Tuesday, June 23, 2026
Home Blog Page 588

लण्डनमा गुन्जियो कन्दरा

0

बेलायत: ‘पहिला घरदेश अनि परदेश’ अभियानअन्तर्गत पोखरेली व्याण्ड कन्दाले लन्डनको विश्वप्रसिद्ध इण्डिगो एट द ओटुमा आफ्नो पहिलो कन्सर्ट भव्यताका साथ सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त कन्सर्टमा २५ सयभन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो।

कन्दाले आफ्नो स्थापना भएको ३२ औं वार्षिकोत्सव स्टेजमै मनाउँदै ओटु साँझलाई ऐतिहासिक र अविस्मरणीय बनाएको बताएको छ। नेपाली कार्यक्रम विरलै हुने यस प्रतिष्ठित स्थानमा गायक विवेक श्रेष्ठ नेतृत्वको लाइभ प्रस्तुति दर्शकका लागि झण्डै दुई घण्टासम्म आकर्षणको केन्द्र बनेको थियो।

गायक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको’, ‘विदेशिएर गइन उनी’, ‘लेककी हे माया मोहनी सबैलाई लगाउने’, ‘हङकङ पोखरा’, ‘चिसो चिसो हावामा’, ‘साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना’, ‘फुलचोकीको डाँडैमा’ जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारे।

मामाघर इन्टरटेन्मेन्टका अनुसार कन्सर्ट हेर्न करिब २,८०० दर्शक उपस्थित थिए। कार्यक्रममा गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ प्रस्तुत गर्दै बेलायतमा रहेका नेपालीहरूलाई नेपाल फर्किन प्रेरित गरेका थिए।

कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने, “विश्व संगीतका महान कलाकारहरूले प्रस्तुति दिएको यो ऐतिहासिक हलमा गाउन पाउनु मेरो लागि सपना झैँ लागिरहेको छ। यो मेरो सांगीतिक यात्राको एक विशेष उपलब्धि हो।”

कन्दाको हालको सदस्य टोलीमा:

वोकल: विवेक श्रेष्ठ
ड्रम्स: सुनिल थापा (स्थापनाकालदेखि)
लिड गिटार: देव लामा
बास गिटार: पंकज झा
मादल: अविनाश गायक
किबोर्ड: उमेश थापा
‘पहिला घरदेश, अनि परदेश’ नारा दिँदै कन्दाले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षका रूपमा २०२४–२०२५ लाई मनाउने घोषणा गरेको छ। कन्सर्टपछिका आगामी कार्यक्रमहरूमा:

मार्च-अप्रिल: अस्ट्रेलिया र न्युजिल्यान्ड
मे: अमेरिका
जुन: दुबई, कतार, हङकङ, क्यानडा
जुलाई-अगस्ट: युरोप
अगस्ट-सेप्टेम्बर: जापान
नेपाली लोक-पप र आधुनिक संगीतको फ्युजन प्रस्तुत गर्दै कन्दाले नेपाली सांगीतिक विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने आफ्नो यात्रा जारी राखेको छ।

३४ बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसँग सम्झौतामा वार्ता जारी

0

गाजा: हमासले गाजा युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ३४ बन्धकहरूलाई रिहा गर्ने सहमति जनाएको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेका छन्।

सहमति अनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गरिने भनिए पनि तिनीहरू सबै जीवित छन् कि छैनन् भन्ने अझै स्पष्ट भएको छैन। सूचीमा १० जना महिला, ५० देखि ८५ वर्षका ११ जना वृद्धवृद्धा, र केही युवा पुरुष समावेश छन्। हमासले तीमध्ये धेरैजसो बन्धक बिरामी रहेको जानकारी दिएको छ।

यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ। यसअघि, कतारको मध्यस्थतामा युद्धविराम र बन्धक रिहाइ सम्झौताका लागि वार्ता पुनः सुरु भएको जानकारी दिइएको थियो।

