Saturday, September 5, 2026
Homeराजनीतिसंवेदनशील मोडमा पुगेको नेपाली कांग्रेस, १५औँ महाधिवेशनबाट नयाँ दिशातर्फ

संवेदनशील मोडमा पुगेको नेपाली कांग्रेस, १५औँ महाधिवेशनबाट नयाँ दिशातर्फ

काठमाडौँ: अन्ततः नेपाली काँग्रेसले १५औँ महाधिवेशनको मिति टुङ्गो लगाउँदै पार्टीभित्र लामो समयदेखि चलिरहेको आन्तरिक अनिश्चितता अन्त्य गर्ने प्रयास गरेको छ। राष्ट्रव्यापी राजनीतिक संकटबीच काँग्रेसले आन्तरिक मन्थनमा बिताएको समयप्रति आलोचना भए पनि यही निर्णयले देशलाई आवश्यक राजनीतिक निकास दिन सक्छ भन्ने विश्वास व्यक्त गरिएको छ।

नेपाली काँग्रेस ऐतिहासिक रूपमा लोकतन्त्रको पहरेदारका रूपमा चिनिँदै आएको पार्टी हो। तर पछिल्ला वर्षमा पार्टीभित्रको संगठन, नेतृत्वको प्रश्न र युवा पुस्तालाई समेट्ने रणनीति कमजोर रहेको विश्लेषण भइरहेका थिए। आजको चुनौती भनेकै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने, उनीहरूमा राजनीतिक विश्वास जगाउने, र ‘युवा तथा स्मार्ट नेतृत्व’ मार्फत भविष्यको दिशानिर्देशन गर्ने हो।
जेन–जी आन्दोलनले पनि यही सवालहरूलाई तीव्र रूपमा सतहमा ल्याएको देखियो।

जेन–जी विद्रोहपछि देशको राजनीतिक दृश्यमा आएको चरम उथलपुथलले नेपाली काँग्रेसलाई निकै असर पारेको थियो। पार्टी सभापतिमाथि आक्रमण, कार्यालयहरूमा तोडफोड, नेताहरूको घरमा क्षति—यी सबै घटनाले लोकतान्त्रिक राजनीति नै आहत भएको थियो। त्यसपछि लगभग अढाई महिना नेपाली काँग्रेस अन्योल, मौनता र आन्तरिक विवादमै बाँधिएको देखियो।

यही दबाब र परिस्थितिको परिणामस्वरूप पार्टीभित्र नेतृत्व परिवर्तन, नीति परिवर्तन र महाधिवेशन समयमै गर्नुपर्ने बहस तीव्र भयो। अन्ततः सभापति शेरबहादुर देउवाले परिस्थितिलाई सम्हाल्दै मध्यमार्गी निर्णयमार्फत महाधिवेशनको बाटो खोलिदिए, जुन भविष्यका लागि निर्णायक मानिएको छ।

डा. शेखर कोइरालाले लामो समयदेखि महाधिवेशन समयमै गर्नुपर्ने माग उठाउँदै आएका थिए। उनी निरन्तर पदाधिकारी, नेता र कार्यकर्तासँग छलफलमा रहे। यही निरन्तर प्रयासले पार्टीभित्र सहमति निर्माण गराउँदै पुस २६ गते महाधिवेशन हुने वातावरण बनेको हो।

अब महाधिवेशनपछि फागुन २१ को निर्वाचनमा काँग्रेसले नयाँ अनुहार, नयाँ नीति र नयाँ नेतृत्व मतदातामाझ लैजाने अवसर पाउनेछ। आन्तरिक लोकतन्त्रलाई बलियो बनाएर मात्रै बाह्य राजनीतिक प्रतिस्पर्धामा जाने नैतिकता पार्टीले पाउने बताइएको छ।

महाधिवेशनका लागि समय निकै थोरै बाँकी छ। कार्यभार विशाल छ। म्याद थपिएका पदाधिकारीहरूलाई अब कुनै बहानामा प्रक्रिया लम्ब्याउने छुट छैन। जिम्मेवारी पाएका सबै तहका नेतृत्वले हरेक दिन, प्रत्येक क्षण महाधिवेशन तयारीमै केन्द्रित हुन आवश्यक छ।

यद्यपि पर्दाभित्र केही अन्योल र आशंकाहरू देखिए पनि यी सबैलाई जिम्मेवार कार्यशैलीमार्फत हटाउन सकिने विश्वास गरिएको छ। पार्टीमा विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षरहरू, कार्यसमितिको लम्बिएको म्याद र आन्तरिक अविश्वासका संकेतहरूले चुनौती देखाउछन्। तर अहिलेको संवेदनशील घडीमा पार्टीको नियत र दिशामा कुनै ‘कालो दाग’ नपरोस् भन्ने अपेक्षा कार्यकर्ताहरूले गरेका छन्।

नेपाली काँग्रेस अब फेरि एकपटक मजबुत आधार लिएर उठ्ने वा आन्तरिक अन्योलमा कमजोर बन्दै जाने मोडमा उभिएको छ। यही घडीमा १५औँ महाधिवेशन निर्णायक बन्न सक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका