Thursday, June 18, 2026
Home Blog Page 653

भारतीय वायुसेनाको मिग-२९ विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

0

काठमाडौं । भारतीय वायुसेनाको मिग-२९ विमान नियमित प्रशिक्षणका क्रममा प्रणालीमा खराबीका कारण आगरा नजिक दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाले आफ्नो एक्स खाता मार्फत यो जानकारी दिएको हो।

यस दुर्घटनामा पाइलटहरु सकुशल बाँचेका छन् । विमानबाट निस्कनुअघि नै पाइलटले दुर्घटनाका कारण कुनै पनि व्यक्ति वा सम्पत्तिमा नोक्सानी नहोस् भनी सुनिश्चित गरेका थिए ।

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ ।

फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्याको मुद्दामा सुनुवाइ सुरु

0

काठमाडौं: फ्रान्सको राजधानी पेरिसमा एक शिक्षक सामुएल प्याटीको हत्यारालाई उक्साउने र सहयोग गरेको अभियोगमा आठ जनाविरुद्ध पेरिसको अदालतमा सुनुवाइ सुरु भएको छ ।

अक्टोबर १६, २०२० मा चेचन्या निवासी अब्दुल्लाख अन्जोरोभले पेरिसमा आफ्नो स्कूल बाहिर शिक्षक सामुएल प्याटीको हत्या गरे।

तर, सो क्रममा प्रहरीको गोली लागेर अब्दुल्लाखको पनि मृत्यु भएको थियो । तर अब यो हत्यामा सहयोग गर्ने वा दुरुत्साहन गरेको अभियोगमा आठ जना विरुद्धको सुनुवाइ आगामी सात सातासम्म जारी रहनेछ ।

मुद्दामा दुई प्रतिवादीहरू शिक्षकलाई इन्टरनेटमा ‘निंदा गर्ने’ लेबल लगाएको आरोप लगाइएको छ, जबकि अन्य प्रतिवादीहरू अन्जोरोभलाई विभिन्न तरिकामा मद्दत गरेको आरोप लगाइएको छ।

सामुएल प्याटी राजधानी पेरिसको उपनगर कन्फ्लान्स-सेन्ट-होनोरेको स्कूलमा शिक्षक थिए। सन् २०२० मा ६ अक्टोबरमा उनले बालबालिकालाई ‘फ्रीडम अफ स्पीच’ सिकाउँदै थिए ।

उनले यसअघि पनि धेरैपटक बालबालिकालाई यस विषयमा पढाएका थिए ।

यस क्रममा उनले सन् २०१५ मा फ्रान्सेली पत्रिका ‘चार्ली हेब्दो’ मा काम गर्ने व्यक्तिमाथि भएको हमलाको उल्लेख गरेका थिए र चार्ली हेब्दोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको कार्टुनलाई छोटकरीमा देखाएका थिए ।

तर, त्यसो गर्नुअघि उनले यस्ता कार्टुन हेर्न मन नमान्ने विद्यार्थीलाई आँखा बन्द गर्न भनेका थिए ।

त्यसबेलाका केही समाचारमा केही मुस्लिम अभिभावकले शिक्षकप्रति गुनासो गरेको खबर आएको थियो ।

सन् २०१५ मा पेरिसमा रहेको व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यालयमा भएको आक्रमणमा पत्रिकाका चर्चित कार्टुनिस्टसहित १२ जनाको मृत्यु भएको थियो ।

चार्ली हेब्दो पत्रिकालाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशित गरेकोमा निशाना बनाइएको थियो ।

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

0

काठमाडौं: सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई म्याद थप गर्न अनुमति दिएको हो। योसँगै रविलाई अनुसन्धान गर्न तेस्रोपटक म्याद थप भएको छ। यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। अदालतले सोही दिनदेखि गणना हुने गरी म्याद थप गरेको हो।

प्रधानमन्त्री ओली बिरामी

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि अत्यावश्यकबाहेकका सबै भेटघाट स्थगित गरेका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। उनको रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

बिरामी भएपछि ओलीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

0

१९ कात्तिक : सरकारले वैदेशिक रोजगारीको उद्देश्यले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने क्रम बढ्दै गएपछि रोक्न भन्दै फेरि अध्ययन सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा यसबारे अध्ययन सुरु भएको हो ।

तत्कालीन महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको नेतृत्वमा कार्यदल बनेको थियो । उनी सरुवा भएपनि महाशाखा प्रमुख तोकिएका सहसचिवले यसबारे अध्ययन अघि बढाउने श्रम मन्त्रालयले जनाएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार भिजिट भिसामा अवैध रुपमा श्रमिक जाने र उनीहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य हुनुपर्ने क्रम नरोकिएपछि व्यवस्थित गर्नेबारे सुझाव लिन कार्यदल बनेको हो । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा भिजिट भिसामा जाने श्रमिकको संख्या ठूलो छ । कुवेत, बहराइन लगायतका देशमा पनि यस्तो समस्या छ ।

सरकारले भिजिट भिसमा श्रमिकलाई जाने अवस्था बन्न नदिन थप कडा व्यवस्था लागु गर्न खोजेको हो । तर, विगतदेखि नै भिजिट भिसामा जानेमाथि अन्याय हुने गरी कडा व्यवस्थाहरु नगर्न सरकारमाथि दबाब छ ।

मानवअधिकारप्रति प्रतिबद्ध मुलुकले भिजिट भिसामा जान पनि सरकारका कसिला शर्त मान्नुपर्ने अवस्था नबनाउन मानवअधिकारवादीले ध्यानाकर्षण गराउादै आएका छन् । तर, सरकार श्रमिक भिसाको प्रलोभनमा पारेर भिजिट भिसामा श्रमिक पठाउन नदिने गरी कडा नियम लाग गर्ने पक्षमा छ ।

कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् ।

तर, भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसैले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् । यसकै कारण यूएईमा आत्महत्या गर्ने नेपाली श्रमिकको संख्या बढेको मिडिया रिपोर्टहरु आइरहेका छन् ।

सरकारले भिजिट भिसामा पठाउने दलाल र गिरोहविरुद्ध प्रभावकारी कदम चाल्न सकेको
छैन । यसका कारण प्रलोभनमा पारेर युवालाई विदेश पु¥याउने क्रम बढ्न थालेको छ ।

खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् ।

खाडी मुलुकहरुको अवधिअनुसार भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमै रोजगारीको ग्यारेन्टी गरिएको छ । भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएई, बहराइनलगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गर्दै आएको छ ।

अहिले यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९–३० वर्ष उमेर समूहका छन् । भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका कतिपयले उद्धारका लागि आग्रह गर्ने गरेका छन् ।

भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

सरकारले अध्यागमनमै सेटिङ गरेर भिजिट भिसामा श्रमिक पठाउने क्रम बढेको भन्दै गत १० माघ २०८० मा नयाँ कार्यविधि जारी भएको थियो । कार्यविधिले भिजिट भिसामा जानेहरुका लागि आवश्यक कागजात र प्रक्रिया सहज गरेको थियो । त्यसपछि झन् ठूलो संख्यामा श्रमिकहरु भिजिट भिसमा विदेश पुग्न थालेका छन् ।

अहिले अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने र सम्बन्धित देशको भिसा चाहिने नियम बनाएको छ । अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा चाहिन्न ।

भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था छ ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट÷क्रेडिट कार्ड) पनि अनिवार्य छ । संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने नियम छ ।

अब यो नियममा के–को परिवर्तन गर्ने भन्नेबारे सरकारले बनाएको समितिले अध्ययन गर्नेछ । यसअघि समितिका संयोजक रहेका रिजाल अध्यागमन विभागको महानिर्देशक बनेका छन् । सरकारले बनाएको समितिले भिजिट भिसामा विदेशिने श्रमिकलाई रोक्ने गरी के–के गर्नेभन्नेबारे सरोकारवालाहरुसँग छिट्टै छलफल सुरु गर्ने तयारी गरेको छ ।

 

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

0

महोत्तरी: मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।

छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लालकर्णले बताए।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर-५ का संस्कृतिविद् ध्रुव रायले बताए।

जलेश्वर नगरपालिका-१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ। आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन्। त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन्।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन्।

त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन्।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन्। फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन्। यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको पुजारी पाठकले बताए।

पहिलापहिला तराई मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको संघीय राजधानी काठमाडौंसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो।

सुनसरीमा पनि छठको तयारी सकियो

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठको सम्पूर्ण तयारी पूरा भएको छ। तिहार सकिएसँगै छठ पर्व मनाउन जुटेका सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्नेहरुले पर्वको तयारी सकेका हुन्।

इनरुवासहित कोसी, भोक्राहा, हरिनगर, देवानगञ्ज, धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, गढी, बर्जु गाउँपालिकामा बसोबास गर्ने छठको तयारी पूरा भएको इनरुवाका मिथलेश झाले बताए। छठ पर्वका लागि आवश्यक पर्ने सामग्री जुटाउनुका साथै घाट ओगट्नेलगायत काम पूरा भएको स्थानीय हरिनगरका चन्दन मेहताले जानकारी दिए।

केहीदिनदेखि छठमा प्रयोग हुने बाँसको चङ्गेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरालगायत सामग्री खरिद गर्नेको बजारमा घुइँचो लागेको गौरी यादवले उल्लेख गरे। जिल्लाको आसपासमा रहेका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामान कतिपय व्यापारीले सवारीसाधनको प्रयोग गरेर गाउँघरमा पुर्याएका छन्।

छठ पूजामा प्रयोग हुने सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेसँगै व्यापार पनि वृद्धि भएको व्यवसायीले बताएका छन्। छठ पर्वमा केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत सामग्री अत्यधिक खपत हुने भएकाले समयमा नै आवश्यक सामग्री जुटाइएको स्थानीय यादवले बताए।

एकघरी केराको मूल्य अहिले पाँच सयदेखि रु आठ सयसम्म पुगेको व्यापारीले बताएका छन् । छठ पर्वमा केराको सिङ्गै घरी प्रसादका रुपमा चढाउनुपर्ने भएकाले बजारमा केराको माग बढेको छ। रासस

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

0

वासिङ्टन डिसी (अमेरिका): विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।

सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ ।

निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।

मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको
छ ।

नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहनुभएको छ ।

स्वीङ्ग राज्यहरु निर्णायक

अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित हुनुभएको थियो । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल हुनुभएको थियो ।

पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।

कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

नेपालीहरुको मत निर्णायक हुन सक्छ ?

व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।

नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुग्नुभएका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताउनुभयो । शनिबार मात्रै उहाँको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुट्नुभएका भण्डारी हरेक मतको मूल्य हुने बताउनुभयो ।

भण्डारीले भन्नुभयो, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।”

“राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले
भन्नुभयो ।

पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उहाँले धारणा राख्नुभयो ।

स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भन्नुभयो, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका
छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।”

पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”

पेन्सलभेनियामा नै बस्दै आउनुभएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गर्नुभयो । यसैगरी प्रकाश ढुङ्गानाले भन्नुभयो, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।”

नेपालीहरु पनि दुवै पक्षधर

आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।

ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण

अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी) मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।

चुनावी र्‍यालीको अन्तिम

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गर्नुभएको छ भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको छ ।

अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको
छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ र बिक्रीदर एक सय दुई रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ एक पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

0

पाटन (ललितपुर): गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।

छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दसैँतिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँग राम्रोसँग कुरा गर्नसमेत नसक्ने अवस्थामा डुकुमान पुगेको उहाँका दाजु जिरामानले बताउनुभयो । “खानपिन पनि त्यति ध्यान दिएर खाँदैन, आफ्नै सुरको कुरा गरिरहन्छ, हिँडिरहन मात्रै खोज्छ”, उहाँले भन्नुभयो ।

बाढीपहिरो आएको दिन आफ्नो घर सुरक्षित ठानेर राति १ बजेतिर सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर घरभन्दा ५० मिटर तल रहेका सात घरमा बाढी पस्न थालेको देखेर छिमेकीको उद्धार गर्न तल झर्नुभएका डुकुमानले उद्धारमा खटिरहेका बेला आफ्नो परिवारको भने उद्धार गर्न पाउनुभएन् । अरुलाई सुरक्षित स्थानमा ल्याइसकेको डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले परिवार र घर पुर्न थालेको देख्नुभयो, तर उहाँ घर पुग्नै
पाउनुभएन ।

“पहिरो यति तीव्र गतिमा झ¥यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भन्नुभयो ।

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र नौ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो । खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन् । चारैजना कहीँकतै जिउँदै भेटिने आश उहाँलाई थियो । असोज १२ गते दिउँसो करिब ३ बजेतिर श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला पर्नुभयो ।

“भ¥याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो, “श्रीमती राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ”, दाजु जिरामानले भन्नुभयो । परिवारका पाँचमध्ये डुकुमान एक्लै जीवित हुनुहुन्छ । उहाँका बुबा, आमा र दाइको पहिल्यै मृत्यु भइसकेको छ । उहाँ तीन वर्ष वैदेशिक रोजगारमा बसेर छ महिनाअघि मात्र स्वेदश फर्कनुभएको थियो ।

डुकुमानलाई आश्रय दिएर राखिरहनुभएका जिरामानको सात रोपनीभन्दा बढी खेत बढीले बगाएर नष्ट गरेको छ । “आफ्नो भएको त्यही खेत हो, सबै बगाएर सखाप पार्यो । अन्न उब्जाउ हुने ठाउँ छैन”, उहाँले दुखेसो पोख्नुभयो ।

बाढीपहिरोबाट विस्तापित बुद्धिमान स्याङ्तानको परिवार उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ रहेका छोराछोरीको डेरामा बसिरहनुभएको छ । “अब बस्ने ठाउँ पनि रहेन, अर्को व्यवस्था तत्कालै हुने अवस्था पनि देखिएन, त्यसैले छोराछोरीको डेरामा केही समय बस्न गएका छौँ”, माइती आउनुभएकी बुद्धिमानकी श्रीमतीले भन्नुभयो ।

