Tuesday, June 23, 2026
Home Blog Page 584

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

0

गुल्मी: गुल्मीका किसानहरू व्यावसायिक किबीखेतीतर्फ आकर्षित भइरहेका छन्। सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। २०६५ सालदेखि किबीखेती सुरु गरेका यहाँका किसानका बारी अहिले किबीका लहराले भरिएका छन्। किबीखेतीले किसानहरूको आर्थिकस्तरमा सुधार ल्याउँदै गएको छ।

जिल्लामा सबैभन्दा धेरै किबी उत्पादन गर्ने पालिका सत्यवती गाउँपालिका हो। सत्यवतीको भार्से क्षेत्रमा ४० हेक्टर जग्गामा किबीखेती भइरहेको छ। यो वर्ष भार्सेका किसानहरूले ८० टनभन्दा बढी किबी उत्पादन गरेको वडासदस्य यमबहादुर थापाले जानकारी दिनुभयो। यहाँ उत्पादित किबी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म बिक्री भइरहेको छ। भार्सेका किबीको औसत मूल्य बजारमा रु २०० प्रतिकिलो रहेको छ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेपछि किबी उत्पादनमा स्थानीयको आकर्षण बढ्दै गएको हो। गाउँपालिकाले किसानहरूलाई प्राविधिक सहयोग, तालिम, बिरुवा, पोल निर्माण, र सिँचाइ सुविधामा सहयोग गर्दै आएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार यस वर्ष नर्सरी स्थापना, बगैँचा व्यवस्थापन, र किबीको जाम तथा वाइन उत्पादनसम्बन्धी तालिमसमेत प्रदान गरिएको छ।

किसान यमबहादुर थापाले आफ्नो बारीमा रहेका १५० मध्ये १३० बोट किबीले फल दिन थालेको बताउनुभयो। यस वर्ष उहाँले २५ क्विन्टल किबी उत्पादन गरी स्थानीय बजार हुँदै पाल्पा र बुटवलमा बिक्री गर्नुभएको छ। किबीको उत्पादन बढेसँगै मूल्यमा केही गिरावट आएको उहाँको भनाइ छ। उहाँका बारीमा ‘रेडकिबी,’ ‘हेवार्ड,’ ‘एलिसन,’ र ‘ब्रुनो’ गरी चार प्रजातिका किबी छन्। अन्य खेतीभन्दा किबीखेतीले राम्रो आम्दानी दिने उहाँको अनुभव छ।

सिजनमा भार्सेका बारी किबीले भरिएका हुन्छन्। किबीको बिरुवाले रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ र एक बोटले ६० देखि १२० किलोसम्म फल दिन्छ। बाँदर, बँदेल, र चराचुरुङ्गीले अन्य खाद्य बाली नष्ट गर्ने समस्या रहेको अवस्थामा किबीखेती यहाँका किसानका लागि वरदान सावित भएको छ। किबी झुसिलो हुने भएकाले वन्यजन्तु टाढा बस्ने गर्छन्।

गुल्मीमा १,२०० देखि २,००० मिटर उचाइका क्षेत्रहरूमा किबीखेती भइरहेको छ। सत्यवती गाउँपालिका बाहेक कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, र छत्रकोट पालिकाहरूमा पनि किबीको व्यावसायिक खेती विस्तार भइरहेको छ।

किबी एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ। भिटामिन ‘सी’को उच्च मात्रा र फाइबरले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पाचन प्रक्रियामा सुधार गर्छ। किबीलाई जुस र सलादका रूपमा उपभोग गरिन्छ। यसमा रहेका पौष्टिक तत्वका कारण सबै उमेरका व्यक्तिहरूका लागि किबी उपयुक्त मानिन्छ।

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

0

गाईघाट (उदयपुर): उदयपुरमा चार दिनदेखि व्यापक चिसो बढेसँगै शीतलहर सुरू भएकोले जनजीवन प्रभावित बनेको छ। चिसोको प्रभावले विशेषगरी आधारभूत तहका विद्यालयका विद्यार्थीको उपस्थिति घट्दै गएको शिक्षकहरूले जनाएका छन्।

