Monday, June 22, 2026
Home Blog Page 600

रवि लामिछानेको बयान आज

0

पाेखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ।

सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै बयान हुन सकेको छैन। सोही बीचमा उनी संघीय संसदको सांसद पदवाट निलम्बन भइसकेका छन्।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण हिजो उनी अदालतमा गए पनि बयान दिन नपाए पछि यसै हिरासतमा फर्केका थिए।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा लिएको बयान सकिएको छ। छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु गरिएको छ । अब रबिको पालो आउने अनुमान गरिएको छ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।

सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ। रवि पक्राउ परेको ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो।

लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ। लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

जाजरकोटमा भूकम्पको धक्का

0

काठमाडौं: जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

नायकवाडालाई केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ ।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु

0

भरतपुर: महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उहाँले बताउनुभयो ।

टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताउनुभयो । उहाँले सन् २०२७ मा नेपालमा हुने महिला यु–१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको बताउनुभयो ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ ।

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताउनुभएको छ ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार मानेर उनलाई नै देशको मालिक मान्ने परम्परा रहेको स्मरण गर्दै पूर्वमन्त्री पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भन्नुभयो, “देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रूपमा गनिन्थे । हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो ।अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।”

केही कमजोरीका हुँदा पनि समग्र विकासका हिसाबले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्रभन्दा पनि गणतन्त्र उत्कृष्ट भएको तर्क गर्दै माओवादी नेता पुनले सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि भएको स्पष्ट पार्नुभयो ।

भरतपुर भ्रमण वर्षको अवसरमा शुक्रबारदेखि रैथाने खाना महोत्सव

0

चितवन: भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।

जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव गर्न रु ६१ लख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् । स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताउनुभयो । उहाँले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेका बताउनुभयो । “भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा टेवा पुगेको छ । दिगो पर्यटन पूर्वाधार विकास, होटल रेष्टुरेन्टमा सेवा वृद्वि भएकाले पर्यटकको सङ्ख्या, बसाइँ अवधि एवं आर्थिक क्रियाकलापमा समेत वृद्वि भएको छ”, महानगर प्रमुख दाहालले भन्नुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताउनुभयो । स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो । नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन् ।

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा,अब ७० मिटर मात्र खन्न बाँकी

0

दैलेख: यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उहाँले बताउनुभयो ।

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

सुडानमा बढ्दो खाद्य असुरक्षा: राष्ट्रसंघका महासचिवको चिन्ता

0

न्यूयोर्क: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्वका कारण देशका धेरै क्षेत्रमा अनिकालको सम्भावनाबारे चेतावनी दिएका छन्।

बिग्रँदो खाद्य सुरक्षा

संयुक्त राष्ट्रसंघको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी)का प्रवक्ता स्टेफनी ट्रेम्बलेले बताइन्, “सुडानको तीव्र रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाले महासचिवलाई गम्भीर चिन्ता भएको छ। खाद्यान्न र पोषणमा पहुँच लाखौं मानिसका लागि दिनदिनै कठिन बन्दै गएको छ।”

आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको सम्भावना देखाएको छ। विशेष गरी उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वत क्षेत्रका विस्थापन शिविरहरू उच्च जोखिममा रहेका छन्।

लाखौं मानिस संकटमा

सुडानमा २४ लाखभन्दा बढी मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन्। द्वन्द्व र अस्थिरताका कारण देशभरि खाद्यान्न आपूर्ति चेन अवरुद्ध भएको छ। खाद्यान्नको अभावले विशेष गरी कमजोर र विस्थापित समुदायहरूलाई गम्भीर असर पारेको छ।

महासचिवको आह्वान

गुटेरेसले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आह्वान गर्दै सुडानमा छिटो, सुरक्षित, निर्बाध र दिगो मानवीय सहायता पहुँच सुनिश्चित गर्न जोड दिएका छन्। उनले सबै पक्षलाई द्वन्द्व अन्त्य गर्न र नागरिकहरूको सुरक्षामा प्राथमिकता दिन आग्रह गरेका छन्।

थप तथ्य

सुडानमा जारी द्वन्द्वका कारण न केवल खाद्य आपूर्ति संकटमा परेको छ, तर स्वास्थ्य र शिक्षा सेवाहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन्। यसका साथै, युएन रिपोर्टहरूका अनुसार, द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएका छन्।

मानवीय सहायता चुनौतीहरू: सहायता वितरणमा बाधा पुर्याउने द्वन्द्वले यस क्षेत्रलाई थप अस्थिर बनाएको छ।
क्षेत्रीय प्रभाव: सुडानको संकटले छिमेकी देशहरूमा समेत शरणार्थीको ठूलो चाप सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय प्रयास

संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य सहायता आपूर्ति बढाउन विभिन्न सहयोगी निकायहरूसँग समन्वय गरिरहेको छ। तर, सहायता कार्यमा द्वन्द्व र असुरक्षाका कारण ठूलो चुनौती देखिएको छ।

सुडानको यो गम्भीर स्थिति समाधान गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले तत्परता देखाउनु र दिगो शान्तिका लागि कदम चाल्नु अनिवार्य रहेको गुटेरेसले स्पष्ट पारेका छन्।

रुसद्वारा युक्रेनको पावर प्लान्टमा ठूलो मिसाइल आक्रमण

0

काठमाडौं: क्रिसमसको दिन रुसले युक्रेनका विभिन्न सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलका माध्यमबाट आक्रमण सुरु गरेको छ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले यसलाई युक्रेनको ऊर्जा संयन्त्रहरूलाई लक्षित गरेर गरिएको अर्को ठूलो आक्रमणको रूपमा उल्लेख गरेका छन्। “शत्रुले फेरि हाम्रा ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ,” उनले भने।

विद्युत् आपूर्तिमा ठुलो असर

आक्रमणका कारण युक्रेनभर विद्युत् आपूर्ति तत्कालका लागि अवरुद्ध भएको छ। गालुसेन्कोका अनुसार ऊर्जा कम्पनीहरूले आक्रमण रोकिएपछि मात्र क्षतिको आँकलन गर्न सक्नेछन्।

खार्किभ, जुन युक्रेनको दोस्रो ठूलो सहर हो, मा धेरै विस्फोटहरू भएका छन्। सहरका मेयर इओर तेरेखोभले मिसाइल आक्रमणका कारण ठूलो क्षति भएको र शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन्। उनका अनुसार कम्तीमा तीन जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

यसैगरी, खार्किभका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले रुसी आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन्। आक्रमणबाट धेरै भवनहरू क्षतिग्रस्त भएका छन्। खार्किभ, जुन युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा रुसको सिमानासँग नजिक पर्छ, आक्रमणको मुख्य निशानामा परेको देखिन्छ।

पावर ग्रिडमा पुनः आक्रमण

रुसले हालैका महिनाहरूमा युक्रेनको पावर ग्रिडमा बारम्बार आक्रमण गर्दै आएको छ। यी आक्रमणका कारण राजधानी किभ, निप्रो, र अन्य सहरहरूमा बारम्बार ब्ल्याकआउटको स्थिति आएको छ। युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकले रुसले आफ्नो थर्मल पावर प्लान्टमा गम्भीर क्षति पुर्याएको जानकारी दिएको छ।

डिटेकका अनुसार, किभ, निप्रोपेट्रोभस्क, र ओडेसा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यो वर्ष रुसले युक्रेनी ऊर्जा संयन्त्रमा गरेको यो १३ औं ठूलो आक्रमण भएको कम्पनीले जनाएको छ।

मानवीय संकटको वृद्धि

रुसी आक्रमणले केवल युक्रेनको ऊर्जा संयन्त्र मात्र होइन, सर्वसाधारणको दैनिक जीवनलाई समेत गम्भीर रूपमा प्रभावित पारेको छ। जाडोको समयमा ऊर्जा आपूर्ति अवरुद्ध हुनुले लाखौं मानिसको जीवन कठिन बनाएको छ। किभ र आसपासका क्षेत्रमा तापक्रम माइनसमा पुगेका बेला यो आक्रमणले मानवीय संकट थप गहिरो बनाएको छ।

युक्रेनी अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। ऊर्जा पुनःस्थापनाको काम अत्यन्त चुनौतीपूर्ण भएको र यसमा लामो समय लाग्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

रुसको यस आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेको छ। युरोपेली युनियन र अमेरिकाले रुसको आक्रमणलाई युद्ध अपराधको रूपमा हेर्दै युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

युद्धको लामो खिचातानीका बीच युक्रेनले रुसको आक्रमणको प्रतिरोध जारी राखेको छ। तर, बारम्बारका आक्रमणहरूले युक्रेनको पूर्वाधार र सर्वसाधारण जीवनमा गम्भीर प्रभाव पारेको छ।

एमालेले भीम रावललाई पार्टीबाटै निकाल्यो

0

काठमाडौं: सत्तारूढ दल नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको हो।

पार्टीले उनलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको थियो। तर, रावलले उक्त जिम्मेवारी अस्वीकार गरेका थिए। त्यसैले पार्टीले साधारण सदस्यता समेत खोस्ने निर्णय गरेको हो।

रावल एमालेका पूर्व उपाध्यक्ष हुन्। उनले चितवनमा सम्पन्न पछिल्लो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै उम्मेदवारी दिएका थिए। रावलको उम्मेदवारीले सर्वसम्मत अध्यक्ष बन्ने ओलीको योजनामा अवरोध पुगेको थियो।

त्यसैगरी, बुधबारको सचिवालय बैठकले पुसमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने तय भएको छ।

यस बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा गरिनेछ। साथै, पार्टीको सांगठनिक गतिविधिको पनि मूल्यांकन हुनेछ।

मंसिर १६ गते ४४ स्थानमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा प्राप्त गर्न नसकेपछि आगामी बैठकमा त्यस विषयमा विशेष छलफल गरिनेछ। यसका लागि निर्वाचन भएका जिल्लाहरू र प्रदेश कमिटीबाट समीक्षा प्रतिवेदन मागिएको छ।