Thursday, July 2, 2026
Homeराजनीतिलोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र...

लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव

जनकपुर: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा लोकतन्त्र र संघीय गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित समाजवादी महिला संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले लोकतन्त्र विरोधी शक्तिहरू सडकदेखि सदनसम्म सक्रिय रहेको बताउँदै संघीय प्रणाली समाप्त पार्ने प्रयास भइरहेको टिप्पणी गरे ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नभए समानताको कल्पना पनि गर्न सकिँदैन,” अध्यक्ष यादवले भन्नुभयो, “२५० वर्षको निरंकुश शासन व्यवस्थामा महिलाले समानता पाएका थिएनन् । अहिले महिलाहरूले राज्यका विभिन्न निकायमा आफ्नो हक अधिकार सुनिश्चित गर्न सकेका छन्, जुन मधेश आन्दोलनको उपलब्धि हो ।”

अध्यक्ष यादवले वर्तमानमा महिलाको ३३ प्रतिशत सहभागिता रहे पनि राज्यका सबै अंगमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । “समानताको परिकल्पना जनता समाजवादी पार्टी बाहेक अन्य दलहरूमा छैन,” उहाँको भनाइ थियो ।

यादवले मुलुकमा निर्णय प्रक्रिया मन्त्री र प्रधानमन्त्रीको हातमा नभई बिचौलिया, दलाल र कमिसनखोरहरूले नियन्त्रण गरेको आरोपसमेत लगाए । “सबै नियुक्ति र बजेट निर्माणमा दलालहरूको चलखेल छ,” उहाँले भन्नुभयो ।

सरकारले २६ खर्बभन्दा बढी वैदेशिक ऋण लिएको भए पनि त्यो ऋण कहाँ र कसरी खर्च भयो भन्ने जनताले थाहा नपाएको भन्दै अध्यक्ष यादवले वर्तमान सरकारको पारदर्शिता र जवाफदेहितामा प्रश्न उठाउनुभयो ।

“विश्व बैंक लगायतका दातृ निकायले खर्बौं रुपैयाँ अनुदान दिँदा पनि देश विकास हुन नसक्नुमा भ्रष्टाचार मुख्य कारण हो,” यादवले भन्नुभयो ।

अध्यक्ष यादवले देश अहिले गम्भीर राजनीतिक संकट र आर्थिक दुर्वस्थामा फसेको भन्दै संविधान संशोधनको नाममा जनतालाई झुक्याउने काम मात्र भइरहेको आरोप लगाए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका