Wednesday, June 17, 2026
Home Blog Page 668

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा

0

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

0

काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

0

वासिङ्टन, डिसी: विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ ।
उहाँलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गर्नु भएको थियो ।

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उहाँले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

0

कास्की: नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुनुहुन्छ । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ ।

प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको
हो ।

टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहनुभएको छ ।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार हुनुहुन्छ । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहनुभएको छ ।

गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकीको टिममा नयाँ र अनुभवी दुवै खेलाडी छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।” गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ ।

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

0

काठमाडौं: डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ।

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ।

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुंगो लगाएको छ। पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ।

विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ।

सत्ता जोगाउने लालसाले ओली अत्यन्तै कमजोर, अध्यादेशको समेत ‘च्याप्टर क्लोज’!

0

काठमाडौं: सत्ता जोगाउने लालसाले कांग्रेसका मागहरु मान्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आएयताकै सबैभन्दा कमजोर स्थितिमा पुगेका छन्। आफ्ना मागहरु पूरा गराएपछि कांग्रेसले ओलीका कुरा सुन्न छाडेको छ र ओलीले आफूले काखी च्याप्दै आएका सहयात्रीहरुसमेत गुमाएका छन्।

कांग्रेसको दबाब थेग्न नसकेकै कारण ओलीले पूर्व गृहमन्त्री र रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सहमत भएका थिए। रविको विषयलाई लिएर कांग्रेसले लामो समयसम्म संसद नै अवरुद्ध गरेको हुनाले उनलाई पक्राउ गर्ने विषय कांग्रेसको लागि प्रतिष्ठाको विषय थियो।

कांग्रेसको प्रतिष्ठा जोगाउने चक्करमा ओलीले आफूले काखी च्याप्दै आएका रवि लामिछानेलाई समेत आफूविरोधी कित्तामा हुत्याएका छन्।

रवि लामिछाने पहिलोपटक संसद भवन प्रवेश गर्दै गर्दा ओलीले नै उनलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाएका थिए। सरकारको नेतृत्व माओवादीलाई दिएर रविलाई उपप्रधानमन्त्री बनाउँदै आफूतर्फ तानेका ओलीले प्रचण्डलाई अर्को पटक प्रधानमन्त्रीको रुपमा समर्थन गर्दा पनि रविलाई उपप्रधानमन्त्री र गृहमन्त्री नै बनाए। तर, अहिले आफैं प्रधानमन्त्री भएका बेला रविलाई पक्राउ गरेर उनी रविको तारोमा परेका छन्।

पोखरा जिल्ला अदालतमा पेश गर्नका लागि लगिँदै गर्दा रविले संचारकर्मीसँग दिएको प्रतिक्रियाले पनि उनी ओलीसँग कतिसम्म रुष्ट छन् भन्ने झल्काउँछ। अर्कोतर्फ आफैंले समर्थन गरेर प्रधानमन्त्री बनाएका प्रचण्डलाई गलहत्याउँदै आफैं सत्तारोहण गर्न पुगेका ओलीसँग प्रचण्ड पनि असन्तुष्ट छन्।

ओलीका लागि अहिले मुख्य आड भनेको सत्ता हो। सत्ताबाहेक उनीसँग कुनै बलियो आधार छैन। सहयोगीहरुलाई बिच्क्याइसकेका ओलीले कांग्रेसको साथ छोड्ने हो भने उनी एक्लिने अवस्था छ। तर, कांग्रेससँग टाँसिएरै बस्दा पनि ओलीलाई कुनै फाइदा हुने संकेत देखिएको छैन। कांग्रेसले ओलीलाई प्रयोग गरेर आफ्नो मात्रै दुनो सोझ्याउने संकेत गरिसकेको छ।

कांग्रेसको दबाबमा रविलाई पक्राउ गर्न सहमत हुँदै गर्दा ओलीले राजनैतिक दलसम्बन्धी अध्यादेश ल्याउनका लागि कांग्रेसको सहयोग मागेका थिए। यो अध्यादेश ल्याएर माधव नेपालको पार्टी एकीकृत समाजवादी फुटाउने र उपेन्द्र यादवसँग अलग्गिएका अशोक राईको पार्टीलाई वैधानिकता दिने ओलीको दाउ थियो। तर, कांग्रेस अध्यादेशको विषयमा ओलीलाई साथ दिने पक्षमा देखिँदैन।

