Friday, May 8, 2026
Home Blog Page 56

एनआरएनएको तीन महत्वाकांक्षी योजना: अस्पताल, स्कुल र ईभी बस सेवा प्रस्ताव

0

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा मूलप्रवाहीकरण गर्ने उद्देश्यसहित तीनवटा महत्वाकांक्षी परियोजना प्रस्ताव गरेको छ।

संघका वरिष्ठ उपाध्यक्ष तथा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट’ विभाग प्रमुख रोविन शेरचनका अनुसार स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा दूरगामी प्रभाव पार्ने परियोजनाहरू अघि सारिएका हुन्। एनआरएनएको १२औँ एकता महाधिवेशनपछि बसेको बैठकले यी परियोजनालाई अघि बढाउन स्वीकृति दिएको छ।

पहिलो परियोजनाका रूपमा ‘एनआरएनए हस्पिटल’ अघि सारिएको छ, जसमा अस्पतालसँगै रिटायरमेन्ट होम, केयर होम र बालबालिकाका लागि सुरक्षित वातावरणसहितको एकीकृत कम्प्लेक्स निर्माण गरिनेछ। विशेषगरी विदेशमा रहेका नेपालीका अभिभावकको स्याहार–सुसारलाई लक्षित गरी यो योजना तयार गरिएको बताइएको छ। अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

दोस्रो परियोजना ‘एनआरएनए स्कुल’ हो। विदेशमा जन्मिएका तथा हुर्केका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यले यो विद्यालय स्थापना गर्ने योजना रहेको छ। विद्यालयमा नेपाली पाठ्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिने बताइएको छ।

तेस्रो परियोजनाका रूपमा काठमाडौँ उपत्यकामा अत्याधुनिक विद्युतीय (ईभी) डबल डेकर बस सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। बढ्दो ट्राफिक जाम र वायु प्रदूषण न्यूनीकरण गर्न यो योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ। रिङरोड तथा मुख्य सहरी क्षेत्रमा बस सञ्चालन गर्ने योजना रहेको छ।

यी परियोजनाहरू सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गरिने जनाइएको छ। परियोजना कार्यान्वयनका लागि सरकारसँग समन्वय गर्दै जग्गा प्राप्ति, अनुमतिपत्र र कानुनी प्रक्रिया पूरा गरिनेछ।

लगानीका लागि १० अर्ब रुपैयाँ बराबरको ‘एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड’ सञ्चालन गर्ने तयारी गरिएको छ। यस कोषमा गैरआवासीय नेपाली, निजी क्षेत्र तथा नेपाल सरकारको समेत साझेदारी रहनेछ।

संघले फण्डमा लगानी आकर्षित गर्न अमेरिका, एसिया, ओसेनिया, मध्यपूर्व/मलेसिया, अफ्रिका र युरोपमा ‘रोड शो’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

यी परियोजनाहरू कार्यान्वयनमा आएमा रोजगारी सिर्जना हुने तथा ‘रिटर्न टू नेपाल’ अभियानलाई बल पुग्ने विश्वास एनआरएनएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक जारी, निर्वाचन समीक्षा र सभापतिको राजीनामामाथि छलफल

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।

बिहान ८ बजेदेखि सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ।

यसैगरी, पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि बैठकमा छलफल भइरहेको छ। सदस्यहरूले दुवै विषयमा आफ्नो धारणा राखिरहेका छन्।

आजको विनिमयदर: अमेरिकी डलर १५० नजिक, अन्य मुद्राको मूल्य पनि सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ। साथै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई, राजनीतिक स्थायित्वमा योगदानको प्रशंसा

0

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण गर्न सफल भएको भन्दै बधाई ज्ञापन गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रशंसा गरेको हो।

चुनाव हुने विषयमा विभिन्न आशंका भइरहेका बेला सबै पक्षलाई विश्वासमा लिएर देशभर स्वच्छ र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनु ठूलो सफलता भएको प्रतिनिधिमण्डलको भनाइ थियो।

अध्यक्ष घिसिङले भने, “चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा हार्दिक बधाई तथा धन्यवाद। म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सुरक्षित अवतरण गरेको छ।”

प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सहभागिता जनाएर सहयोग गरेकोमा आभार व्यक्त गरिन्। साथै, घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन्।

उनले भनिन्, “तपाईँहरू विभिन्न क्षेत्रका विज्ञहरू पार्टीमा हुनुहुन्छ। यस्ता व्यक्तिहरूले संसदबाहिरबाट पनि देशका लागि महत्वपूर्ण योगदान दिन सक्छन्। एउटै निर्वाचनको परिणामबाट निराश नहुनुहोस्, अगाडि बढिरहनुहोस्।”