यसबीच, इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य अभियान तीव्र बनाएको छ। आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीका अनुसार पछिल्लो २४ घण्टामा भएका आक्रमणमा ८८ जनाको मृत्यु भएको छ। इजरायली सेनाले गत दुई दिनमा गाजा पट्टीमा १०० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’मा हमला गरेको र ‘दर्जनौं हमास आतंकवादीहरूलाई मारेको’ दाबी गरेको छ।

यो घटनाक्रम इजरायल र हमासबीचको हिंसात्मक संघर्षको एक प्रमुख कडी हो। गाजा पट्टीमा युद्धविराम र बन्धक रिहाइ वार्ताले मानवतावादी संकट केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। यद्यपि, दुबै पक्षले आ–आफ्ना सैन्य गतिविधि जारी राखेका कारण दीर्घकालीन शान्ति सम्झौतामा पुग्न कठिनाइ हुने देखिएको छ।

युद्धका कारण गाजामा नागरिकहरू विशेषगरी महिलाहरू, बालबालिका, र वृद्धवृद्धा अत्यन्त प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई मानवीय राहतका लागि युद्धविरामको सर्तलाई पालना गर्न आग्रह गरेको छ।

कोठामा थुनिएका ९ वर्षीय बालकसहित चार बालबालिकाको उद्धार

0

खोटाङ: माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ। एँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ९ वर्षीय अङ्गबहादुर थापा, ९ वर्षीया सुजता राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई आज उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो। “उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ,” उहाँले भन्नुभयो, “जिल्लाका सहाराविहीन बालबालिकाको उद्धार गर्ने अभियानमा सक्रिय भएका छौँ।”

उद्धार गरिएका बालक अङ्गबहादुरलाई आफ्नै घरको कोठामा थुनेर राखिएको थियो। उहाँलाई बोल्न र हिँड्न समेत नसक्ने अवस्थामा उद्धार गरिएको जनाइएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी बुबाआमाले कोठामा थुनेर राखेको उद्धार टोलीले जनाएको छ।

त्यसैगरी, राखाबाङ्देलकी सुजता राईका बुबा नभएको र आमाले अर्कै विवाह गरेपछि पालनपोषण र शिक्षाको जिम्मेवारी माया घर नेपाललाई दिइएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो।

बुइपाका विश्वहाङ राईका बुबा पाँच वर्षदेखि बेपत्ता छन् भने आमाले पनि पुनः विवाह गरेकी छिन्। बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थामा उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

रुविन राईका बुबा अपाङ्ग र आमा असक्त भएकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या रहेको कारण उहाँलाई पनि उद्धार गरिएको हो।

उद्धार गरिएका चारै बालबालिकालाई ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आजै इटहरी पठाइएको छ। यसअघि पनि जिल्लाबाट चार जना सडक आश्रित मानव र दुई सहाराविहीन बालबालिकाको उद्धार गरी मानव सेवा आश्रम विराटनगर पठाइएको थियो।

विपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको बिपी उद्यानमा अतिक्रमण गरी बनाइएका अस्थायी घर–टहरा हटाउन सुरु गरेको छ। महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर पनि घर–टहरा, तरकारी र फलफूलका बजार हटाउन निर्देशन दिएको थियो। तर, अटेरी भएपछि आइतबारदेखि डोजर प्रयोग गरी स्थान खाली गराउन सुरु गरिएको हो।

महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले सार्वजनिक सूचना दिएर पटक–पटक चेतावनी दिँदा पनि नहटेकाले करिब ४० अस्थायी घर–टहरा हटाएको बताउनुभयो। ‘‘हामीले अतिक्रमण हटाउने अभियान सुरु गरेका छौँ, र यो सबै अतिक्रमणमा परेको ठाउँ खाली नभएसम्म रोकिँदैन,’’ उहाँले भन्नुभयो।

महानगरका अनुसार बिपी उद्यानमा अस्थायी घर–टहरा, तरकारी र फलफूल बजार, कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब २५० अस्थायी संरचना सञ्चालनमा थिए। नगर प्रहरी प्रमुख भुसालका अनुसार बिपी उद्यान खाली गराउन उपयुक्त विकल्प प्रदान गरिएको छ।