ओलीको मागअनुसार अध्यादेश ल्याउँदा यसले केवल ओलीलाई फाइदा हुने बरु आफूलाई उल्टै घाटा हुन सक्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाले बुझेको देउवानिकट एक नेता बताउँछन्।

‘अरु पार्टी फुटाउनेगरी अध्यादेश ल्याउँदा फुटेकाहरु एमालेमै गाभिने अवस्था छ र यसले एमालेलाई मात्रै फाइदा हुन्छ’ ती नेताले भने ‘इतिहासदेखिको मुख्य प्रतिस्पर्धी एमाले बलियो हुनु भनेको कांग्रेसलाई घाटा हुनु हो भन्ने कुरा सभापतिले बुझ्नुभएको छ।’

स्रोतका अनुसार देउवा माधव नेपालप्रति सदाशयता राख्छन्। एमालेमा छँदै विद्रोह गरेर देउवालाई साथ दिँदै प्रधानमन्त्री बनाएका कारण माधव नेपाललाई नोक्सानी हुनेगरी कुनै कदम चाल्न देउवा तयार छैनन्। माधव नेपालको पार्टी बलियो हुँदा एमालेकै भोट काटिने र यसले कांग्रेसलाई सहयोग पुग्ने कुरामा देउवा जानकार रहेको उनीनिकट नेता बताउँछन्।

‘ओलीले भनेझैं अहिले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा त्यसले ओली र एमाले मात्रै बलियो हुने कुरा सभापतिजीले राम्रोसँग बुझ्नु भएको छ,’ देउवा निकट एक नेताले डिसी नेपालसँग भन्यो, ‘दल विभाजन सम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै पनि फाइदा गर्दैन। अनि ओलीलाई मात्रै बलियो बनाउने काम कांग्रेसले किन गर्ने?’

यतिबेला राजनीतिक रुपमा ओलीसँग आफू तल पर्ने कुनै पनि सम्झौता गर्नुपर्ने अवस्थामा कांग्रेस नरहेकोमा देउवा स्पष्ट छन्। अहिले ओली र देउवा एक अर्कालाई चिढ्याएर जान सक्ने अवस्थामा छैनन्। सबत्र आलोचित बन्दै आएका ओलीका लागि सत्ता नै प्रमुख चिज हो।

अहिले अध्यादेश ल्याउनबाट रोक्दा ओलीले बल मिच्याईँ गरेर जान सक्ने अवस्था नरहेको देउवाको निष्कर्ष छ। माधव नेपालको पार्टी विभाजन हुँदा त्यसको फाइदा ओली र एमाले मात्रै पाउने र आगामी चुनावमा त्यसको प्रत्यक्ष असर कांग्रेसमा पर्छ। चुनावमा माधव नेपालको पार्टीले एमालेकै भोट काट्ने हो। अहिले माधव नेपालको पार्टी विभाजित हुँदा त्यो भोट सबै एमालेमा जानेप्रति देउवा सचेत रहेको स्रोतले बतायो।

 

धनराजकी पूर्वपत्नीसहित मितेरीका आरोपीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

0

काठमाडौं: ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । रेड नोटिस जारी गर्न भनिएका आरोपीहरूमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि छिन् ।

यो सहकारी ठगीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सीआइबीकै आग्रहमा प्रहरीको नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको हो ।

रेड नोटिस जारी गर्नका लागि पत्राचार गरिएका आरोपीहरूमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र मितेरी सहकारीकै ज्योतिबहादुर भण्डारी छन् । ठगी भएको समयमा ज्योयि गुरुङ सहकारीमा प्रबन्ध निर्देशक थिइन् । उनले भण्डारीसँग मिलेर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । मितेरी सहकारीबाट बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा देखिएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा सम्बन्धबिच्छेद गरिसकेको बताएका छन् । सम्बन्धविच्छेदको कागजात भए पनि उनीहरूले कागजी रूपमा नक्कली सम्बन्धविच्छेद गरेको आरोप छ किनभने धनराजले सम्बन्धविछ्छेदपछि पनि पूर्वपत्नीले चलाएको रकम तिर्दै आएको सहकारीका अध्यक्षले बताएका छन् ।

मौसम: आज यी प्रदेशमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना

0

काठमाडौँ : हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको भइरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

0

काठमाडौँ । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । केही समयअगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग गर्नका लागि बैंकले सो सहयोग गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन के.सी.ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।