एजेन्सी । दक्षिणी चीनको हाइनान प्रान्तमा लागू गरिएको टापुव्यापी स्वतन्त्र भन्सार व्यवस्थाले अन्तर्राष्ट्रिय उडान र विदेशी पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि गरेको छ। गत वर्षदेखि सुरु गरिएको यस व्यवस्थाले पर्यटन र अन्तर्राष्ट्रिय आवागमनलाई थप गति दिएको बताइएको छ।
चीन पुगेका विदेशी पर्यटक तथा प्रवासीहरूले देशको विकसित र प्रभावकारी यातायात प्रणालीबाट प्रत्यक्ष लाभ लिइरहेका छन्। विशेषगरी उच्च गतिको रेल सेवा र आधुनिक सार्वजनिक यातायात प्रणालीप्रति विदेशी यात्रुहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
उच्च गतिको रेल सेवाबारे प्रतिक्रिया दिँदै एक यात्रुले रेल सेवा आरामदायी, छिटो र सुविधासम्पन्न रहेको बताएका छन्। रेलभित्र उपलब्ध खाद्यान्न र अन्य सेवाले यात्रालाई थप सहज बनाएको उनीहरूको अनुभव छ।
यसैबीच, पूर्वी चीनको शानडोङ प्रान्तमा बसोबास गर्दै आएकी एक फ्रान्सेली प्रवासीले चीनका सबवे प्रणालीलाई सफा, व्यवस्थित र यात्रुमैत्री भएको बताएकी छन्। रेलभित्रदेखि स्टेशनसम्मको व्यवस्थापन, सरसफाइ र यात्रु सुविधामा विशेष ध्यान दिइएको उनको भनाइ छ।
चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार चालु वर्षको पहिलो त्रैमासिकमा मात्रै विदेशी नागरिकहरूले ८३ लाखभन्दा बढी पटक भिसा छुट सुविधाको प्रयोग गरेका छन्, जुन अघिल्लो अवधिको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो।
विशेषज्ञहरूका अनुसार यातायात पूर्वाधार विस्तार, भिसा सहजता र पर्यटनमैत्री नीतिहरूले चीनमा अन्तर्राष्ट्रिय आवागमन र पर्यटन क्षेत्रलाई थप चलायमान बनाइरहेका छन्।


