Tuesday, June 16, 2026
Home Blog Page 690

“न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?”- प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न

0

काठमाडौं: “न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरल रूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ?” समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रश्न गर्नुभयो।

समितिका सदस्य कार्कीको जस्तै प्रश्न अर्का सदस्य ईश्वरी घर्तीको पनि छ। उनको प्रश्न थियो, ‘न्याय महँगो भयो, सर्वसाधारणले कसरी न्याय पाउने ?’ समितिका सदस्य डोरप्रसाद अर्यालको प्रश्न पनि कार्की र घर्तिसँग मिल्दो छ, ‘न्याय महँगो छ, गरिबले कसरी न्याय पाउने ? समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको भनाइ थियो, ‘जनताको आंक्षाक्षाविपरीत न्यायालयले निर्णय गर्न भएन।’ त्यस्तै, समितिका अर्का सदस्य लीलानाथ श्रेष्ठको पनि भनाइ उस्तै छ, ‘सर्वोच्च अदालत न्याय पाउने अन्तिम आशा र भरोसाको केन्द्र हो, त्यसले न्याय मर्न नदिनेगरी निर्णय गर्नुपर्छ।’

समितिका सदस्यहरूको कही न कही न्याय पाउने प्रक्रिया सरल, सहज हुनुपर्‍यो र न्यायालयबाट हुने निर्णयमा धनी र गरिब भनेर छुटिनु भएन भन्नेमा नै केन्द्रित थियो।

समितिका सदस्यहरूको प्रश्नमा प्रस्तावित प्रधानन्यायाधीश राउतले भने, ‘विपन्नले न्याय नपाउँदा कति प्रताडना हुन्छ, मैले महसुस गरेको छु, संवैधानिक सीमाभित्र रहेर काम गर्छु, निश्कलंक छवि राखेर निष्पक्ष रूपमा काम गर्छु।’ उनले निष्पक्ष न्याय दिन सकियोस् भनेर नै सधै संवेदनशील र सचेत हुने गरेको स्पष्ट पारे।

सिंहदबारस्थित प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइका क्रममा समितिका सदस्यहरू जीवन परियार, सुनिता बराल, प्रकाश अधिकारी, जनार्दन शर्मालगायतले बार र बेच्नबीच राम्रो सम्बन्ध नभएको र न्यायपरिषद् नियमावलीको विषयमा जिज्ञासा राखेका थिए। जवाफमा प्रस्तावित प्रधानन्यायाधीश राउतले भने, ‘यसबारेमा म अध्ययन गरेर वैधानिक निकास खोज्छु।’

समितिमा सदस्यहरूले अदालतमा विचौलिया रोख्नुपर्ने, सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने, न्याय प्रक्रियामा सेवाग्राहीलाई राम्रो व्यवहार गर्नुपर्ने, न्याय हुनेगरी निर्णय गर्नुपर्नेलगायत विषयमा सवाल राखेका थिए। प्रस्तावित न्यायाधीश राउतले पञ्चवर्षीय र आफ्नो कार्ययोजनाअनुसार काम गर्ने बताए। उनले न्यायालय सुधार र न्यायका उपभोक्तालाई राम्रो व्यवहार गर्न सबै निकायमा निर्देशन दिने समितिसमक्ष प्रतिबद्धता व्यक्त गरे।

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना

संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा नेपालको संविधान, न्याय प्रशासनसम्बन्धी प्रचलित कानुन, न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना, न्यायपालिका तथा न्याय प्रशासनको सुधारका लागि काम गर्ने उल्लेख छ।

विसं २०६१ मा न्यायपालिकामा रणनीतिक योजना लागू गर्दाको अवस्थामा अदालतमा जम्मा मुद्दाको वार्षिक लगत एकलाख सातहजार छ सय ४१ थान रहेकामा २०८१ असार मसान्तमा आइपुग्दा सो तीन लाख, ६९ हजार दुई सय नौ पुगेको छ। त्यतिबेला मुद्दाको वार्षिक फछ्र्यौट ५३ हाजार आठ सय १२ थान रहेकामा अहिले दुई लाख, आठ हजार, एक सय ८४ थान रहेको छ। यस हिसाबले अदालतको कार्यबोझ तीन गुणाले बढेको र फर्छ्योटसमेत सोही अनुपातमा वृद्धि भएको छ। सर्वोच्च अदालतमा अहिले करिब २५ हजार मुद्दा रहेका छन्।

न्यायालय सुधारका योजनामा न्यायपालिकाको पाँचौँ रणनीतिक योजनाले सर्वोच्च अदालतको मुद्दा फर्छ्योट तथा पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरण सम्बन्धमा निर्धारण गरेका लक्ष्य हासिल गर्नेगरी मुद्दा व्यवस्थापनका उपयुक्त एवम् प्रभावकारी उपायहरूको अवलम्बन गरिने रहेको छ।

सर्वोच्च अदालतमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरूको क्षेत्राधिकारसम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरी कार्यान्वयन गर्ने, संवैधानिक इजलासको कार्यसञ्चालनको प्रभावकारिताका लागि इजलासको सञ्चालन र कारबाही प्रक्रियालगायत विषयमा अध्ययन गरी कार्यान्वयन गर्ने रहेको छ।

पुराना बक्यौता मुद्दा लक्ष्यबमोजिम फर्छ्योट गर्न पेशीलगायत बक्यौता मुद्दाको व्यवस्थापनसम्बन्धी विशेष कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने, मुद्दाको प्रकृति, विषयवस्तु र मुद्दामा रहेको विवादित विषयको गाम्भीर्यताका आधारमा बहसको समय निर्धारणलगायत सुनुवाई व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरूको अवलम्बन गर्ने रहेको छ।

भौगोलिक विकटतालाई प्राथमिकतामा राखी अदालतमा भिडियो कन्फरेन्सिङमार्फत बहसलगायत मुद्दाको कारबाही र सुनुवाइ गर्ने कार्यलाई क्रमशः विस्तार गर्ने, मुद्दाको कारबाहीको अवस्थासम्बन्धी जानकारी एसएमएस तथा मोबाइल एप्समार्फत मुद्दाको पक्षलाई उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउने रहेको छ।

कार्ययोजनामा वैतनिक कानुन व्यवसायी तथा स्वेच्छिक निःशुल्क कानुनी सेवा ९प्रोवोनो० लाई थप प्रभावकारी बनाई लक्षित वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक कार्यक्रमको निर्माण र कार्यान्वयन गरिने उल्लेख छ।

पीडित न्याय प्रणालीको प्रवर्द्धनका लागि उपयुक्त कार्यक्रमको निर्माण र कार्यान्वयन गरिने, मुद्दाको कारबाहीका क्रममा अपराधपीडितको सुरक्षा, सूचना, गोपनीयता, आत्मसम्मान, निःशुल्क कानुनी सहायतासम्बन्धी हकको व्यावहारिक कार्यान्वयनको लागि दिग्दर्शन बनाई लागू गर्ने रहेको छ।

त्यस्तै, पीडितले पाउने अन्तरिम राहत तथा क्षतिपूर्ति रकम भराउने कार्यलाई शीघ्र, सहज र सम्मानजनक बनाउन सोसम्बन्धी प्रक्रियालाई सरलीकृत गर्ने, न्याय प्रणालीलाई लैंगिकमैत्री तथा सामाजिक समावेशी बनाउन उपयुक्त रणनीतिहरू अख्तियार गरी प्रभावकारी कार्यान्वयन गरिने रहेको छ।

न्यायपालिकामा लैंगिक समानता र सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिको निर्माण गरी लागु गर्ने, अदालतका भौतिक संरचना र कार्यवातावरण लैंगिकमैत्री बनाई लैंगिक हिंसा वा दुव्र्यवहार हुन नपाउने व्यवस्था गर्ने र न्यायपालिकामा कार्यरत महिला न्यायाधीश तथा महिला कर्मचारीको व्यावसायिक क्षमता तथा नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गर्ने रहेको छ।

