नेपाली साहित्यमा आख्यानकार, कवि, समीक्षक नाटककार भनेजस्तै अनुवादक भन्दा लेखक वा अनुवादकले सम्मान बोध गर्ने वा समाजले आदरका दृष्टिले हेर्ने अवस्थालाई कसरी हेर्नुभएको छ ?
छ । गुलाफको फूललाई सबैले राम्रो भनेजस्तै हो यो कुरा । राम्रा अनुवादकलाई राम्रा भन्दा अनुवादकले सगर्व सम्मान बोध गर्छन् । मैले अगाडि पनि नाम लिइसकेँ कृष्णप्रकाश श्रेष्ठको । लीलाप्रसाद शर्मा अर्का एकजना सम्मानित अनुवादकको नाम हो । करुणा नेपाल, कृष्णप्रकाश श्रेष्ठ, खगेन्द्र संग्रौलाको ख्याति अनुवादकका रूपमासमेत उच्च छ । यसमा उनीहरूलाई समाजले अनुवादक भनी सम्बोधन गर्दा उहाँहरूको इज्जत बढेकै देख्छु म । नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा र अंग्रेजी भाषामा लेखिएका अनेक विधाका पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी देश विदेशमा तिनको ख्याति फैलाउने काममा अनिसा रिमाल, अनुकृतिका, अनुराधा शर्मा, अभय श्रेष्ठ, अभि सुवेदी, अमृतरत्न तुलाधर, अर्जुन प्रधान, आनन्दप्रसाद श्रेष्ट, आनन्ददेव भट्ट, इडा उपाध्याय, इन्द्रविलास अधिकारी, ईश्वरीप्रसाद पाण्डे, उज्ज्वल प्रसार्इँ, उदय अधिकारी, ऋचा शर्मा, ऋद्धिबहादुर मल्ल, ऋषिकेश उपाध्याय, ओकियुमा ग्वाइन, आमचरण आमात्य, कमलमणि दीक्षित, कमला सांकृत्यायन, कल्पना घिमिरे, कृष्णचन्द्र उपाध्याय, किशोर पहाडी, केशरलाल श्रेष्ठ, खगेन्द्र संग्रौला, ग्रेटा राणा, गोविन्दराज भट्टराई, चण्डिका दवाडी, टिकाराम रेग्मी, टिकाराम शर्मा, तारानाथ शर्मा, तेजरत्न कंसाकार, दिनेश पौडेल, दीपक अधिकारी, दिवाकर देवकोटा, देवराज पौडेल, नगेन्द्र शर्मा, नमिता सिंह, नरदेवी राई, नवराज चौलागाईँ, निनु चापागाईँ, निरञ्जन बज्राचार्य, पद्मप्रसाद देवकोटा, प्रकाशमणि दाहाल, पिटर जे कार्थक, प्रतिक ढकाल, प्रवीण मोक्तान, पुष्कर समशेर, पारसमणि प्रधान, फिलिप पियर्स, बलराम अधिकारी, बलेन्द्रबहादुर कटवाल, भरतकुमार प्रधान, भूपप्रसाद धमला, मञ्जुश्री थापा, मनु मञ्जील, महेश पौडेल, माइकल हट, मुकुल दाहाल, युयुत्सु आरडी, रमा लोहनी, रमेश विकल, राजनारायण यादव, राजेश्वर थापा, रामदयाल राकेश, रामबहादुर पहाडी, लक्ष्मीप्रसाद श्रेष्ठ, लीलाप्रसाद शर्मा, विजयकुमार रौनियार, विनोद श्रेष्ठ, विश्वम्भर चञ्चल, विश्वराज सुवेदी, शरच्चन्द्र वस्ती, सूर्यनाथ मरहट्ठा, सुरेश हाचेकाली, हरि शर्मा, हरिहर खनाल, होमर श्रेष्ठ, होमलाल पाण्डे आदि झट्ट अहिले मेरो स्मृतिमा आएका केही नाम हुन् । यस बाहेक अनुवादकर्ममा नै लागेका अरू कैयन् लेखकहरूको नाम यहाँ उल्लेख हुन बाँकी छ । लेखक–कलाकारहरूको पहिचान झल्काउने लेखक कलाकार कोश भनेजस्तै अनुवादकहरूको परिचय झल्काउने अनुवादक कोशको समेत निर्माण भैसकेको अहिलेको अवस्थामा समाजले अनुवादकलाई हेर्ने दृष्टि र गर्ने ब्यवहार र दिने सम्मानमा क्रमशः परिवर्तन आइरहेको मैले महसुस गरेको छु ।
नेपालमा आकर्षक पुरस्कार भनेका मदनपुरस्कार र पद्मश्री पुरस्कार हुन् । यिनले अनुवादकलाई स्थान दिएका छैनन् । अन्तर्राष्ट्रिय स्तरमा हेर्दा बुकर प्राइज र म्यान बुकर इन्टरनेसनल प्राइजले अनुवादकलाई प्रेरणा र प्रोत्साहन दिइरहेको देखिन्छ । नेपालमा अनुवाद साहित्यको विकास र प्रोत्साहनका लागि के गर्न आवश्यक छ ?