यसै क्रममा पार्टीले खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

कोशी एक्सिलेन्स अवार्ड २०२६’ वितरण: उत्कृष्ट व्यक्तित्व सम्मानित

0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

इटहरीमा शनिबार आयोजित अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्ता कार्यक्रमले आफूलाई थप सकारात्मक ऊर्जा प्रदान गरेको उल्लेख गरे। मिडिया क्षेत्रसँग सहकार्य गर्दै प्रदेश सरकारले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संरचनाले देशलाई अझ मजबुत बनाएको बताए। नयाँ जनादेशले विकासका लागि नयाँ ढोका खोलेको उल्लेख गर्दै उनले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले यस्ता कार्यक्रमले प्रदेश सरकारलाई समेत ऊर्जा प्रदान गरेको बताए। उद्योग, कृषि तथा सहकारी मन्त्री इर्साइल मन्सुरीले कार्यक्रममा सहभागिता जनाउन पाउँदा खुसी व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाए।

अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो। कृषि विधातर्फ डिल्लीराज उप्रेती, शिक्षा विधातर्फ उमेश श्रेष्ठ, स्वास्थ्य विधातर्फ डा. वीरेन्द्र विष्ट, सामाजिक विधातर्फ दिनबन्धु गोयल, पत्रकारिता विधातर्फ अखण्ड भण्डारी, साहित्य विधातर्फ अनिल पौडेल, खेलकुद विधातर्फ अञ्जिला तुम्बापो सुब्बा, सूचना प्रविधि विधातर्फ सरोज राउत, अटोमोबाइल विधातर्फ विष्णुकुमार अग्रवाल, संगीत विधातर्फ प्रमोद खरेल, बैंकिङ विधातर्फ सन्तोष कोइराला, इन्स्योरेन्स विधातर्फ सन्तोष प्रसाई, पुँजी बजार विधातर्फ चूडामणि चापागाईं, कर्पोरेट विधातर्फ मोती दुगड, उद्यमशीलता विधातर्फ रक्तिम जोशी प्याकुरेल तथा स्टार्टअप विधातर्फ नरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो।

यसैगरी जनता बहुमुखी क्याम्पस, डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सादर खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका मुख्य सल्लाहकार महाप्रसाद अधिकारीले यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना हुनुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले कोशी सरकारले आमसञ्चार विधेयक फिर्ता लिएकोमा आभार व्यक्त गर्दै अवार्डले सकारात्मक ऊर्जा प्रदान गरेको बताए।

सोही अवसरमा नयन मिडिया फाउन्डेसनले दुर्घटना बीमा कार्यक्रम सुरु गरेको छ। कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, महासंघ कोशीका अध्यक्ष भरत खड्का र इन्स्योरेन्स प्रतिनिधि भेषराज थापाबीच सम्झौता भएको छ।

त्यसैगरी, प्रदेशखबर डटकमले सञ्चालन गरेको निर्वाचन विशेष कार्यक्रममा उत्कृष्ट रिपोर्टिङ गर्ने विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।

नयन मिडिया फाउन्डेसनको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सम्पन्न उक्त कार्यक्रमले कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्दै प्रदेशको पहिचान, सम्भावना र सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको अध्यक्ष पवन अधिकारीले जानकारी दिएका छन्।

शिक्षामा सुधारका लागि समन्वय अपरिहार्य: वडा २७ अध्यक्ष खड्गी

0

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन्।

वडा २७ द्वारा आयोजित एकदिने “शिक्षक पुनर्ताजगी कार्यक्रम” लाई सम्बोधन गर्दै उनले शिक्षकलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा उल्लेख गरे। उनका अनुसार शिक्षकले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा नैतिकता, अनुशासन र जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

संघीय संरचनापछि माध्यमिक शिक्षा स्थानीय तहको मातहतमा आएसँगै वडा र विद्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनले जोड दिए। साथै, शिक्षकको क्षमता अभिवृद्धि, तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन वडा सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा वडा सदस्य सृष्टि कंसाकरले अरूलाई ज्ञान बाँड्नुअघि शिक्षक स्वयं शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने बताउँदै सोही उद्देश्यले पुनर्ताजगी कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन्।

अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश राज भण्डारीले शिक्षकलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेकोमा वडा २७ लाई धन्यवाद दिँदै शिक्षण कार्यलाई पवित्र जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षकले विषयवस्तुसँगै विद्यार्थीको चारित्रिक विकासमा पनि ध्यान दिनुपर्ने बताए।

त्यसैगरी, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले समयअनुसार शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकलाई नयाँ सोच र ऊर्जा प्रदान गर्ने बताए। शिक्षा विभागले यस्ता तालिम सञ्चालन गर्दै आएको भए पनि वडा स्तरबाट यस्तो पहल हुनु सकारात्मक भएको उनको भनाइ थियो।