‘‘तरकारी र फलफूल व्यापार गर्दै आइरहेकालाई वडा नं १६ नगरवास्थित कृषि बजारमा स्थानान्तरण गर्ने व्यवस्था गरेका छौँ,’’ उहाँले बताउनुभयो। ‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्जका स्थानीय हुन् भने केही भारतीय नागरिकले पनि पसल सञ्चालन गरेका छन्।’’ नगर प्रमुख भुसालले अतिक्रमण हटाएर बिपी उद्यानलाई आकर्षक पार्कका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।

बिपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आएका ओकेबहादुर शाहीले आफूलाई हटाएर महानगरले बिचल्ली बनाएको गुनासो गर्नुभयो। ‘‘दैनिक पाँच–दश किलो बङ्गुरको मासु बेचेर परिवार पाल्दै आइरहेका थियौँ। अहिले हटाएपछि अब के गर्ने भन्ने अन्योल छ,’’ उहाँले भन्नुभयो।

उहाँले महानगरले अन्य व्यापारीलाई पनि समान रूपमा हटाउनुपर्ने माग गर्नुभयो। ‘‘हामीलाई हटाए, तर कपडा पसल र तरकारी–फलफूल व्यापारीलाई भने नहटाउने हो कि भन्ने आशङ्का छ,’’ उहाँले भन्नुभयो।

महानगरले मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यान खाली गर्न निर्देशन दिएको थियो। सो म्याद पुस १० मा सकिएपछि दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सूचना जारी गरिएको थियो। तर, दोस्रो पटकको म्याद सकिएपछि आइतबार एक्साभेटर प्रयोग गरी अतिक्रमण हटाइएको हो।

महानगरले बिपी उद्यानलाई व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको जनाएको छ।

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

0

सिरहा: हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण कार्य पुनः सुरु भएको छ। गत असारको पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभएको छ।

असोजमा नै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बिमा कम्पनीबीचको विवादले ढिलाइ भएको थियो। “एक वर्षदेखि पुल निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ। यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो,” योजना प्रमुख महतोले भन्नुभयो, “अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा निर्माण कार्य अघि बढाउन दबाब परेपछि गत हप्तादेखि काम सुरु गरिएको हो।”

विसं २०६८ जेठ ३१ मा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ‘पप्पु कन्स्ट्रक्सन’लाई ठेक्का दिइएको थियो। तर, समयमै काम नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’लाई दिइएको थियो।

यसबीचमा हुलाकी राजमार्ग निर्देशनालय र निर्माण कम्पनीबीच विसं २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, निर्माण अन्तिम चरणमा पुगेका बेला बाढीले क्षति पुर्‍याएपछि बिमा रकम रु १२ करोड नपाएको भन्दै निर्माण कम्पनी अदालत गएको ‘साइट इन्चार्ज’ सुदीप थापाले बताउनुभयो। “बिमा कम्पनीले समयमै रकम प्रदान गरेको भए सम्भवत: पुल निर्माण भइसकेको हुन्थ्यो,” उहाँले भन्नुभयो।

मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल १३ वर्षदेखि अधुरो छ। हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख महतोका अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ। “निर्धारित समयमा पुल निर्माण गर्न प्राविधिक समस्या समाधान भइसकेका छन्। तर, कानुनी समस्या बाँकी भएकाले समयमै निर्माण हुनेमा अझै शङ्का छ,” प्रमुख महतोले बताउनुभयो।

वर्षौंदेखि हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रु र स्थानीय बासिन्दाले वर्षातमा रु १०० तिरेर डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्। हिउँदमा स्थानीय युवाको पहलमा अस्थायी बाँस र काठको पुलमा रु २० तिरेर यात्रा गर्नुपरेको छ। लामो समयपछि पुनः सुरु भएको पुल निर्माणले स्थानीयमा पक्की पुलबाट यात्रा गर्ने आशा पुनर्जीवित गरेको छ।

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

0

काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन् भन्ने जानकारी एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिनुभएको छ।

“हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि विचार व्यक्त गर्नुहुनेछ,” गौतमले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यहरूको रायसहितको निष्कर्ष प्रस्तुत गरिनेछ।”

