काठमाडौं । फिफा विश्वकपको रोमाञ्चक प्रतिस्पर्धा जारी रहँदा विभिन्न समय क्षेत्रमा रहेका फुटबल समर्थकहरू राति अबेरसम्म जाग्राम बसेर खेल हेर्न बाध्य भइरहेका छन्। तर लगातार राति ढिलोसम्म जागा बस्दा स्वास्थ्य, मानसिक अवस्था र दैनिक कार्यक्षमतामा नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्।
विज्ञहरूका अनुसार राति ढिलो हुने खेल हेर्नुअघि साँझ २० देखि ३० मिनेटसम्म छोटो निद्रा लिनु लाभदायक हुन सक्छ। यसले शरीरको थकान कम गर्न मद्दत गर्छ। तर लामो समय सुत्दा उठेपछि अल्छी लाग्ने र राति पुनः निदाउन कठिन हुन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।
खेल हेर्दा धेरै समर्थकहरूले कफी वा इनर्जी ड्रिंकको सहारा लिने गर्छन्। तर सुत्ने समय नजिक क्याफिनयुक्त पेय पदार्थ सेवन गर्दा खेल सकिएपछि पनि निद्रा लाग्न समस्या हुन सक्छ। त्यसैले खेलको सुरुआती समयमा मात्र क्याफिनयुक्त पेय पदार्थ सेवन गर्न र दोस्रो हाफपछि यस्ता पेयबाट टाढा रहन विज्ञहरूले सुझाव दिएका छन्।
राति खेल हेर्दा भारी तथा बोसोयुक्त खाना खानुभन्दा हल्का र स्वास्थ्यकर खाजा रोज्नु उपयुक्त मानिन्छ। बदाम, फलफूल, दही तथा होल ग्रेनबाट बनेका परिकारले पाचन प्रणालीलाई कम असर गर्ने र निद्राको गुणस्तर पनि राम्रो राख्न सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ।
खेल सकिएपछि तुरुन्तै ओछ्यानमा जानुभन्दा शरीर र मस्तिष्कलाई शान्त बनाउने गतिविधि गर्न पनि सुझाव दिइएको छ। हल्का स्ट्रेचिङ, पुस्तक पढ्ने वा मधुर संगीत सुन्ने जस्ता गतिविधिले खेलको उत्साहबाट बाहिर निस्कन र सहज रूपमा निदाउन मद्दत गर्न सक्छ।
यसका साथै खेलपछि सामाजिक सञ्जालमा प्रतिक्रिया, हाइलाइट्स वा अन्य सामग्री हेर्दै बस्ने बानीले पनि निद्रामा थप असर पार्न सक्छ। त्यसैले खेल सकिएपछि मोबाइल तथा अन्य डिजिटल स्क्रिनको प्रयोग कम गर्न स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्।
विश्वकपको रोमाञ्चकता जति महत्त्वपूर्ण भए पनि स्वस्थ जीवनशैली र पर्याप्त निद्रालाई बेवास्ता नगर्नु आवश्यक रहेको विज्ञहरूको सुझाव छ।