न्यायाधीश नियुक्तिमा संविधानको भावनाअनुरूप समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने, न्यायाधीशको नियुक्ति संविधान र कानुनबमोजिम निर्धारित अवधिभित्र सम्पन्न गरी अदालतहरूमा न्यायाधीशको कमी हुन नपाउने अवस्था सुनिश्चित गर्ने, न्यायाधीशउपर परेका उजुरीहरूको छानबिन र कारबाही सोसम्बन्धी कार्यविधिका आधारमा शीघ्रतापूर्वक सम्पन्न गर्ने उल्लेख छ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।

कालिका खड्का/रासस

 

इजरायलमाथि इरानको मिसाइल वर्षा (तस्बिरसहित)

0

तेल अभिभ: इरानले मंगलबार राति इजरायलमाथि सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो।

iran missile attack (10)

इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।

इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ ।

iran missile attack (1)

इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ ।

  • इरानको यो आक्रमण कति ठुलो थियो ?

यो अप्रिलमा भएको आक्रमणको तुलनामा केही ठुलो आक्रमण हो। पाँच महिनाअघि इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो।

इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समय अनुसार बेलुका ७:४५ बजे (नेपाली समय अनुसार १०:३० बजे) भन्दा केही समय अगाडि तेल अभिभ र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखियो।

सैन्य अधिकारीहरूले आक्रमणको क्रममा केही क्षेप्यास्त्रहरूले उनीहरूको लक्षित लक्ष्यमा प्रहार गर्न सफल भएको पुष्टि गरे । सेनाका प्रवक्ताले आक्रमणहरू इजरायलको मध्य र दक्षिणी भागमा भएको बताएका छन् ।

iran missile attack (3)

इरानको इस्लामिक रेभुलुसनरी गार्ड कोरले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल (मिसाइल/ड्रोन) ले सही लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।

स्रोतहरूले इरानको सरकारी मिडियालाई दिएको जानकारी अनुसार आक्रमणको लक्ष्य तीन इजरायली सैन्य आधारहरू थिए। तर इजरायली सेनाले इरानले प्रहार गरेको मिसाइलहरूमध्ये ’ठुलो सङ्ख्यामा’ नष्ट भएको दाबी गरेको छ।

iran missile attack (4)

तेल अभिभ माथिको आकाशमा चम्किलो प्रकाश देखिएको थियो । जसले इजरायली हवाई सुरक्षा प्रणालीले मिसाइलहरूलाई रोकेको सङ्केत गर्छ।

  • इरानले किन इजरायलमाथि आक्रमण गर्‍यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले एक विज्ञप्तिमा आईआरजीसीका एक शीर्ष कमाण्डर र इरान समर्थित मिलिसिया समूहका नेताहरूको हत्याको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।

iran missile attack (12)

विज्ञप्तिमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आईआरजीसी कमाण्डर अब्बास निलफोरोशनको बेरुतमा मृत्यु भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा जुलाई महिनामा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको मृत्यु भएको पनि उल्लेख छ। इजरायलले हानियाको मृत्युको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिन्छ।

iran missile attack (8)

एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले व्यक्तिगत रूपमा आक्रमणको आदेश दिएको बताए ।

वास्तवमा, इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन। इजरायल इरानको सैन्य नीतिको केन्द्रबिन्दु रहेको छ।

iran missile attack (13)

अर्कोतर्फ इजरायलले इरानलाई आफ्नो अस्तित्वका लागि खतरा मान्दै वर्षौँदेखि यसविरुद्ध गोप्य अभियान चलाउँदै आएको छ ।

iran missile attack (5)iran missile attack (6)iran missile attack (7)iran missile attack (9)iran missile attack (11)iran missile attack (14)

बीबीसी/रोयटर्स

अमेरिकी र्यापर सिनी डिडी कम्ब्समाथि यौन दुर्व्यवहारका सयभन्दा धेरै आरोप

0

लस एञ्जलस । अमेरिकी र्‍यापर सिन डिडीमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै सयौं मुद्दा परेका छन्।

एक जना अमेरिकी वकिलले यस्तो बताएको भन्दै बीबीसीले समाचार छापेको छ । समाचारका अनुसार उनीमाथि यौन दुर्व्यवहार , बलात्कार र यौन उत्पीडनका मुद्दा लागेका छन् । पीडितमध्ये केही नाबालिग रहेको र उत्पीडनको समयमा उनीहरूको उमेर थोरैमा ९ वर्षसम्म रहेको पाइएको टेक्ससस्थित वकिल टोनी बजबीले भनेका छन् ।

तर डिडीकौ वकिलले भने आफ्ना क्लाइन्टमाथिको आरोप अस्वीकार गरेका छन् । सबै आरोप झुटा र उनको मान मर्दन गर्न लगाइएको एरिका वल्फको भनाई थियो । डिडी गएको हप्ता मात्रै पक्राउ परेका थिए । उनीमाथि यौन धन्दा चलाएको र यौन तस्करी गरेको भन्दै मुद्दा चलाइएको छ ।

उनी हाल सङ्घीय हिरासतमा छन् । अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो । डिडीले भने आफूमाथिको सबै आरोप अस्वीकार गरेका छन् ।

सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

0

कमलामाई (सिन्धुली):  यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ । राजमार्ग छेउका होटल व्यवसाय ठप्प जस्तै छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ । रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ ।

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ । नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन । सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ । कतिपय भिरका रुखहरु सडकतर्फ नै ढल्किएका देखिन्छन् । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ ।

महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामोे राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी,तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो ।

यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ ।

राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयास

बिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन । यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ । दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो । दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ ।

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

कानढुङ्ग्रीमा डाइभर्सन निर्माण

बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ । शनिबारसाँझसम्म सञ्चालनमा रहेको सडक आइतबार बिहान कालोपत्रसहित धसिएर नदीमा खसेको थियो । सोही सडकको भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ ।

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो । बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।

उहाँ अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मङ्गलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसी देखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ । बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनःनिर्माणको चरणमा रहेको उहाँले बताउनुभयो ।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण रुपमा क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ ।

थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए ।

विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो ।

राजमार्ग पूर्ण रुपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ । यद्यपि दसैँअघि नै राजमार्ग पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबैपक्ष जुटेका छन् ।

समोसामा कीरा भेटिएपछि होटललाई २० हजार जरिवाना

0

सिरहा: ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले. रु २० हजार जरिवाना गरेको छ ।

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो ।
उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका रु एक लाख २५ हजार छ सय ८० मूल्यका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिएको छभने ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।

बाढीपहिरो र डुबानबाट मधेसमा पाँच अर्ब बढीको क्षति

0

धनुषा: हालैको बाढीपहिरो र डुबानबाट मधेसमा व्यापक क्षति भएको छ । प्रारम्भिक विवरणअनुसार पशुपक्षी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधार रु पाँच अर्ब बढीको हानी भएको छ ।

अन्न भण्डारका रूपमा परिचित मधेसका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।

मङ्गलबारसम्मको प्रारम्भिक विवरणानुसार विपद्बाट धान बालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिनुभयो । कृषि अर्थविद् जोशीका अनुसार मधेस प्रदेशको धानखेती तहसनहस भएको छ । मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा धान बाली नष्ट भएको छ ।

मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार वर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा रु पाँच अर्ब ३३ करोड ७५ लाखको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।

यसैगरी चार हजार तीन सय ९३ हेक्टरमा लगाइएको सागसब्जी नष्ट हुँदा रु एक करोड ३२ लाख, २२ हेक्टर क्षेत्रमा लगाइएको फलफूलमा क्षति हुँदा रु ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा रु तीन करोड ४० लाखको क्षति भएको अनुमान गरिएको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार दुई हजार तीन सय हेक्टर क्षेत्रमा मत्स्यपालन प्रभावित हुँदा रु २३ करोडको क्षति अनुमान गरिएको जनाउनुभयो । डुबानका कारण १४ हजार दुई सय पाँचवटा पशुपक्षी मर्दा रु ७६ लाख बराबरको क्षति भएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार मधेसका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको छ । रौतहटमा १० हजार दुई सय ४३ हेक्टरको धान बाली प्रभावित हुँदा रु एक अर्ब २२ करोड ९१ लाख ५० हजार, सप्तरीमा नौ हजार तीन सय ६७ हेक्टरको धान बाली नोक्सान हुँदा रु एक अर्ब २२ करोड ४० लाख ४० हजार, बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रमा लगाइएको धान बालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।