त्रियुगा, चौदण्डीगढी नगरपालिकालगायतका सरकारी तथा निजी विद्यालयमा साना कक्षाका विद्यार्थी चिसोका कारण विद्यालयमा न्यून उपस्थित हुन थालेका छन्। त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार चिसोले गर्दा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ। त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थीमध्ये केवल २५ प्रतिशत मात्र विद्यालय आउन थालेको जानकारी दिनुभयो।

चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले शीतलहर र चिसोले साना कक्षाका विद्यार्थीलाई नकारात्मक प्रभाव पार्दै न्यून उपस्थिति भएको बताउनुभयो।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीका अनुसार शीतलहर र हुस्सुले घरका बालबालिका विद्यालय जान नसक्ने अवस्था सिर्जना गरेको छ। बालबालिकाले दिनभर घरमै न्यानो लुगा ओढेर बस्न थालेको र चिसोका कारण अभिभावकहरूले उनीहरूलाई विद्यालय पठाउन छाडेका छन्।

चार दिनदेखि उदयपुरका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका तराई क्षेत्रहरूमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ। अत्यधिक चिसोका कारण नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर बस्न बाध्य छन्।

लस एञ्जलसको आगलागीमा हलिउड स्टारहरूका घर पनि जले, कमला ह्यारिसको घर खाली गरियो

0

लस एन्जलस: अमेरिकाको क्यालिफोर्नियामा लागेको डरलाग्दो आगलागी लस एन्जलस सहरसम्म फैलिएको छ। मंगलबार सुरु भएको यस आगलागीले तीन दिनमै ४ हजार ८५६ हेक्टर क्षेत्रफल नष्ट गरेको छ। आगलागीका कारण ११ सयभन्दा बढी भवन पूर्ण रूपमा जलेका छन् भने २८ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

आगोका कारण हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने ५० हजार मानिसलाई तत्काल आफ्नो घर खाली गर्न भनिएको छ। थप रूपमा, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिइएको छ। सहरको स्थितिलाई ध्यानमा राख्दै प्रशासनले लस एन्जलस क्षेत्रमा संकटकाल घोषणा गरेको छ।

उपराष्ट्रपतिको निवास खाली, हलिउड सेलिब्रिटीहरू प्रभावित

आगलागीको चपेटामा परेका क्षेत्रमा ब्रेन्टवुड पनि परेको छ, जहाँ उपराष्ट्रपति कमला ह्यारिसको निवास छ। जोखिम बढेसँगै उनलाई घर खाली गर्न निर्देशन दिइएको छ।

यसबाहेक, आगोले हलिउडको पहाडी क्षेत्रमा रहेका थुप्रै सेलिब्रिटीहरूको महंगा बंगला नष्ट गरेको छ। पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एस्टन कुचरलगायतका चर्चित कलाकारहरूको घरमा ठूलो क्षति पुगेको छ। धेरै सेलिब्रिटीहरूले आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन्।

हलिउडको प्रतीक चिह्न ‘हलिउड बोर्ड’ जोखिममा

बीबीसीका अनुसार आगोले हलिउड हिल्स क्षेत्रमा फैलिन थालेपछि ऐतिहासिक ‘हलिउड बोर्ड’ पनि जोखिममा परेको छ। यो बोर्ड अमेरिकाको फिल्म उद्योगको प्रतीकको रूपमा चिनिन्छ। यस क्षेत्रमा रहेको सहर हलिउडको नामबाट अमेरिकी फिल्म उद्योगको नामाकरण गरिएको थियो।

प्रशासन र अग्नि नियन्त्रण प्रयास

अग्नि नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन्। यद्यपि, आगो नियन्त्रणमा चुनौती बनेको छ किनभने क्षेत्रीय तातो हावा र सुख्खा घाँसका कारण आगो तीव्र गतिमा फैलिरहेको छ।