यस विषयमा अहिले कुरा नगर्दा बेस ठान्छु म । काम गर्ने भनेको आफ्नो मानवीय कर्तव्य निर्वाह गर्ने कुरा पनि हो । मूल्याङ्कन त समयले एक दिन गरिहाल्छ । तसर्थ, ती कुरालाई मनमस्तिष्कमा नराखीकन सिर्जनकर्ममा लाग्नु राम्रो हो ।
मैले बुझेसमम्म म्यान बुकर इन्टरनेसनल प्राइज दिँदा अनुवादकलाई पुरस्कार राशिको ५० प्रतिशत दिइने परम्परा छ भन्ने बुझिन्छ । यो लेखकका लागि अन्याय वा अनुवादकका लागि न्याय के हो ?
कुनै कृतिको अनुवादका लागि अनुवादकले ४० प्रतिषत र लेखकले ६० पुरस्कार पाउँदा लेखक र अनुवादक दुवै सम्मानित भएको महसुस गर्ने येथेष्ठ ठाउँ रहन्छ ।
मेरो सीमित अध्ययनले थाहा पाएसम्म ‘हान काङको ‘भेजिटेरियन’ कृतिले म्यान बुकर इन्टरनेसनल प्राइज पायो । त्यस अवसरमा ब्रिटिस अनुवादकले पुरस्कारको राशिको ५० प्रतिशत पाए भन्ने समाचार पढेको थिएँ । मैले त्यसको नेपाली लेखकको बुझाइलाई बुझ्न मात्र खोजेको हुँ । यहाँको धारणा बुझ्न मात्र चाहेको हुँ ।
त्यसले लेखक र अनुवादक दुवैको प्रतिष्ठा बढाउँछ भनने मलाई लाग्छ ।
वस्तवमै अनुवाद भइसकेपछि कुनै भाषाको कुनै लेखकको लेखनप्रति विश्वसाहित्य बजारको थोरै भए पनि ध्यानाकर्षण हुन्छ । त्यसले भाषा र सम्बन्धित भाषा बोल्ने मुलुकको परिचय पनि गराउँछ भन्ने मलाई लाग्छ तर राज्यतहबाट हाम्रामा किन त्यस्तो पहल नभएको होला ?
हामी भर्खर्र भर्खर गणतन्त्रमा प्रवेश गरेका छौँ । धेरै लामो समयसम्म राणा शासन, त्यसपछि राजाको शासन अन्तर्गतको प्रजातन्त्र अनि पञ्चायती एकदलीय शासन र पुनः बहुदलीय सासन पद्धति र पुन राजाको प्रत्यक्ष शासन भएर लामो समय गुजार्यौँ हामीले । देशमा राजनीतिक स्थायित्व थिएन । बल्ल स्थायित्वतिर लागेका छौँ । भनाइमा गणतन्त्र भए पनि संस्कारगत रूपमा हामीमाथि उठ्न सकेका छैनौँ । नातावाद, कृपावाद, अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, दण्डहीनता, कुसंंस्कार आदिको जालोले हाम्रो समग्र व्यवस्था र समाजलाई ढाकेको छ । यस्तो दुरावस्थाबाट राज्य आफैँ मुक्त नभएसम्म राम्रा कुरातिर उसको दृष्टि पुग्नुपर्ने हो भन्ने अपेक्षा गर्नु निरर्थक देख्छु म ।
अनुवादले लेखकलाई अझ जिम्मेवारपूर्ण लेखनप्रति उन्मुख गराउँछ भन्यो भने सही हुन्छ ?