यसैगरी सर्लाहीमा छ हजार पाँच सय ८४ हेक्टर क्षेत्रको धान बाली क्षति हुँदा रु ६९ करोड, सिराहामा १५८.६ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको छ । पशुपक्षीमा सबैभन्दा बढी पशुधन नाश सर्लाहीमा भएको छ । मधेसमा १४ हजार दुई सय पाँच पशुपक्षी मरेका छन्भने सर्लाही मात्र १० हजार पशुपक्षी नष्ट भएका छन् । धनुषामा सात सय हेक्टर बालीमा क्षति भएको छ ।

बचत अपचलन मुद्दामा नगरप्रमुख नेपालीलाई कारागार चलान

0

गलकोट (बागलुङ): बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो । इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मङ्गलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाइ छ ।

भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

सहकारीका बचतकर्ताको रु दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई रु एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

0

काठमाडौँ: हालैको बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् ।
त्यसैगरी अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले राससलाई बताउनुभयो ।

पाकिस्तानी सीमानजिकै आतंकवादी हमलामा ३ इरानी सुरक्षाकर्मीको मृत्यु

0

काठमाडौं । पाकिस्तानको सीमावर्ती सिस्तान-बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भिडन्तमा कम्तीमा तीन इरानी सुरक्षाकर्मीको मृत्यु भएको छ। एक अधिकारीले यो जानकारी दिए। उनले भने, “यी आक्रमणमा तीन इरानी सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन्।”

सिस्तान-बलुचिस्तान र सीमावर्ती बलुचिस्तान प्रान्तमा इरान र पाकिस्तानको सीमाना सजिलै पार गर्ने विभिन्न आतंकवादी समूहहरूद्वारा बारम्बार आक्रमण हुने गरेको छ। एक सुरक्षा अधिकारीले पीटीआईलाई भनेअनुसार प्रान्तको पारुड, खाश, हिरमान्ड र डोमक क्षेत्रमा रातभर चार हमला भएको थियो।

सुन्नी बहुल समूह जैश-उल-अदल (आर्मी अफ जस्टिस) ले आक्रमणको जिम्मेवारी लिएको छ। यो समूह २०१२ मा जुन्दुल्लाह भनिने अर्को बलुच सैन्य समूहको उत्तराधिकारीको रूपमा देखा पर्‍यो र पाकिस्तान-इरान सीमा क्षेत्रमा सक्रिय छ।

इरानका अनुसार जैश-उल-अदल पाकिस्तानमा रहेको छ, तर पाकिस्तानले यो आरोप अस्वीकार गरेको छ। उसले आफू आतंकवादको सिकार भएको र आफ्नो माटोबाट यो खतरा हटाउन लडिरहेको बताएको छ ।

इरान र पाकिस्तान यस वर्षको सुरुमा एकअर्काको भूमिमा आतंकवादीहरूको कथित उपस्थिति र एकअर्काविरुद्ध आरोपहरूका कारण युद्धको संघारमा उभिएका थिए। त्यतिबेला इरानले विद्रोहीको स्थानमा आक्रमण गर्‍यो र जवाफमा पाकिस्तानले इरानमा आतंकवादीहरूलाई मारेको दाबी गरेको थियो।

चीनको सांघाईमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु १५ जना घाइते

0

काठमाडौं: सांघाईको वालमार्ट सुपरमार्केटमा सोमबार राति भएको छुरा प्रहारबाट तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

चिनियाँ प्रहरीले घटनास्थलबाट लिन नामका ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिले सांघाई आएर व्यक्तिगत आर्थिक कारणले रिस उठाएर उक्त घटना गरेको प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी व्यक्तिलाई गम्भीर चोटपटक लागेको छैन र उनीहरु खतरामुक्त रहेको बताइएको छ ।

सी नामका एक प्रत्यक्षदर्शीले बीबीसीलाई भने, “जताततै रगत थियो।”