क्यालिफोर्नियामा यसप्रकारका डरलाग्दा आगलागी वर्षेनी हुने गर्दछ। विज्ञहरूका अनुसार, यस क्षेत्रमा जलवायु परिवर्तनका कारण आगलागीको जोखिम बढ्दै गएको छ।

क्षतिको थप विवरण आउँदै

प्रशासनले आगलागीको पूर्ण विवरण संकलन गर्दैछ। स्थानीय जनतालाई सर्तक रहन र आवश्यक परे तुरुन्त सहायता लिन अपिल गरिएको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघीय सहयोगको तयारी भइरहेको बताइएको छ।

आगलागीको डरले हजारौं मानिस आफ्नो घर छोडेर हिँडेका छन्। प्रभावितहरूका लागि अस्थायी शिविर र सहयोग केन्द्र स्थापना गरिएका छन्। राहत र उद्धार कार्यलाई तीव्र बनाउन सरकारले स्थानीय र संघीय निकायहरूबीच सहकार्य गरिरहेको छ।

क्यालिफोर्नियामा पछिल्ला केही वर्षहरूमा यस्ता भयावह घटनाहरूले जनजीवनलाई गम्भीर रूपमा असर पारेका छन्। विशेषज्ञहरूले यस क्षेत्रका लागि दीर्घकालीन समाधानको खाँचो औंल्याएका छन्।

तिब्बतमा भूकम्पपछि एक हजार २ सय ११ पराकम्पन

0

ल्हासा। दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ७ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह ३ः०० बजेसम्म कूल एक हजार २ सय ११ वटा परकम्पनहरू मापन गरिएको क्षेत्रीय सरकारले जनाएको छ।

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ७ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ।

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

0

काठमाडौँ: कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार भएको थुनछेक बहसपछि यस्तो आदेश आएको हो। सहकारीको बचत रकम अपचलन मुद्दामा आजै बहस सकिएको थियो। न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि प्रतिवादीहरूको थुनछेक बहस चलिरहेको थियो।

लामिछानेसहित सहकारी ठगी मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतविरुद्ध पनि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर भएको थियो। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधको मुद्दा चलाइएको छ भने खनाल, जोशी र पछाईँसहित सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरिएको छ।

पाँच वर्षमा धान रोप्ने क्षेत्रफल ५२ हजार हेक्टर घट्यो

0

काठमाडौँ: नेपालमा पछिल्लो पाँच वर्षमा ५२ हजार हेक्टरभन्दा बढी धान खेती हुने क्षेत्रफल घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार धान बाली हुने क्षेत्रफलमा निरन्तर कमी आएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टरमा धान रोपाइँ भएकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा घटेर १४ लाख २० हजार ६३६ हेक्टरमा सीमित भएको छ। यसले ५२ हजार ८३८ हेक्टर क्षेत्रफलको कमी देखाउँछ।

यद्यपि, धान उत्पादन भने वृद्धि भएको छ। चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ, जबकि पाँच वर्षअघि ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो।

प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

0
फाइल तस्बिर

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा हुने भनिएको अभिव्यक्तिपछि दुई नेताहरूबीच भेटवार्ता भएको हो।

अब कक्षा ८ को सट्टा कक्षा ९ मा रजिस्ट्रेसन फाराम भर्नुनपर्ने, शुल्क लिन नपाइने

0

काठमाडौँ। अबदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि कक्षा ९ र कक्षा ११ मा गरी दुई पटक रजिस्ट्रेसन फाराम भर्ने बाध्यता थियो। यो प्रणाली अन्त्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै फाराम भर्ने व्यवस्था लागू गर्ने तयारी गरेको हो।

शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्ने बाध्यता हटाइएको जानकारी दिइन्।

