Saturday, June 20, 2026
Home Blog Page 624

स्थानीय तह उपनिर्वाचनको सबै नतिजा सार्वजनिक: कहाँ को निर्वाचित ?

0

काठमाडौँ: आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ४१ पदको लागि भएको मतदानको परिणाम सोमबार राति सार्वजनिक गरिएको हो।

प्रमुख नतिजा

कीर्तिपुर नगरपालिकाका प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल ५,३३४ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जनले ४,५५५ मत प्राप्त गरे। त्यसैगरी एमालेका सुरेन्द्र मानन्धरले ४,३२७ मत र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २,०३६ मत प्राप्त गरे।

दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा २,८०५ मत ल्याएर विजयी भइन् भने माओवादी केन्द्रका निम लेकी शेर्पाले २,६०० मत प्राप्त गरे।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना ४३ मतको अन्तरले विजयी भइन् ।

उदयपुरको बेलका नगरपालिका–९ मा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मतसहित विजयी भए।

समग्र परिणाम

नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको प्रमुखसहित १६ वडाध्यक्षमा विजयी भयो ।
एमालेले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वडाध्यक्ष जित्यो।
माओवादी केन्द्रले १ नगरपालिका उपाध्यक्षसहित ७ स्थानमा जीत हासिल गर्यो।
जसपाले २ स्थान जित्दा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र मजदुर किसान पार्टीले १–१ स्थान जिते।
त्यस्तै स्वतन्त्र उम्मेदवारले पनि १ वडाध्यक्ष जिते।

प्रमुख प्रतिस्पर्धा

मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रका नमोनारायण माझी ६,९६९ मत ल्याएर विजयी भए।
दैलेखको महाबुँ गाउँपालिकामा एमालेका जङ्गबहादुर शाही ३,१२७ मतसहित विजयी भए।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी देवका लामिछाने विजयी भइन्।

विशेष तथ्य

४४ पदका लागि तालिका भए पनि ४१ पदमा मात्र मतदान भयो। ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिका प्रमुख तथा रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ का वडाध्यक्ष भने निर्विरोध निर्वाचित भए।

कुल ४१ पदमा ३७६ उम्मेदवार (२७४ दलका र १०२ स्वतन्त्र) प्रतिस्पर्धामा उत्रिएका थिए।

थप विवरण
काठमाडौँ महानगर–१६: कांग्रेसकी रोजिना श्रेष्ठ २,९०२ मतसहित विजयी।
ताप्लेजुङको सिरिजङ्गा–३: एमालेकी कुमारी सावादेन ३५३ मतसहित विजयी।
बाजुराको स्वामीकार्तिक खापर: एमालेकी सुलोचनाकुमारी भण्डारी १,७४० मतसहित विजयी।
रौतहटको ईशनाथ–७: कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी।

उपनिर्वाचनमा दलगत रूपमा नेपाली कांग्रेस, एमाले, र माओवादी केन्द्रले प्रभावशाली प्रदर्शन गरेका छन्।

वीरगञ्जको नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी

0

वीरगञ्ज (पर्सा): वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना बनाउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुुरुयोजनाको काम अघि बढाइएको जानकारी दिनुभयो ।

“एकातर्फ अस्पतालका भवनका संरचना जीर्ण अवस्थामा छन् । अर्कातर्फ भएका भवन छरिएर रहेकाले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने गुरुयोजना निर्माणको काम अघि बढाइरहेका छौँ ।”

“अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ”, मेसु दासले भन्नुभयो, “पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन ।” मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“अस्पतालको गुरुयोजनामा सबैभन्दा पहिला अस्पतालका लागि आवश्यक पर्ने संरचना निर्माणमा जोड दिनेछौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा कार्यरत चिकित्सकका लागि आवासलगायत संरचना निर्माणको कामलाई दोस्रो प्रथामिकतामा राखेका छौँ ।”

अस्पतालको नयाँ आकस्मिक कक्षको ब्लकलाई स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । “ल्याब, इको, अल्टासाउण्ड, फिजियोथेरापीलगायत सेवालाई व्यवस्थित गर्ने जमर्काे गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जीर्ण भएका भवनबाट सारेर अन्य सेवालाई एकीकृत गर्ने प्रयास जारी छ ।”

उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ । “ ल्याब इन्फर्मेसन सेन्टर पनि केही समयभित्रै सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म त ‘म्यानुअल’ ढङ्गबाटै ल्याबको सूचना दिँदै आइरहेका छौँ ।” अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरेर साढे तीन सयको हाराहारीमा छन् ।

बागलुङ नेपानेका बस्नेतले दूध बेचेर वार्षिक ३० लाख आम्दानी गर्दै

0

गलकोट (बागलुङ), १८ मङ्सिरः बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको हो ।

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिनुहुन्छ । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गर्नुभएका उहाँको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् ।

छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किनुभएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गर्नुभएको थियो । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाउनुभएको थियो ।

जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उहाँलाई कहिल्यै पछुताउनु परेको छैन । बस्नेतलाई उहाँकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गर्नुभएको छ ।

दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आउनुभएका बस्नेतले मासिक रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिनुभएका उहाँले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिनुभयो ।

बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको भए पनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको बस्नेतले बताउनुभयो । बंैकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने व्यजदरले भने सास्ती दिएको उहाँको भनाइ छ ।

भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आउनुभएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतले प्रतिक्रिया दिनुभयो । गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेको उहाँको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा रु ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ ।

भारतको विहारबाट रु एक लाख ३० हजार तिरेर भैँसी ल्याएको जनाउँदै बस्नेतले ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने उल्लेख गर्नुभयो । समग्रमा वार्षिक रूपमा रु ३० लाखभन्दा बढी आम्दानी हुने बताउँदै उहाँले स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

