Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियसाउदी अरबले ऊँटलाई पासपोर्ट जारी गर्ने घोषणा

साउदी अरबले ऊँटलाई पासपोर्ट जारी गर्ने घोषणा

काठमाडौं । साउदी अरबले देशका लाखौँ ऊँटलाई पासपोर्ट जारी गर्ने घोषणा गरेको छ। अधिकारीहरूका अनुसार यस कदमले ऊँटको व्यवस्थित पालनपोषण तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साउदी अधिकारीहरूले जनाएअनुसार पासपोर्ट प्रणाली लागू भएपछि ऊँटहरूको पहिचान सुनिश्चित हुने र मालिकसम्बन्धी विश्वसनीय डाटाबेस तयार गर्न मद्दत पुग्नेछ।

पर्यावरण, जल तथा कृषि मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा ऊँटका लागि तयार गरिएको हरियो पासपोर्ट देखाइएको छ, जसमा देशको राजचिह्न र सुनौलो ऊँटको छाप राखिएको छ।

सरकारको सन् २०२४ को अनुमानअनुसार साउदी अरबमा करिब २२ लाख ऊँट रहेका छन्। यी ऊँटहरूले हरेक वर्ष देशको अर्थतन्त्रमा दुई अर्ब रियालभन्दा बढी योगदान पुर्‍याउँदै आएका छन्।

अरब मुलुकहरूमा ऊँटको संख्या विश्वव्यापी रूपमा उल्लेखनीय रहेको छ। विश्वभर करिब ३.५ करोड ऊँट रहेको अनुमान छ, जसमा करिब १.७ करोड अरब राष्ट्रहरूमा पाइन्छन्। ऊँटको संख्यामा सोमालिया पहिलो स्थानमा छ भने त्यसपछि सूडान, मौरिटानिया, साउदी अरब र यमन रहेका छन्।

ऊँट साउदी अरबको राष्ट्रिय पहिचानको महत्वपूर्ण अङ्ग मानिन्छ। देशमा ऊँटको सौन्दर्य प्रतियोगिता तथा विभिन्न प्रदर्शनीहरू आयोजना गरिन्छ, जहाँ उत्कृष्ट ऊँटलाई पुरस्कार प्रदान गरिन्छ। राष्ट्रिय दिवस तथा ऐतिहासिक अवसरहरूमा पनि ऊँट विशेष आकर्षणको रूपमा प्रस्तुत गरिने गरिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका