काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। सभापति गगन थापा नेतृत्वको कार्यसमितिले बोलाएको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका दर्जनौँ नेताहरू पनि सहभागी भएका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णयपछि देउवा पक्षका नेताहरू बैठकमा सहभागी भएका हुन्। यसअघि करिब ४० देखि ५० भन्दा बढी नेता बैठकमा सहभागी हुने बताइएको थियो।
बैठकमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय ‘डिना’, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, श्याम घिमिरे, किशोरसिंह राठोर, सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत नेताहरू सहभागी भएका छन्।
त्यस्तै देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, मदनकृष्ण श्रेष्ठ, राधा घले, जिपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार र गणेश लामालगायत नेता पनि बैठकमा पुगेका छन्। शेखर कोइराला समूहकी नेतृ किरण यादवसहित अन्य नेताहरूको समेत सहभागिता रहेको छ।
देउवा पक्षका नेताहरूलाई बैठकमा सहभागी गराउने वातावरण निर्माण गर्न नेता उदयशमशेर राणा र योगेन्द्र चौधरीलगायत नेताहरू सक्रिय रहेका थिए।
यसअघि थापा नेतृत्वको केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि उनीहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खुलेको हो।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। वडा तहको अधिवेशनलगायत निर्वाचन प्रक्रिया पनि सोहीअनुसार अघि बढाइएको छ।
सानेपामा केन्द्रीय कार्यसमितिका नेताहरू पुग्ने क्रम जारी रहेको बताइएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशन, संगठनात्मक समायोजन तथा विभिन्न तहका अधिवेशनका विषयमा छलफल हुने जनाइएको छ।


