काठमाडौँ:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ। महाराजगञ्जमा नवस्थापित ‘लोरलिङ मन्डला लर्ड’ होटलको उद्घाटन समारोहमा उहाँले पर्यटनलाई आर्थिक विकासको आधार बनाएर ग्रामीण तहसम्म विस्तार गर्नु आवश्यक रहेको औँल्याउनुभयो।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रका कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै विदेशी पर्यटकको आवागमनलाई थप प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रको लगानीको सुरक्षा सरकारले सुनिश्चित गर्छ। ढुक्क भएर पर्यटन उद्योगमा लगानी गर्नुस्।”
पर्यटन क्षेत्रलाई दिगो विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै उहाँले रोजगारी सृजना, विदेशी मुद्रा आर्जन, आर्थिक गतिविधि विस्तार र समग्र समृद्धिमा पर्यटनले महत्त्वपूर्ण योगदान दिएको स्पष्ट पार्नुभयो।
मन्त्री पाण्डेले होटल र रिसोर्टजस्ता पूर्वाधारहरूको विकासले मात्र पर्यटन क्षेत्रलाई थप बलियो बनाउन सकिने भन्दै ती पूर्वाधारलाई गाउँस्तरसम्म पुर्याउन सरकार प्रयासरत रहेको बताउनुभयो।


