Thursday, May 7, 2026
Home Blog Page 46

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, सानो (भारतीय) २० रुपैयाँ र सानो (तराई) ३० रुपैयाँ निर्धारण गरिएको छ। आलु रातो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, गाजर (लोकल) २० रुपैयाँ, गाजर (तराई) १५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ६० रुपैयाँ, काउली (तराई) ५० रुपैयाँ, रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ र हाइब्रिड २० रुपैयाँ तोकिएको छ। भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ।

मटरकोसा ५० रुपैयाँ, घिउ सिमी (लोकल) ८० रुपैयाँ, हाइब्रिड ७० रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, करेला १३० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ४० रुपैयाँ र (डल्लो) २५ रुपैयाँ कायम गरिएको छ।

सलगम ४० रुपैयाँ, भिन्डी ९० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ। रायोसाग ६० रुपैयाँ, पालुङ्गो, चमसुर र मेथीको साग १०० रुपैयाँ तथा हरियो प्याज ८० रुपैयाँ निर्धारण गरिएको छ।

अन्य वस्तुहरूमा बकूला ४० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १०० रुपैयाँ, डल्ले ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, जिरीको साग ६० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १३० रुपैयाँ, तरबुजा ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ३० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, निबुवा ७० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १७० रुपैयाँ निर्धारण गरिएको छ।

केपी शर्मा ओली र रमेश लेखक आज अदालतमा पेस हुँदै

0

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गर्ने तयारी गरेको छ।

शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई त्यस दिन अदालत उपस्थित गराइएको थिएन। प्रहरीले आज दुवै नेतालाई अदालतमा उपस्थित गराइने जनाएको छ।

प्रहरीले दुवै नेतालाई शनिबार आफ्नै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

आयोगले आन्दोलनका क्रममा भएको मानव क्षतिमा लापरबाही र हेलचेक्र्याइँ भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो।

बालेन्द्र शाह सरकारको १०० कार्यसूची— शासकीय सुधार र शिक्षा क्षेत्रमा ठूला निर्णय

0

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो।

सरकारले ‘जेनजी आन्दोलन’का क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइने जनाइएको छ।

यसैगरी, शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने उद्देश्यले विद्यालय र विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका संरचनाहरू हटाउने निर्णय गरिएको छ।

सरकारका अनुसार शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्दै विद्यार्थीहरूको स्वतन्त्र आवाजलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यो कदम चालिएको हो।

नेकपा एमालेको देशव्यापी कदम— केपी शर्मा ओलीको रिहाइ माग्दै ७७ जिल्लामा ज्ञापनपत्र

0

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी देखाएको आधारमा प्रहरीले ओलीलाई हिजो निवासबाटै पक्राउ गरेपछि एमाले सचिवालय बैठकले विरोधस्वरूप उक्त निर्णय गरेको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भई नारा–जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ।

यसअघि पनि पार्टी सम्बद्ध जनसङ्गठनहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

यसैबीच, अध्यक्ष ओलीको पक्राउबारे आज बिहान १०:३० बजे कानुनविद्हरूसँग अन्तरसंवाद कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम प्रेस चौतारी नेपालको आयोजनामा पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा हुने जनाइएको छ।

दीपक खड्का पक्राउ— सम्पत्ति शुद्धीकरण अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरोको कारबाही

0

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि सोही आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

नेपाल सरकारको निर्णय— कक्षा ५ सम्म आन्तरिक परीक्षा प्रणाली खारेज

0

काठमाडौं । नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म लिइँदै आएको आन्तरिक परीक्षा पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो।

सरकारका अनुसार साना बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई कम गर्दै उनीहरूको स्वाभाविक र सिर्जनात्मक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको हो।

यस निर्णयले प्रारम्भिक तहको शिक्षालाई परीक्षा–केन्द्रित भन्दा सिकाइ–केन्द्रित बनाउने अपेक्षा गरिएको छ।

केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा उपचार— स्वास्थ्य निगरानीमा राखेर भर्ना

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमै राखेर उपचार भइरहेको छ।

शनिबार बिहान पक्राउ परेपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि टिचिङ आकस्मिक कक्षमा परीक्षण गर्दा उनको मुटुको चाल बढेको देखिएको थियो। चिकित्सकको सल्लाह अनुसार ओलीलाई भर्ना गरिएको हो।

ओली हाल एनेक्स वानको ५०१ बेडमा उपचाररत छन्। उनको मिर्गौला र मुटु रोग विशेषज्ञ टोलीले निगरानीमा राखेर उपचार गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री ओली दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन् र नियमित रूपमा प्रत्यारोपणपछिको औषधि (इम्युनोसप्रेसिभ) सेवन गरिरहेका छन्।

जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले आज बिहान ओलीलाई गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन्।

नेकपा एमालेको विरोध प्रदर्शनमा ७ पक्राउ— काठमाडौँमा तनाव

0

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा उनीहरूलाई पक्राउ गरिएको हो।

उक्त घटनाक्रममा बबरमहलमा केही प्रदर्शनकारीले टायर बालेर विरोध जनाएका थिए। प्रहरीसँगको झगडामा केही प्रदर्शनकारी घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न एक सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ।

आज बिहान अध्यक्ष ओली पक्राउ परेपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ताहरू काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि प्रदर्शनमा उत्रिएका थिए। प्रहरी र प्रदर्शनकारीबीच भएको संघर्षपछि सत्तारुढ विरोध प्रदर्शन तनावपूर्ण बनेको छ।

नेपाल प्रहरीको कडा निर्देशन— अत्यावश्यकबाहेक बिदा रोक, कर्मचारीलाई तत्काल ड्युटीमा फर्किन आग्रह

0

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले तत्कालका लागि प्रहरी कर्मचारीलाई बिदामा नछाड्न निर्देशन दिएको छ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्थापन सुदृढ गर्नुपर्ने भएकाले प्रशासन शाखाले शनिबार परिपत्र जारी गर्दै प्रसूति र किरिया बिदा बाहेक अन्य सबै बिदा स्थगित गर्न निर्देशन दिएको हो।

प्रशासन शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाद्वारा मातहतका निकायलाई पठाइएको पत्रमा अर्को आदेश नभएसम्म अन्य बिदा नदिन तथा सिफारिस नगर्न भनिएको छ।

परिपत्रमा उल्लेख छ, “हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न अनुरोध गरिन्छ।”

यससँगै बिदामा रहेका प्रहरी अधिकृतहरूलाई समेत तत्काल काममा फर्किन निर्देशन दिइएको छ। कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका र बिदामा रहेका अधिकृतहरूलाई अविलम्ब हाजिर गराउन भनिएको छ।

प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सबै प्रदेश प्रहरी कार्यालयलाई उक्त निर्देशन पठाएको जनाएको छ।

यसैबीच, जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेकपा एमालेले देशभर विरोध कार्यक्रम सुरु गरेको छ।

कर्णबहादुर मल्ल पक्राउ— बलात्कार आरोपमा सातदोबाटोबाट नियन्त्रणमा

0

काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार बलात्कारसम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको हो।

यसअघि मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। पीडितका अनुसार बालकुमारीस्थित एक होटलमा मल्लले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।

प्रहरीका अनुसार पीडित महिलाले सुरुमा भ्रूणहत्या सम्बन्धी जाहेरी दिए पनि पछि उक्त जाहेरीलाई बलात्कार सम्बन्धी मुद्दामा परिवर्तन गरेकी थिइन्। पीडित महिला कालिकोटकी स्थानीय रहेको जनाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।