एकदम सही कुरा हो यो । अनुवाद सहज काम हुँदैहोइन । असहज काममा हात हालेर कसैले पनि अर्को भाषा, संस्कृतिप्रति खेलबाड गर्नु हँदैन । जसको सहज पहुँच छ, उसले मात्र त्यसमा हात हाल्नुपर्छ ।
वास्तवमा लेखकहरूलाई पनि नयाँ विषय, नयाँ शैली र नयाँ परिवेशका कुरा लेख्न उत्प्रेरणा दिने पक्ष अनुवाद र कृतिको समीक्षा नै होइन र ?
केही हदमा त्यो हुनसक्छ, स्रोत भाषामा पहुँच नभएका अध्येताहरूका लागि, तर स्रोत भाषामा पहुँच हुने अध्येताहरू चाहिँ स्रोतमा नै जान चाहन्छन् । त्यसमा जुन तहको पूर्णता पाठकले प्राप्त गर्नसक्छ त्यो अनुवादमा पाउन मुस्किल हुन्छ, किनभने हामी अनुवादमा पनि प्रारम्भिक चरणमा नै छौँ ।
सरसरती हेर्दा भारतमा समेत हाम्रो साहित्यिक कृति बिक्री हुँदैन । यस अर्थमा हाम्रो साहित्यको अन्तराष्ट्रिय बजार कमजोर छ भन्ने बुझिन्छ ।
यसमा तपाईले उठाएको आसङ्का मलाई पनि ठिकै लाग्छ । करिव दुई वर्षअगाडि भारतीय कवि तथा लेखक कात्यायनी र सत्यमसित मेरो भेट भएको थियो । त्यतिबेला मैले उनीहरूसित भारतमा नेपाली साहित्य कत्तिको पढिन्छ ? भनेर सोधेको थिएँ । उनीहरूले मलाई भारतमा नेपाली साहित्यका खासै पाठक छैनन् भन्ने उत्तर दिएका थिए ।
यसलाई सरोकारवाला निकायहरू प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन वा र सरकार र दूतावास, वाणिज्य दूतावास मिलेर नेपाली किताबको बजार नेपाली बस्ती भएका मुलुकसम्म विकास गर्ने हो भने हाम्रो भषासाहित्य पनि विश्वमा पढिन्थ्यो कि ? यहाँलाई कस्तो लाग्छ ?
नेपाली साहित्य र समग्रमा हाम्रो वाङ्मयको उत्थानमा हामीले नै पहलकदमी लिनुपर्छ । अरूले गरिदेलान् भनेर बस्नु हुन्न । खासमा यस विषयमा विविध प्रज्ञा प्रतिष्ठानहरूको मूख्य भूमिका हुन्छ, किनभने संस्थागत रूपमा देश–देशबिचमा संबन्ध स्थापित गर्न यस्ता संस्थाहरूलाई सहज हुन्छ । तर संस्था हाक्ने मानिसहरूमा त्यस्तो भिजन हुनुपर्यो ।
सर, अनुवाद मात्रै भएर कृति चर्चित भइहाल्ने वा विश्व बजारमा पुगिहाल्ने त होइन होला ? अनुवादको गुणस्तर पनि चाहिएला ? त्यसलाई कसले प्रकाशित गरेको छ भन्ने कुरा पनि हेरिएला ? कसको सम्पादनमा आयो भन्ने पनि होला ? यहाँको अनुभव के छ ?
समष्टिमा सबै कुरा मिलेपछि मात्र सम्भव हुने कुरो हो यो ।
नेपाली लेखक र अनुवादकको शिल्प र क्षमताको विकास गर्न के गर्नुपर्ला ?
समय समयमा तत्तत् विषयमा सेमिनार गोष्ठिहरू हुनुपर्यो, सुला रूपमा विमर्श हुनुपर्यो र सम्पादन हुनुपर्यो । अनुवादलाई परिष्कृत गर्ने मलाई लागेका कुरा यिनै हुन् ।
नेपाली साहित्यको छिटफुट अनुवाद भए पनि तिनले नेपालबाहिर नेपाली साहित्यको पहिचान स्थापित गर्न खासै योगदान दिन नसकेको गुनासो पनि सुनिन्छ नि ? यहाँले कसरी हेर्नुभएको छ ?
त्यो त ठिकै हो । यस विषयमा अलिकति चर्चा गरिसकयौँ हामीले । मलाई लाग्छ मुख्य कुरा त हाम्रा प्रज्ञा प्रतिष्ठानहरूले विभिन्न देशमा रहेका दूतावास र सरकारी नियोगहरूका माध्यमले यसको प्रवर्धनमा सहयोग पुग्न सक्छ । दोस्रो, विभिन्न देशमा रहेका अन्तर्राष्ट्रिय साहित्य संगठनहरूका माध्यमबाट समेत यसको प्रवर्धन गर्न सकिन्छ । विदेशमा बस्ने हाम्रा इष्टमित्र र साथीभाइसित हामीले उपहार दिनु÷लिनु छ भने हाम्रा कृतिहरू दिउँ÷लिउँ, यस्ता कुराहरूलाई प्राथमिकता दिउँ । यसले पनि केही मात्रामा सहयोग मिल्न सक्छ ।
मैले थाहा पाएसम्म महेश पौडेल, दिनेश काफ्ले र विमल अधिकारी, सुरेश हाचेकाली जस्ता युवा पुस्ताको अनुवाद कला निकै बलियो जस्तो लाग्छ । यहाँले नयाँ पुस्ताको अनुवाद कलालाई कसरी हेरिरहनुभएको छ ?
हामीले सामान्य हिसाबमा सोचेभनदा रामो छ नयाँ पुस्ताको प्रयास । हाम्रो भविश्य आशा लाग्दो र उज्ज्वल छ ।
विश्व बजारमा नेपाली साहित्य जानुअघि नेपाली लेखनको स्तर बलियो हुनुपर्ने हो नि होइन ? के नेपाली प्रकाशकहरूले गुणस्तरीय साहित्य प्रकाशन गरिरहेका छन् ?
केही प्रकाशकहरूले निकै राम्रो गुणस्तरीय काम गरेका छन्, तर केही प्रकाशकहरू भने त्यो उचाइमा पुग्न सकेका छैनन् । त्यसो हुनको लागि त कर्ताको सोचाइमा परिवर्तन आउनु जरुरी पर्छ ।
नेपाली भषा वाङ्मयको अग्रणी संस्था नेपाल प्रज्ञाप्रतिष्ठान । यस संस्थाको अनुवाद विभाग पनि छ । त्यहाँका कतिपय परियोजनासँग यहाँ पनि संलग्न हुनुहुन्छ । त्यहाँबाट भइरहेका कामलाई कसरी हेर्नुभएको छ ?
अघिल्ला अवधिहरूमा त्यहाँबाट मैले केही काम गरेको भए पनि पछिल्लो संरचना निर्माण भएपछि मलाई कसैले बोलाएको छैन, नबोलाइकन जाने कुरा भएन । तसर्थ, हालको गतिविधिसित म परिचित छैन । पहिलेका केही काम राम्रै भएका थिए भन्ने लाग्छ मलाई ।
मलाई लाग्छ कृतिहरू असल अनुवादकले असल अनुवाद गरेर स्तरीय र आधिकारिक प्रकाशकले प्रकाशन गरेर सम्बनिधत बजारमा पुर्याउनुपर्छ । के यो भइरहेको छ त ?
तपाईको पहिलो मान्यतासित म सहमत छु । पछिललो कुराको सम्बन्धमा, केही प्रकाशकहरूले बजारलाई मात्र हेरेर हल्ला फिँजाएको भरमा दाम बटुल्ने प्रयत्न पनि गरेको देखिन्छ । तर त्यो पद्धति ठिक होइन । गुणस्तरीय प्रकाशनतिर लाग्नु नै राम्रो उपाय हो ।
हाम्रामा धेरै रहरको लेखन र अनुवाद देखिन्छ । कतिपय त पैसाका लागि अनुवाद भइरहेको देखिन्छ । गुगल अनुवादलाई नै अनुवाद मानिएको देखिन्छ । यसको दीर्घकालीन प्रभाव के होला ?