विश्व पानी दिवस आज: स्रोत संरक्षण र सचेतनामा जोड

0

काठमाडौं । आज विश्व पानी दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। पानीको उपयोग तथा स्रोत संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मार्च २२ मा यो दिवस मनाउने गरिन्छ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावले मानव स्वास्थ्यमा पार्ने असर तथा पानीको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउन सरकारी निकाय तथा विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गइरहेको सन्दर्भमा तिनको संरक्षणमा सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ मा मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

पश्चिमी न्यून चापीय प्रभाव: देशभर बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायूको प्रभाव रहेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

इरान युद्ध अन्त्य गर्ने संकेत, स्थल सेना पठाउने तयारीको चर्चा

0

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे फेरि एकपटक महत्वपूर्ण धारणा सार्वजनिक गरेका छन्। ‘ट्रुथ सोसल’ मार्फत उनले इरानविरुद्धको सैन्य अभियान चाँडै अन्त्य गर्ने विषयमा विचार भइरहेको बताएका हुन्।

तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्थल सेना उतार्ने सम्भावनाबारे पनि विभिन्न रिपोर्टहरू सार्वजनिक भएका छन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “हामी इरानको आतङ्की शासनसँग सम्बन्धित मध्यपूर्वमा हाम्रा ठूला सैन्य अभियानहरू क्रमशः समाप्त गर्नेबारे सोचिरहेका छौँ, किनकि हामी आफ्ना लक्ष्यहरू हासिल गर्ने नजिक पुगेका छौँ।”

उनले होर्मुज जलडमरु मध्यको सुरक्षाबारे पनि टिप्पणी गर्दै यसको जिम्मेवारी प्रयोग गर्ने देशहरूले नै लिनुपर्ने बताएका छन्। विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ओसारपसार हुने अनुमान छ।

ट्रम्पले आवश्यक परे अमेरिका सहयोग गर्न तयार रहेको जनाउँदै इरानको खतरा समाप्त भएपछि यस्तो आवश्यकता नरहने दाबी गरेका छन्।

उनले इरानविरुद्धको अभियानमा मिसाइल क्षमता कमजोर पारिएको, सैन्य औद्योगिक संरचना ध्वस्त बनाइएको र परमाणु हतियार विकासको सम्भावना अन्त्य गरिएको दाबी पनि गरेका छन्।

यसैबीच अमेरिकाले मध्यपूर्वमा आफ्ना सहयोगी राष्ट्रहरू—इजरायल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलाई उच्च सुरक्षा प्रदान गर्दै आएको ट्रम्पले उल्लेख गरेका छन्।

यता सीबीएसको रिपोर्टअनुसार अमेरिकी सैन्य अधिकारीहरू इरानमा स्थल सेना तैनाथ गर्ने सम्भावनाबारे आन्तरिक तयारीमा जुटिरहेका छन्। पेन्टागनका अधिकारीहरूले सम्भावित सैन्य रणनीतिबारे विस्तृत छलफल गरिरहेको जनाइएको छ।

शुक्रबार ट्रम्पले युद्धविरामभन्दा अभियान क्रमशः अन्त्य गर्ने पक्षमा रहेको बताएका थिए। उनले तत्काल स्थल सेना पठाउने योजना नरहेको संकेत दिँदै आवश्यक परे त्यस्तो निर्णयबारे सार्वजनिक रूपमा जानकारी नदिइने पनि उल्लेख गरेका छन्।

रामनवमीमै बालेनको सपथ तयारी, रास्वपा सरकार गठनको तयारीमा

0

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ।

बालेनले हेरेको साइतअनुसार चैत्र १३ गते रामनवमीका दिन प्रधानमन्त्रीको सपथ लिने तयारी गरिएको स्रोतले जनाएको छ। उक्त दिन सार्वजनिक विदा पर्ने भएकाले यस विषयमा थप चासो बढेको छ।

बालेन निकट स्रोतका अनुसार उनी निर्णय लिनुअघि चिना तथा साइत हेर्ने अभ्यासमा रहने र सोही आधारमा सपथको मिति तय गरिएको बताइएको छ।

यसअघि सार्वजनिक विदाका दिन राष्ट्रपतिबाट प्रधानमन्त्रीको सपथ गराउने अभ्यास नभएकाले राष्ट्रपति कार्यालय उक्त दिन खुल्ने वा नखुल्ने भन्ने विषयमा अन्योल रहेको छ। तर आवश्यक परे सोही दिन सपथ गराउन सकिने सम्भावना रहेको बताइएको छ।

प्रधानमन्त्रीको सपथका क्रममा बालेनले कस्तो पहिरन रोज्छन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ, किनकि उनी प्रायः कालो पहिरनमा देखिने गरेका छन्।