काभ्रेको पाँचखालबाट फिल्म ‘प्रेम गीता’को छायांकन सुरु

0

काठमाडौं: ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले यसअघि फिल्म ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए ।

फिल्ममा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ ९भँगेरी डन०, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।

साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ ।

विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ ।

प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता

0

काठमाडौँ: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछ । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उहाँ बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

ताइवानलाई हतियार बेच्ने अमेरिकाको निर्णयप्रति चीनको कडा प्रतिक्रिया

0

काठमाडौं: अमेरिकी रक्षा विभागले ताइवानलाई ३८५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्न स्वीकृति दिएको जानकारी दिएको छ । यस बिक्रीको एक भागको रूपमा अमेरिकाले ताइवानलाई एफ-१६ लडाकु विमान पनि बेच्नेछ।

अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर ३० मा ताइवानलाई अमेरिकी हतियार बेच्न स्वीकृति दिएको हो । यस सम्बन्धमा चीनको विदेश मन्त्रालयले पनि आफ्नो प्रतिक्रिया जनाएको छ ।

चीनको विदेश मन्त्रालयले ताइवानलाई अमेरिकी हतियार बिक्रीले ‘एक चीन नीति’का साथै चीनको सार्वभौमसत्ता र सुरक्षा हितको गम्भीर उल्लंघन गरेको बताएको छ।

चीनले यो हतियार बिक्रीलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको पनि बताएको छ ।

चीनले ‘ताइवान स्वतन्त्रता’ को धारणाले पृथकतावादी शक्तिहरूलाई गलत सन्देश दिन सक्ने बताएको छ। साथै, यो चीन र अमेरिका बीचको ताइवान जलडमरूमा शान्ति र स्थिरताका लागि पनि खतरनाक छ।

चीनका अनुसार, ” ताइवानलाई हतियार बेच्ने निर्णयले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने अमेरिकी नेताहरूको प्रतिबद्धतालाई पनि खण्डन गर्दछ। चीनले अमेरिकाको यो कदमको निन्दा गर्दछ र कडा विरोध प्रकट गर्दछ।”

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “हामी अमेरिकालाई ताइवानलाई हतियार उपलब्ध गराउन तुरुन्तै बन्द गर्न अपील गर्दछौं। चीनले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न कडा र प्रतिकारात्मक कदम चाल्नेछ।”

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी रक्षा मुख्यालय पेन्टागनको डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले बिक्रीको बारेमा भनेको छ – यसमा ३२० मिलियन डलरको स्पेयर पार्ट्स र एफ–१६ लडाकु विमानको सम्झौता पनि समावेश छ।

रोयटर्सका अनुसार पेन्टागनले राज्य विभागले ताइवानलाई अनुमानित ६५ मिलियन डलरमा मोबाइल ग्राहक उपकरणहरू बिक्री गर्न पनि स्वीकृति दिएको छ।

यस बिक्रीको बारेमा ताइवानको रक्षा मन्त्रालयले भन्यो, “हामी आशा गर्छौं कि यो बिक्री एक महिना भित्र प्रभावकारी हुनेछ। ताइवान र संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा साझेदारीलाई सुदृढ गर्न जारी राख्नेछ।”

डोनाल्ड ट्रम्पले अर्का सम्धीलाई अरब र मध्य पूर्व मामिलामा राष्ट्रपतिको सल्लाहकार बनाए

0

काठमाडौं: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र मध्य पूर्व मामिलाका लागि राष्ट्रपतिको वरिष्ठ सल्लाहकार पदका लागि मसाद बुलोसलाई चयन गरेका छन् ।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यस पोस्टका लागि बुलोसलाई चयन गर्ने जानकारी दिएका छन्।

लेबनानी मूलका अमेरिकी नागरिक मसाद बुलोस ट्रम्पकी छोरी टिफानी ट्रम्पका पति माइकलका पिता हुन्। ट्रम्पको चुनावी अभियानमा उनले अरब अमेरिकी र मुस्लिम नेताहरूसँग बारम्बार भेट गरे।

ट्रम्पले बुलोसको बारेमा लेखे, “उनी एक सक्षम वकिल र व्यवसायी पनि हुन्। उनी लामो समयदेखि रिपब्लिकन मूल्यमान्यताका समर्थक हुन्। उनले अरब अमेरिकी समुदायसँग ठूलो नयाँ सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।”

समाचार एजेन्सी रोयटर्सका अनुसार मसाद बुलोसका लेबनान र अमेरिका दुबैमा बलियो जराहरू छन्। मसादका बुबा र हजुरबुबा लेबनानी राजनीतिमा सक्रिय थिए।

यसअघि डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सको राजदूतमा नियुक्त गरेका थिए । चार्ल्स कुशनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुशनरका पिता हुन्।

३७ स्थानको मतपरिणाममा कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

0

काठमाडौं: स्थानीय तह उपनिर्वाचनको ३७ स्थानको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

कांग्रेसले जितेका ठाउँ

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम

तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी

शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट

समसे आलम, राजपुर नगरपालिका-६ रौतहट

इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१

राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४

अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर

आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१

भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा

अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया

खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट

मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम

धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ

मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी

धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला

प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

एमालेबाट निर्वाचित

कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ

गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा

सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी

मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु

लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख

जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख

सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

माओवादी केन्द्रले जितेका ठाउँ

नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर

सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा

कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट

विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा

जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा

नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ

देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट

नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

जसपाबाट दुई

धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी

देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

0

काठमाडौँ: शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् ।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् ।

त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स
भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् ।

सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् ।

कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।

उपनिर्वाचनः कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

0

काठमाडौ: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गर्नुभयो ।

साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गर्नुभयो ।