मानिखेलमा छको मृत्युु, दुई बेपत्तागरी आठ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाखका दरले उपलब्ध गराएको महाँकाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ मानिखेलका अध्यक्ष जोनीकुमार न्यासुरले बताउनुभयो ।

“मृतकका परिवारलाई सङ्घीय सरकारले दिने रकम सम्बन्धित परिवारलाई दिइसकेका छौँ । सङ्घीय सांसद उदयशम्शेर राणाले रु २० हजार र पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रु २५ हजार पनि उहाँहरुले पाइसक्नुभएको छ, स्थानीय सरकारले दिने रु १५ हजार राहत केही दिनमा उपलब्ध गराउनेछौँ”, अध्यक्ष न्यासुरले भन्नुभयो, “पुनर्वासका लागि वडा नं २ मानिखेलको टुटुवा डाँडामा व्यवस्था मिलाउने गरी पालिकाबाट निर्णय भएको छ । उक्त निर्णय विभिन्न निकाय हुँदै मन्त्रिपरिषद्बाट पारित भएपछि स्थायी संरचना निर्माण गरेर त्यहाँ सार्ने व्यवस्थाका लागि लागेका छौँ ।”

वडाध्यक्ष न्यासुरका अनुसार ठोट्ने खोलाका २९, लक्ष्यबासका तीन र मानिखेलबेंसीका छ परिवार गरी ३८ परिवार विस्थापित भएका छन् । “त्रिपालमुनि बस्नुपरेको अवस्था चाहिँ छैन, कोही आफन्तकामा, कोही गोठमा र कोही अध्ययनका लागि उपत्यकामा रहेका आफ्ना छोराछोरीको डेरामा बसिरहेका छन्”, उहाँले भन्नुभयो ।

वडा नं ३ गोटीखेलका अध्यक्ष मनोजकुमार पराजुलीका अनुसार वटा नं ३ मा चार जनाको मृत्यु र १९ परिवारको घरबार पूरै नष्ट गरेको छ । अरु ५२ घर अतिप्रभावित भई बासिन्दालाई विस्थापित बनाएको छ । “खाद्यान्न भाँडाकुँडा र कपडा प्रत्येकले पाएका छन्, पुनर्वासका लागि व्यवस्था गर्ने काम हुँदैछ । विस्तृत विवरण पूरा नभएका कारण स्थानीय तहले दिने राहत दिन बाँकी छ, एक/दुई दिनमा वितरण गर्नेछौँ”, उहाँले भन्नुभयो ।

विस्थापितको पुनर्वासका लागि स्थानीय तहले गरेको निर्णयअनुसार जिल्लाका सरोकार भएका सम्बन्धित सबै कार्यालयसँग समन्वयमा काम अगाडि बढिरहेको जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले बताउनुभयो ।

“विस्तापितलाई सुरक्षित स्थानमा बसाउने व्यवस्थाका लागि हामी लागिरहेका छौँ । उहाँहरुलाई बासस्थान निर्माण गर्न कम्तीमा आठ आना जग्गाको व्यवस्थापन गर्नुपर्छ, यसका लागि स्थानीय तहले सुरक्षित ठाउँ पहिचान गरेर निर्णय सिफारिस गरिसकेको छ । अब जिल्ला प्रशासन कार्यालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि यो कामले मूर्तरुप पाउनेछ”, प्रमुख फुयाँलले भन्नुभयो ।

महाँकाल गाउँपालिकामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ छ । जिल्लामा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको यस पालिकालाई ललितपुर महानगरले रु ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ भने बागमती प्रदेश सरकारले यही कात्तिक २ गते शुक्रबार बसेको बैठकको निर्णयले अतिप्रभावित स्थानीय तह घोषित गरी रु ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा

0

बैतडी: नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

जीतका लागि एक सय ८४ रनको लक्ष्य पछ्याएको कोसी २२.३ ओभरमा ६० रनमा अलआउट भयो । कोसीका कप्तान सौजन घिमिरेले २६, आशिष मगरले १३ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कोसीका लागि म्यान अफ द म्याच चुनिएका सचिन भट्टले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सचिनले छ ओभर बलिङ गर्दै पाँच विकेट झारे भने नरेन साउँदले चार र सौजन घिमिरेले समान चार विकेट झारे ।

यसअघि मार्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४७.३ ओभरमा एक सय ८३ रनमा समेटियो । सुदूपश्चिमका युवराज खत्रीले ४४, अभिषेक थापाले ३७ रन बनाएका थिए ।

सुदूरपश्चिम यो जीतसँगै छ खेलबाट १० अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको बुधबार प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेकामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेका हुन् ।