उनका अनुसार, अब रजिस्ट्रेसन फाराम निःशुल्क रूपमा भर्ने व्यवस्था हुनेछ। यसअघि राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र तयार पार्दा र कक्षा ९ तथा ११ का रजिस्ट्रेसनको नाममा समेत शुल्क लिँदै आएको थियो। त्यसबाट नेपाल सरकारले राजस्व संकलन गर्ने गरेको तथ्य पनि बाहिर आएको थियो।

‘विद्यार्थीबाट रजिस्ट्रेसन शुल्क उठाइ राजस्वमा जाने व्यवस्था रोक्न मैले पहल गरेकी हुँ,’ मन्त्री भट्टराईले भनिन्, ‘अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन शुल्क लिने, त्यो पनि राजस्वमा नजाने गरी अर्थ मन्त्रालयसँग सहमति भएको छ। यसबारेमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेन्डा लगेर पारित गराएका छौँ।’

मन्त्री भट्टराईका अनुसार, यो निर्णय आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयनमा आउनेछ। उनले निःशुल्क तथा अनिवार्य शिक्षाको सुरुवात यही निर्णयबाट भएको दाबी गरिन्। साथै, फाराम भर्दा विलम्ब शुल्क लिने प्रथा पनि अन्त्य गरिएको छ। अबदेखि विलम्ब शुल्कका नाममा विद्यार्थीबाट थप रकम असुल्न पाइनेछैन।

त्यस्तै, शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउने नाममा लिने शुल्क हटाउने विषयमा पनि छलफल अगाडि बढाइएको मन्त्री भट्टराईले बताइन्।

अमेरिकामा पहिलोपटक बर्ड फ्लूका कारण मानवको मृत्यु

0

लुइसियाना: लुइसियाना राज्यको स्वास्थ्य विभागले अमेरिकामा बर्ड फ्लूका कारण पहिलो मानव मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने व्यक्ति ६५ वर्षभन्दा माथिको रहेको र उनको प्रतिरोधी क्षमता कमजोर रहेको जनाइएको छ।

स्वास्थ्य विभागका अनुसार चरा, कुखुरा, हाँसजस्ता पंक्षी तथा अन्य पशुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरू बर्ड फ्लूको उच्च जोखिममा पर्ने खतरा रहन्छ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) का तथ्याङ्कअनुसार अमेरिकामा अहिलेसम्म बर्ड फ्लूका ६६ मानव संक्रमितको रिपोर्ट गरिएको छ। तीमध्ये अधिकांश केसहरू जोखिमयुक्त कार्य वातावरण वा पंक्षीसँगको प्रत्यक्ष सम्पर्कका कारण भएको देखिएको छ।

हालसम्म अमेरिकाका क्यालिफोर्निया, कोलोराडो, आयोवा, लुइसियाना, मिशिगन, ओरेगन, मिसौरी, वाशिङ्गटन, विस्कन्सिन, र टेक्सासमा बर्ड फ्लूका संक्रमित भेटिएका छन्।

लुइसियानामा देखिएको यो केस अमेरिकामा मानवमा बर्ड फ्लू संक्रमण पुष्टि भएको पहिलो केस हो। विशेषज्ञहरूले संक्रमण नियन्त्रणका लागि सचेत रहन र जोखिम क्षेत्रमा काम गर्ने श्रमिकहरूले व्यक्तिगत सुरक्षा उपकरण (PPE) अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सल्लाह दिएका छन्।

बर्ड फ्लू संक्रमणको लक्षणहरू:

बर्ड फ्लूका संक्रमितमा सामान्यतया निम्न लक्षणहरू देखिन्छन्:

उच्च ज्वरो
खोकी वा घाँटी दुख्ने
टाउको दुख्ने
मांसपेशी दुखाइ
सास फेर्न गाह्रो हुने
सावधानीका उपायहरू:
संक्रमित पंक्षी वा जनावरसँग प्रत्यक्ष सम्पर्क नगर्नु।
मास्क र पञ्जा प्रयोग गर्नु।
मासु वा अण्डा राम्ररी पकाएर मात्रै उपभोग गर्नु।
कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनु।

विश्व स्वास्थ्य संगठन (WHO) ले समेत बर्ड फ्लूका सम्भावित महामारी रोक्नका लागि सर्तकता अपनाउन सबै देशहरूलाई आग्रह गरेको छ।

संविधान संशोधनको एजेण्डाबाट प्रधानमन्त्री ओली किन ब्याक ?