मसिन अनुवादका विषयमा म यस अघिनै बोलिसकेको छु । अनुवादकार्य जिममेवारीपूर्ण हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
हाम्रामा अन्य भाषाबाट नेपाली भाषामा अनुवाद निकै नै भएको पाइन्छ । आवश्यकता अरू भाषाका सामग्री पढ्न पाउने बढी हो कि हाम्रा सामग्री बाहिर जानुपर्ने बढी हो ?
दुइटै कुरा हो भन्ने ठान्छु म । अरूले पढ्नका लागि अरूको ध्यान तान्न सक्ने खाललका कृति हामीसित हुनुपर्यो । केही राम्रा कृति होलान्, तर तिनको सुव्यवस्थित रूपमा अनुवाद हुन सकेको छैन । व्यक्तिगत रूपमा कसैले सामान्य चाख लिएर गरिएको अनुवादले मात्र पर्याप्त हुँदैन ।
फेरि हामीले यहाँ अरू देशको भाषामा अनुवाद गर्ने विषयमा धेरै चर्चा गर्यौँ, हाम्रो देशभित्रैका अन्तर्भाषाका साहित्यलाई एक अर्काका भाषामा समेत अनुवाद हुनु नितान्त आवश्यक छ भन्ने लाग्छ मलाई । नेपाल उउटा सानो भूगोल भएको देश हो । यति सानो मुलुकमा पनि लगभग १२३ भाषाभाषी बोलिन्छन् । यीमध्ये कतिको कथ्यरूप र लेख्यरूप दुवै छ, कतिको भने कथ्यरूप मात्र छ । प्रयोगका हिसाबले पनि यीमध्ये करिव चालिसको हाराहारीमा सक्रिय भाषा छन् जुन स्थानीय तहका रेडियो एफ्.एम्.मा नियमित रूपमा प्रसारण भैरहेका छन् । गोरखापत्र मातृृभाषाका लागि केही पृष्ठ छुट्ट्याइएको छ जहाँ ३५ भन्दा बढी भाषाले स्थान पाएका छन् । तर त्यो पर्याप्त छैन । त्यहाँ आएका सामग्रीलाई सँगसँगै सम्पर्क भाषा नेपालीमा पनि दिनुपर्ने आवश्यकता छ ।
अनुवादले साहित्यको बजारलाई हस्तक्षेप गर्न सकेन भन्ने प्रकाशक वा व्यवसायी र जानकारको पनि आरोप छ ? यहाँ के भन्नुहुन्छ ?
व्यवस्थित अनुवादको अभावमा यस्ता गुनासाहरू आउनु स्वभाविकै हो । तसर्थ व्यवस्थित अनुवादको आँचो छ । त्यो पूरा गर्नका लागि मैले माथि औँल्याएजस्तो अनुवाद प्रज्ञा प्रतिष्ठानको खाँचो छ ।
डायमन्डशमशेर राणाको ‘सेतो बाघ’को चर्चा विदेशीले पनि गरेको पाइन्छ । त्यो शमशेरको पहुँचले हो कि कृतिको महत्वले हो ?
ती दुवै कुरा भन्दा पनि त्यसको अनुवादकको भाषिक क्षमताका कारणले भएको हुनसक्छ । ग्रेटा राणाले उनको मातृभाषामा अनुवाद गर्दा शब्दचयनदेखि उनको भााषिक फ्लोमा जुन सहजता त त्यही स्तरमा पछि प्राप्त गरेको दोस्रो भाषामा अरू नेपालीहरूलाई नहुन सक्छ ।
अरू भाषाबाट नेपालीमा अनुवाद भएर आएका कृतिको यहाँले गुणस्तर मापन गर्नुभएको छ ?
