Thursday, July 30, 2026
Homeअन्तराष्ट्रियहार्वर्डमा ४.५ अर्ब डलर विदेशी अनुदान, चीनबाट ठूलो लगानीपछि अमेरिकामा राष्ट्रिय सुरक्षा...

हार्वर्डमा ४.५ अर्ब डलर विदेशी अनुदान, चीनबाट ठूलो लगानीपछि अमेरिकामा राष्ट्रिय सुरक्षा बहस तीव्र

काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरूमा भित्रिने विदेशी लगानी र अनुदानमाथि प्रश्न उठिरहेका बेला हार्वर्ड विश्वविद्यालय सम्बन्धी एउटा महत्वपूर्ण तथ्य सार्वजनिक भएको छ। अमेरिकी शिक्षा विभागको आधिकारिक तथ्याङ्कअनुसार हार्वर्डले विदेशी स्रोतहरूबाट ४.५ अर्ब अमेरिकी डलर बराबरको अनुदान र आर्थिक सहयोग प्राप्त गरेको छ, जुन अमेरिकाको कुनै पनि विश्वविद्यालयले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो विदेशी वित्तीय सहयोग मानिएको छ।

सार्वजनिक विवरणअनुसार उक्त रकममध्ये करिब ६० करोड डलर चीनबाट आएको छ। यो तथ्य सार्वजनिक भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूबीचको विवाद थप चर्किने संकेत देखिएको छ।

ट्रम्प प्रशासनले पछिल्लो समय विदेशी विद्यार्थीको भिसा नीतिमा कडाइ गर्नुका साथै विश्वविद्यालयहरूमा भित्रिने विदेशी लगानीमाथि निगरानी बढाउने नीति अघि सारेको छ। प्रशासनको तर्क छ कि विदेशी विद्यार्थी र विदेशी वित्तीय स्रोतमा अत्यधिक निर्भरता बढ्दै जाँदा अमेरिकाको राष्ट्रिय सुरक्षा, संवेदनशील अनुसन्धान तथा अत्याधुनिक प्रविधि जोखिममा पर्न सक्छ।

यही कारण देखाउँदै धेरै विश्वविद्यालयहरूको विदेशी वित्तीय स्रोत र अन्तर्राष्ट्रिय साझेदारीमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने मागसमेत उठिरहेको छ।

अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार केही विदेशी अनुदानहरू आर्थिक सहयोगमा मात्र सीमित नरही संवेदनशील अनुसन्धान र प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यसँग पनि जोडिएको हुन सक्ने आशंका गरिएको छ। विशेषगरी चीनको सैन्य क्षेत्रसँग सम्बन्धित संस्थाहरूले अमेरिकी विश्वविद्यालयहरूमा आर्थिक सहयोगमार्फत अनुसन्धान र प्रविधिको अप्रत्यक्ष लाभ लिन खोजेको दाबी अमेरिकी सुरक्षा वृत्तमा हुँदै आएको छ।

अमेरिकी शिक्षा विभागको तथ्याङ्कअनुसार हार्वर्ड विश्वविद्यालयले विदेशी संस्था तथा निकायहरूसँग ७,०८९ वटा वित्तीय सम्झौता गरेको विवरण सरकारलाई बुझाएको छ। यही आधारमा हार्वर्ड अमेरिकामा सबैभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने विश्वविद्यालय बनेको बताइएको छ।

तथ्याङ्कले हार्वर्डले चीनको सैन्य विकाससँग सम्बन्धित संस्थाहरूबाट करिब ४ करोड रुपैयाँ बराबरको सहयोग प्राप्त गरेको तथा चीनको वैदेशिक प्रतिभा कार्यक्रम (Foreign Talent Program) बाट पनि करिब ४ करोड रुपैयाँ बराबरको रकम प्राप्त गरेको देखाएको छ।

हार्वर्ड विश्वविद्यालय लामो समयदेखि राष्ट्रपति ट्रम्पको आलोचनाको केन्द्रमा रहँदै आएको छ। गत वर्ष ट्रम्पले हार्वर्डप्रति कडा टिप्पणी गर्दै भनेका थिए, “हार्वर्ड अब एउटा ठट्टा बनेको छ। यसले घृणा र मूर्खता सिकाउँछ। यसलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको सूचीमा राखिनु हुँदैन, र यसले सरकारी अनुदान पनि पाउनु हुँदैन।”

ट्रम्पको उक्त अभिव्यक्ति हार्वर्डलाई प्रदान हुँदै आएको करिब १८ हजार करोड रुपैयाँ बराबरको संघीय सरकारी अनुदान रोकिएको भोलिपल्ट सार्वजनिक भएको थियो। त्यस अवसरमा उनले विश्वविद्यालयले उपभोग गर्दै आएको कर-मुक्त (Tax-exempt) सुविधा समेत खारेज गर्न सकिने चेतावनी दिएका थिए।

विदेशी लगानी, राष्ट्रिय सुरक्षा र शैक्षिक स्वतन्त्रताबीचको सन्तुलनबारे बहस चर्किरहेका बेला हार्वर्डसँग सम्बन्धित यो खुलासाले अमेरिकामा विश्वविद्यालयहरूको वित्तीय पारदर्शिता र विदेशी प्रभावबारे नयाँ बहस सुरु गराएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका