको छ ।’

भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

0

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। अविरल वर्षाले ल्याएको बाढी, पहिरो, डुबानका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्। मन्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ।

भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको मन्त्रालयले जनाएको छ, कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा आज बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद् व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र अन्य सबैले सक्रिय भई लाग्न अनुरोध गरेको गरेको छ ।

साथै बैठकले हाललाई विश्वविद्यालय परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ। मन्त्रालयले सोही अनुसार गर्न समेत अनुरोध गरेको हो। विपदबाट शैक्षिक क्षेत्रमा सिर्जित कुनै पनि प्रकारका समस्याका बारेमा मन्त्रालयका निम्नलिखित सम्पर्क नम्बरमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

education