त्यसरी त हेरेको छैन ।
संसारभरि अंग्रेजी भाषाको प्रभाव भएकाले अंग्रेजीमा अनुवाद गर्नु सबैभन्दा उत्तम हुन्छ भन्ने आम बुझाइछ । चिनियाँहरूले त उनका सामग्री गुगलले नै विश्वमा पुर्याउने बनाइसके नि प्रविधि र भाषाको कस्तो सम्बन्ध हुन्छ ?
यस विषयमा पनि मैले अगिल्ला प्रश्नमा नै बोलिसकेको छु । मसिनमा संवेदना हुँदैन । त्यसले गर्ने अनुवाद पनि कृत्रिम हुन्छ ।
अनुदित कृतिले र त्यसमा पनि विश्वभाषा वा अन्तराष्ट्रिय भाषामा अनुदित कृतिले देशका र समाजका सीमा तोडेर फरक संस्कृति, भूगोल, समुदाय र रहनसहनका पाठकलाई पनि जोड्छ । यो सत्य हो तर आफू अनुकूल नहुने संस्कृति र समाज पढ्न मानिसलाई कतिको रुचि हुन्छ ?
नयाँ कुरो जान्ने चाहना मानिसमा अधिक मात्रामा हुन्छ ।
अनुवादले नेपाली समाज, संस्कृति, धर्म, लोकविश्वास, इतिहास, लोकमिथक र राजनीतिक विषय संसारभरका पाठकले पढ्ने अवसर सिर्जना गर्छ । यो देशकै लगि गौरवको कुरा हो । यस्तो काम व्यक्ति वा निजी संस्थाले मात्र गर्न सक्छन् ?
स्वेच्छाले केही मानिसले गरे पनि सबैका लागि सहज कुरा होइन । केही वर्ष अघि ऋग्वेदलाई एकैजना व्यक्तिले आफ्नै पहल र खर्चमा अन्य भाषामा अनुवाद गराएको कुरा संझन्छु । तर त्यस्तो कुरा गर्नका लागि आम लेखकका लागि सम्भव हुँदैन ।
नेपाली लेखकको आख्यान लेखन राम्रो भए पनि गैरआख्यानमा त्यस्ता उल्लेख्य कृति नभएको आरोप छ नि ? यहाँले कसरी हेर्नुभएको छ ?
मलाई त त्यस्तो लाग्दैन । आख्यान बाहेक नेपाली लेखकका सुन्दर निबन्धहरू र कविताकृति अनि नाटकहरू पनि अन्य भाषामा जान थालेका देखिन्छन् ।
नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउन सरकारले नै अन्तर्राष्ट्रिय प्रकाशन गृह र सरोकारवालासँग समन्वय गरेर अन्य भाषामा अनुवाद हुने व्यवस्था मिलाउन सके राम्रो हुन्थे भन्ने देखिन्छ । यसका लागि यहाँको सुझाव के छ ?
यस विषयमा पनि मेरा धारणाहरू अघि नै राखिसकेको छु मैले । त्यस कार्यलाई राज्यस्तरबाट हेर्नुपर्छ ।
अनुवादक तयार गर्न संस्थागत रूपमै काम गर्नुपर्ने चेतना राणा कालमै नेपाली भषानुवाद परिषद्ले ल्याएको थियो । प्रजातान्त्रिक गणतानित्रक शासकहरूको ध्यान किन त्यतातिर निरन्तरित हुन सकेको छैन ? के हाम्रो राजनीति बौद्धिकतामा क्षय हुँदै गएको हो ?
अब हामीले यस विषयमा यति बहस चलाएपछि बिस्तारै यस कामले पनि आकार लिँदै जाने कुरामा म आशावादी छु ।
यहाँ अंग्रेजीको विद्वान् हुँदा मैले अंग्रेजी–नेपाली भषाबिचको अनुवादको मात्रै कुरा गरे जस्तो भयो । नेपाली कृतिलाई हिन्दी, बंगाली, मैथिली, भोजपुरी आदि भाषामा पनि अनुवाद गर्न सकिन्छ । यसरी एसियाली भाषामा अनुवाद गरेर केही भारतीय प्रकाशन गृहहरूले ती समुदायको मन जित्न सफल भएको पनि देखिन्छ । हामीसँग संस्कृत भषाको संवृद्धशाली परम्परा पनि छ । अनुवादमा यी क्षेत्रको भूमिका कस्तो रहला ?