0

काठमाडौं: राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, र सुशासनलाई प्रमुख प्राथमिकता दिने प्रतिबद्धताका साथ प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली ती तीन एजेण्डामा असफल हुने संकेत देखिएको छ।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले सरकारको नियतमाथि नै शंका उत्पन्न गराएको छ।

मंगलबार सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका छन्। पार्टीका नेताहरूले २०८३ भनिएकोमा भ्रम रहेको सोध्दा पनि उनले २०८७ नै भनेको दोहोर्‍याएका छन्। यसबाट ओलीको सरकार वा आगामी सरकारका योजनाहरूमा संविधान संशोधनको एजेण्डा प्राथमिकतामा नरहेको स्पष्ट भएको छ।

वर्तमान सत्ता गठबन्धनले संविधान संशोधनको वाचा गरे पनि त्यसका लागि आवश्यक दुई-तिहाइ बहुमत अभाव छ। संघीय संसद्का दुवै सदनमा एमाले र कांग्रेससँग पर्याप्त मत नभएको अवस्थामा गठबन्धनले यो उद्देश्य पूरा गर्न नसक्ने देखिन्छ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुले माओवादी र रास्वपाको समर्थन पाउने सम्भावना झन् कमजोर बनाएको छ। त्यस्तै, राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाबाट समर्थन जुटाउन ती विषयलाई सम्बोधन गर्नुपर्ने बाध्यता छ।

सत्ता गठबन्धनले संविधान संशोधनलाई चुनावी एजेण्डा बनाएको प्रस्ट भइसकेको छ। ओलीले २०८७ सालमा मात्रै संशोधन हुने बताएपछि यो विषय २०८४ को निर्वाचनको प्रमुख मुद्दा बन्ने निश्चित देखिन्छ।

संविधान संशोधनको प्रक्रियामा भारतको हस्तक्षेप हुने सम्भावना समेत उच्च छ। २०७२ सालमा संविधान जारी गर्न अवरोध गरेको भारतले यसपटक संशोधनमा आफ्ना एजेण्डा राख्न दबाब दिन सक्ने आंकलन गरिएको छ।

२०७९ को निर्वाचनमा उदाएका नयाँ दलहरूले आगामी निर्वाचनमा पनि राम्रो प्रदर्शन गर्ने सम्भावना छ। उपनिर्वाचनका नतिजाहरूले कांग्रेस र एमालेका लागि निराशाजनक संकेत देखाएका छन् भने माओवादी र रास्वपाका लागि सकारात्मक संकेत देखिएका छन्।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अहिलेका सत्ता साझेदार दलहरूका लागि ८४ को निर्वाचनपछि झन् चुनौतीपूर्ण अवस्था सिर्जना गरेको छ। संविधान संशोधनको मुद्दा प्रमुख एजेण्डा बन्ने संकेतले कांग्रेस र एमालेको राजनीतिक अवस्था झन् कमजोर बनाउने सम्भावना देखिन्छ।

अबको चुनौती यो हो कि, गठबन्धनले संविधान संशोधनको लागि आवश्यक मत तत्काल जुटाउने प्रयास गर्छ कि अर्को निर्वाचनमा संविधान संशोधनकै एजेण्डालाई लिएर अघि बढ्छ। ८४ को निर्वाचनपछि यो विषय कसरी अघि बढ्नेछ भन्नेमा सबै दलको ध्यान केन्द्रित छ।