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिसक्नुभएको थियो।

११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण हुँदै

0

मनहरी (हेटौँडा): हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रंगशालामा रु ११ करोड ७४ लाखको लागतमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ।

अन्तर्राष्ट्रियस्तरको यस मैदानमा छ हजार दर्शक क्षमताको प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम, टिभी र रेडियो प्रसारण कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङजस्ता संरचना निर्माण हुनेछन्। प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार चार ब्लकमा प्याराफिट निर्माण गर्ने योजना तयार गरिएको छ, जसमध्ये हाल एउटा ब्लकको निर्माण कार्य भइरहेको छ।

क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारको ठेक्का २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले पाएको थियो। सचिव लामाका अनुसार अहिले मैदान सम्याउने काम तीव्र गतिमा भइरहेको छ। मैदान सम्याएपछि भूमिगत ढलमार्फत पानी निकास गर्न पाइप बिछ्याउने, साथै विभिन्न तहमा ग्राभेल र माटो राख्ने काम हुनेछ। मैदानको माथिल्लो सतहमा बर्मुण्डा घाँस राखिने बताइएको छ।

गत आइतबार नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गौरीटार रंगशालाको निर्माणाधीन क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको थियो। सचिव खड्कासहित क्यानका प्रवक्ता छुवी लामा र मकवानपुर क्रिकेट संघका पदाधिकारीले पनि मैदानको निरीक्षण गर्नुभएको थियो।

क्रिकेटका लागि पूर्वाधार निर्माण कार्यप्रति खुशी व्यक्त गर्दै सचिव खड्काले प्रदेश सरकारले पूर्वाधार निर्माणमा गरेको लगानी सकारात्मक रहेको उल्लेख गर्नुभयो। निर्माण तीव्र गतिमा भइरहेकोले छिट्टै राष्ट्रियस्तरका खेल सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

0

काठमाडौँ: नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा विभिन्न कारबाहीबाट रु दुई अर्ब २४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

विशेष कार्ययोजना लागू गर्दै प्रहरीले अवैध क्रियाकलाप रोकथाम तथा विभिन्न कारबाहीका लागि अभियान सञ्चालन गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत १० विधामा गरिएका कारबाहीबाट यो राजस्व सङ्कलन भएको हो।

प्रवक्ता अधिकारीका अनुसार, सबैभन्दा बढी राजस्व रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) अवैध मालसामान बरामदबाट प्राप्त भएको छ। ट्राफिक जरिवाना बाट रु ५२ करोड सात लाख, अदालती फैसला कार्यान्वयनबाट रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको छ।

त्यसैगरी, स्रोत नखुलेको रु दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु एक करोड ८३ लाख, र अवैध काठ बरामदबाट रु एक करोड २० लाख राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार, अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु ९२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

पोर्नस्टारलाई पैसा दिएको मुद्दामा ट्रम्पलाई शपथ ग्रहणभन्दा पहिल्यै सजाय सुनाइने

0

काठमाडौं। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विवादास्पद “हस मनी” मुद्दामा सजाय तोकिने मिति घोषणा भएको छ। न्युयोर्कका न्यायाधीश जुआन मार्चनले जनवरी १०, २०२५ मा यस मुद्दामा सजाय सुनाउने बताएका छन्। यो मिति ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पुनः सपथ लिने दिनको ठीक दुई हप्ता अघिको हो।

न्यायाधीशले ट्रम्पलाई जेलको सट्टा प्रोबेशन, जरिवाना, वा सशर्त रिहाइ दिने सम्भावना रहेको संकेत गरेका छन्। ट्रम्प सजाय सुनाइँदा व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुन वा भिडियो कन्फरेन्समार्फत सहभागी हुन सक्नेछन्।

यो मुद्दा २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावताका वयस्क फिल्म स्टार स्टर्मी डेनियल्सलाई मौन बस्नका लागि तिर्ने रकमसँग सम्बन्धित हो। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले स्टर्मी डेनियल्सलाई १.३ लाख अमेरिकी डलर तिरेको र यो रकम ट्रम्पको निर्देशनमा भएको बताइएको छ। यो तिर्ने उद्देश्य ट्रम्पको राजनीतिक छविलाई जोगाउन थियो।

गत वर्ष मे महिनामा ट्रम्पलाई यस मामिलामा दोषी ठहराइएको थियो। ट्रम्पको कानुनी टोलीले भने यो मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा चित्रित गर्दै खारेज गरिनुपर्ने माग गरेका छन्।

ट्रम्पले आफूलाई दोषी देखाउन खोजिएको र यो मुद्दा ‘अव्यवस्थित र अन्यायपूर्ण’ भएको आरोप लगाएका छन्। उनका समर्थकहरूले यो कानुनी कदमलाई राजनीतिक हिसाबकिताबको रूपमा व्याख्या गरेका छन्।

ट्रम्प जनवरी २० मा अमेरिकी राष्ट्रपतिको रूपमा पुनः सपथ लिने तयारी गरिरहेका छन्। यदि सजाय तोकिन्छ भने, यो अमेरिकी राजनीतिक इतिहासमा एउटा दुर्लभ घटना हुनेछ, जहाँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्न लागेको व्यक्तिलाई कानुनी सजाय तोकिएको छ।

यो घटनाले ट्रम्पको अभियान र राजनीतिक भविष्यमा असर पार्न सक्ने विश्लेषकहरूको धारणा छ। सजायको प्रकृतिले ट्रम्पको जनमत र कानुनी चुनौतीहरूलाई थप उचाइमा लैजान सक्छ।

गुजरातमा भारतीय तटरक्षकको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

0

काठमाडौं। भारतीय तटरक्षक गार्डको एक हेलिकप्टर आइतबार गुजरातको पोरबन्दर विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्यको ज्यान गएको छ।

पोरबन्दरका प्रहरी उपरीक्षक भगीरथ सिंह जडेजाले बीबीसी संवाददाता गोपाल कटेशियालाई घटनाको पुष्टि गरेका छन्। उनका अनुसार, हेलिकप्टर नियमित उडान सकेर दिउँसो करिब १२:१० बजे विमानस्थलमा अवतरण गर्दै थियो। अवतरणको क्रममा दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीनै सदस्य गम्भीर घाइते भएका थिए।

घटनापछि तुरुन्तै तीनै जनालाई पोरबन्दर अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका छन्।

प्रहरी उपरीक्षक जडेजाले दुर्घटनाको कारण हाल स्पष्ट नभएको बताए। “हेलिकप्टर दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको छ। घटनाको छानबिन प्रहरी र भारतीय तटरक्षकले संयुक्त रूपमा गर्नेछन्,” उनले भने।

यो घटना भारतीय तटरक्षकका हेलिकप्टरहरूको सुरक्षा मापदण्डप्रति प्रश्न खडा गरेको छ। नियमित उडानपछि पनि यस्तो दुर्घटना हुनुले प्राविधिक समस्या वा मानवीय त्रुटिको सम्भावनालाई इंगित गर्न सक्ने विशेषज्ञहरूको भनाइ छ।

भारतमा पछिल्ला वर्षहरूमा सैन्य र अर्धसैन्य एयरक्राफ्ट दुर्घटनाका केही घटनाहरूले सुरक्षाका उपायहरूमाथि समीक्षा आवश्यक रहेको देखाएको छ। हालैका वर्षहरूमा भारतीय सेनाको हेलिकप्टर तथा एयरक्राफ्टमा प्राविधिक समस्या र दुर्घटनाका केही घटनाहरू रिपोर्ट भएका छन्।

भारतीय तटरक्षक र रक्षा मन्त्रालयले घटना प्रति दुःख व्यक्त गर्दै अनुसन्धान प्रतिवेदन छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। यो दुर्घटनाले तटरक्षक गार्डका हेलिकप्टरहरूको प्राविधिक अवस्थाको पुनरावलोकन गर्ने आवश्यकतालाई पुनः प्राथमिकतामा राखेको छ।