मैले केही बेरअगाडि मात्र यस विषयमा अलिकति सङ्केत गरिसकेको छु । यहाँले औल्याएका भाषाहरूका साथै अरू पनि हाम्रा क्षेत्रीय भाषा र स्थानीय भाषिकाहरूका कथ्य र लेख्य साहित्यको पनि अनुवादको उचित व्यवस्था हुनुपर्ने पक्षमा छु म ।
अहिले अङ्ग्रेजीको प्रभाव बढी छ । अंग्रेजीमा दख्खल राख्ने, राम्रो भाषा सम्पादन गर्ने क्षमता भएका अनुवादकको सङ्ख्या चाहिँ कस्तो देख्नुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयले अहिले यस्तो जनशक्ति आवश्यक मात्रामा तयार गर्दै लगिरहेको देख्छु म । अहिलेका लागि यो स्वागतयोग्य र भविश्यका लागिसमेत निकै आशालाग्दो कुरा हो भन्ने मलाई लागेको छ ।
हरि सर अंग्रेजी भाषामा दख्खल हुँदैमा मात्र अनुवादित साहित्य राम्रो भइहाल्छ भन्नु उपयुक्त हो र ? डिग्री त कक्षा चढ्ने लाइसन मात्र होइन र ?
यसमा य यहाँसित सहमत छु ।
लेखकको आफ्नै शैली र भाव विचार हुन्छ । त्यो शैली, भाव र विचारलाई तल–माथि नपारी कलाको पनि उचाइ दिँदै अनुवाद गर्नु त कठिन काम हो भन्ने मेरो बुझाइ छ । यहाँको अनुभव थाहा पाऊँ न ।
यसमा मेरो कुनै फरक मत छैन । म पनि त्यही विचारको मान्छे हुँ । मैले यी कुरालाई आफ्नो अनुवादकार्यमा पालना गरेको छु मन्ने मलाई लाग्छ । त्यसमा पनि मैले The Outsoder को अनुवादमा निकै राम्ररी काम गर्न सकेकोजस्तो लाग्छ । हतार नगरीकन आफ्नो सम्पादन सम्भव भए अर्को आफूभन्दा राम्रो जान्ने विषेशज्ञलाई देखाउने, त्यो हुन नसके आफैँले पूर्ण परिष्कार नआएसम्म दोहोर्याइरहने गर्नुपर्छ भन्ने म ठान्दछु ।
नराम्रो अनुवाद ले त साहित्यलाई मार्छ नि होइन ? कि म गलत छु ?
पूरै सही हो । म यसमा अर्को मत राख्नुपर्ने आवश्यकता देख्तिन ।
नेपाली बौद्धिक जगत् वा राज्यका निकायले विदेशी सांस्कृतिक केन्द्रसँग सहकार्य गरी राम्रा कृतिको अनुवादलार्ई प्रवद्र्धन र प्रोत्साहन गर्ने सम्भावना कत्तिको प्रवल देख्नुहुन्छ ?
अब हामीले त्यो बाटो अवलम्बन गर्ने होइन । केही वर्ष अगाडि भारतीय राजदूतावासको सहयोगमा केही नेपाली कविहृका कविता सङ्कलन र अनुवाद गरी त्यसरी नै छपाएर विक्री–वितरण भएको थियो । अब हामीले त्यसो गर्न हुन्न । मैले पहिले नै बताएजस्तो आफ्नै संरचना तयार गरी समग्रमा औचित्य स्थापित गर्ने हो । यस्तो बेला आइसकेको छ ।
बी.पी. कोइरालाका ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘आफ्नो कथा’ हिटलर र यहुदी जस्ता कृति हिन्दी र अङ्ग्रेजी भाषामा अनूदित भएको पाइन्छ । ‘जेल जर्नल’ पनि अनुवाद भए जस्तो लाग्छ । ती कुनै कृतिमा यहाँको दृष्टि परेको छ ?
हिट्लर र यहुदी हेर्न पाएको छु ।
विश्व सन्दर्भमा हेर्दा रसियनहरू संस्कृति प्रेमी देखिन्छन् । नेपाली भषामा मात्र हेर्दा पनि रसियन साहित्यकारहरू आन्तोन चेखोभ, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ५० अधिक कृतिको नेपाली भाषामा अनुवाद भएको पाइन्छ । नेपालमा रुसी सांस्कृतिक केन्द्र पनि छ । हाम्रो जस्तो मुलुकले यसरी सांस्कृतिक केन्द्रहरू विस्तार गर्न र आफ्नो भाषा साहित्य एवम् संस्कृति विस्तार गर्न सक्ने सम्भावना कतिको देख्नुहुन्छ ?
अबको धारणा यसभन्दा फरक हुनुपर्छ । त्यसले सम्भावनाका नयाँ क्षितिजहरू आफैँ उघार्दै जान्छ ।
नेपाली साहित्यका कृतिहरू अन्तर्राष्ट्रिय भाषामा कम अनूदित हुनुले नै नेपाली साहित्य विश्व बजारमा पुग्न नसकेको हो कि राज्यको निराशाले ?
यसमा अरू पनि कारण हुन सकछन् । तसर्थ, यसलाई यत्तिमै सीमित नगरौँ ।
कविताको अनुवाद हुन सक्तैन पनि भनिन्छ, भई पनि राखेका छन् । सीताराम अधिकारी जस्ता केही अनुवादकले शास्त्रीय लयका कविता शास्त्रीय लयमै अनुवाद पनि गरिरहनुभएको छ । अभि सुवेदीले ‘आधुनिक जापानी कविता’, ‘पोइम्स अफ द सेन्चुरी’, ‘भोइस फ्रम नेपाल’ ‘बियोन्ड बोर्डर्स : एन एन्थोलजी अफ सार्क पोयट्री’ लगायत आधा दर्जनभन्दा बढी कविताका कृतिहरू अनुवाद गर्नुभएको छ । पद्म देवकोटाले पनि कविताका क्षेत्रमा थुप्रै काम गर्नुभएको छ यहाँले कविताको अनुवादलाई कसरी हेरिरहनुभएको छ ?
केही सक्षम अनुवादकहरू छन्, त्यो राम्रो कुरा हो । त्यसमा थप सुन्दरता जोड्नका लागि हाम्रा सुझावहरू कार्यान्वयन हुनुपर्छ ।
‘विश्वका राम्रा रचनाहरू’ अरू भाषाकाले पनि जानुन् भनेर अत्यन्त सङ्कटको अवस्थामा समेत अनुवाद भएको पाइन्छ । अहिले त प्रविधि पनि सहायक बनिरहेको छ । यहाँले अनुवादको भविष्य कस्तो देखिरहनुभएको छ ?
फराकिलो र उज्यालो देखिरहेको छु ।
‘देवदास’, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ र ‘रवीन्द्रनाथ टैगोरका कथाहरू’ आदि वर्तमान समयमा मैले पढेका प्रज्ञाले अनुवाद गराएका कृति हुन् । यसरी आधिकारिक संस्थाबाट आएका अनुवाद र अन्य अनुवादमा यहाँले के कस्तो अन्तर पाउनुभएको छ ?
दुुवैथरि अनुवादमा गुण-दोष बराबरजस्तै देख्छु म ।
संस्कृत भषालाई एशिया र युरोपमा बोलिने धेरै भाषाको मूल मानिन्छ । संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थहरूमा पूर्वीय सभ्यता र ज्ञानको भण्डार मानिन्छ । संसारका ठूला विश्वविद्यालयहरूले यसबारे अध्ययन तथा अनुसन्धान गरिरहेका छन् । हाम्रो चासोचाहिँ किन त्यतातिर कमजोर हुँदै गएको होला ?
मैले पहिल्यै नै भनिसकेँ नि, तर विस्तारै हामी पनि भविश्यमा त्यताको बाटो हिड्छौँ ।
यहाँले समय दिएर यति महत्वपूर्ण विचार राखिदिनुभएकामा हार्दिक धन्यवाद ।
मलाई विश्वाससाथ अनुवादका विषयमा यति महत्वपूर्ण विचार राख्ने मवसर दिएकामा तपाईँलाई पनि धन्यवाद । तपाईँको सञ्चारमाध्यम साहित्यसागरलाई पनि धन्यवाद ।